काठमाडौ, जेठ २५ – मिति उहाँलाई कण्ठस्थै छ । नहोस् पनि किन ? आखिर त्यही दिनले त हो जीवनको बाटो मोडेको ।
२०५७ माघ २३ गते । उहाँकै भर परेर सुतिरहेका र झकाइरहेका ३२ जनाको प्राण पखेरु उड्यो । त्यो कहालीलाग्दो घटना अव त बिर्सौ जस्तो पनि लाग्छ । तर त्यसले लखेटिरहन्छ । चिमोटिरहन्छ ।
ड्राइभरी पेशा । ड्राइभरको जिन्दगीको भर हुन्न भन्ने त तेजबहादुरले पनि सुनेकै कुरा थियो । तर यसरी एकाएक जीवन फेरिन्छ भन्ने चाहीं कुनै कल्पनामा पनि थिएन रे ।
साँझ ढल्किंदै गर्दा काँकडभिट्टाबाट तुफानी बेगमा काठमाडौंका लागि छुटेको थियो ९४८० नम्बरको मकालु यातायातको बस । गाडी धादिङको जोगिमारामा आइपुग्दा बिहानको ३ बज्दै थियो । सवैजसो यात्रु निदाइरहेका थिए । टाइरड भाँच्चिएर एक्कासी गाडी सडकबाट हामफाल्यो बायाँतर्फको त्रिशुली नदीमा । गाडीमा यात्रा गरिरहेका मध्ये ३२ जनाको एकै चिहान भयो । ६ जना घाइते हुँदै बाँच्न सफल भए ।
इन्तु न चिन्तु भएर तीन महिना अस्पतालमा लडेपछि साँखुको सुष्मा कोइराला मेमोरियल ट्रष्टको अस्पतालमा आँखा खुल्दा नचिताएको सत्यले पर्खिरहेको थियो । अर्थात दुर्घटनामा परेको त्यो गाडीका चालक तेजबहादुर कार्कीका दुईटै खुट्टा काटिइसकेका थिए । शरीर मुर्दा झै भएको थियो । ‘एकपटक आँखा झिम्क्याउने बरावरको समय त हो, सवै सत्यानाश भइहाल्यो’ दुर्घटना अघि र पछिको कुरा सम्झिंदै उहाँले भन्नुभयो ।
एकमन त लाग्यो अब जीवन सकियो । उठ्न चल्नै अर्काको भर पर्नुपर्ने । सधैं फुक्काफाल भएर हिंडेको मान्छे ओछ्यानको बास भयो । बाहिरी संसार फेरि देखिएला भन्ने आश पनि विस्तारै मर्दै थियो । तर भनिन्छ नि एउटा यात्रा टुँगिएर के भयो र, अर्को यात्राले पर्खिरहेको हुन्छ । तेजबहादुरको जीवनमा पनि त्यस्तै आशाको त्यान्द्रो बोकेर आयो एउटा अन्तर्वार्ता ।
ओछ्यानमा बसेर रिमोट खेलाउँदै गर्दा एउटा टेलिभिजनमा विश्व साइकल यात्री पुष्कर शाह आफ्नो अनुभव सुनाउँदै गरेको भेटिनुभयो । शाहको कुरा बडो चाखलाग्दा थिए । अनि मनमनै अठोट जन्मियो, पुष्कर शाह विश्व साइकल यात्री हुन सक्छन् भनें म विश्व ह्वीलचेयर यात्री हुन किन सक्दिन र ? यही अठोटले अहिले तेजबहादुरलाई आठवटा देश पु¥याइसकेको छ । सार्क राष्ट्रको भ्रमण सकेका तेजबहादुरको विश्व यात्रा भर्खर सुरु हुँदैछ ।
यात्रा उति सजिलो छैन । तर आँट्नै नसक्ने मुस्किल पनि होइन । बिसं २०६१ सालमा अरु तीनजना अपाङ्ग साथी लिएर सुरु भएको तेजबहादुरको पहिलो यात्रा थियो वंगलादेशको । ०६१ जेठ ४ गते सार्क मुलुकको यात्रामा उहाँसँगै हिंडेका सन्तोष यादव, लता कोइराला र दुर्गा थापाले भनें बंगलादेश पुगेपछि यात्रा टुँग्याए । त्यसपछिको यात्रा एक्लो छ । साथमा सहयोगी भने हुने गर्छन् ।
ह्वीलचेयरमा बसेर यात्रा गरेका आठ बर्षको अनुभव आठसय पन्नामा लेखेर पनि नसकिने भइसके । नेपालको ७५ वटै जिल्लाको यात्रा गर्ने क्रममा मुस्ताङ जाँदा बाटोमा नदी किनारमा भोकै अलपत्र सुत्नु परेको पनि छ । एकजना सहयोगीले बोकेका ५ कोसा केरा पाँचजनाले एक–एकवटा बाँडेर बोक्रैसँग खाइ नदीको पानी पिएरै रात कट्यो ।
चाहे कोहलपुरबाट सुर्खेत जाँदा ह्वीलचेयर नै बगाउने गरी आएको भेल छल्दै होस् वा उदयपुरमा लुटपाटमा परी २० हजार गुमाउँदा नै किन नहोस् मुलुक डुल्ने आत्मबल तेजबहादुरले कहिल्यै त्याग्नु भएन । त्यसरी आत्मबल दिनेहरु स्वदेशमा भन्दा अझ धेरै थिए विदेशमा । उनीहरुले भनेका कुरा सम्झिंदा मात्रै पनि मुख उज्यालो भएर आउँछ उहाँको ।
२०६३ सालमा भारत हुँदै श्रीलंका, माल्दिभ्स र त्यसपछि पाकिस्तान तथा अफगानिस्तानको यात्रा जीवनमा कहिल्यै विर्सन नसक्ने खालको छ । अफगानिस्तानको राजधानी कावुल ताकेर हिंडेका तेजबहादुरको सातो लिएछन् पाकिस्तानसँगको सीमा नजिकै अफगान प्रहरीले नै । शान्तिको सन्देश फैलाउन भन्दै हिंडेका कार्कीलाई आफ्नो देशमा आतंककारीले भेटेमा शरीरका एउटै अंग सद्द्धे राख्ने छैनन् भन्दै प्रहरीले नै तर्साए । त्यहीँ अफगानिस्तानको यात्रा गरेको प्रमाणपत्र बनाइदिएर प्रहरीले पाकिस्तान फर्काइदियो ।
भारतको अनुभव कम रोचक भएन । भारतका आसाम, सिक्किम र दार्जेलिङमा ढाका टोपी, गलवन्दी र माला लगाएर पाइलै पिच्छे स्वागत गर्दै नेपालीभाषीले शिर ठाडो बनाइदिएछन् । अझ कंग्रेस (आई)का नेता राहुल गान्धीले भेटेर ‘आप नेपाली बहादुर हो ये तो मैने सुना था, लेकिन आप तो महाबहादुर हो’ भनिदिएपछि यात्राको थकान सवै सल्र्याक सुर्लुक्कै मेटिएछ । ‘यै गालामा हो राहुलले च्वाप्प म्वाई खाइदिएको’ मुस्कुराउँदै दाहिने गाला मुसार्दै बुटवलको एउटा होटलको बरण्डामा गफिंदै हुनुहुन्थ्यो तेजबहादुर ।
आमा, दुई छोरा, एउटी छोरी र श्रीमती छन् काठमाडौंमा । उनीहरु आफैं जसोतसो गुजारा चलाइरहेका छन् । अभावकाबीच तेजबहादुरलाई परिवारले विश्व भ्रमणका लागि हौस्याइरहेको छ । यात्राका लागि खर्चको ठूलो चिन्ता पनि छैन । विदेश पुग्नु चैं पर्छ, त्यहीका मनकारी र सरकारले समेत मन खोलेर नै आर्थिक सहयोग गर्छन् । त्यसैले विदेशमा भोकै मरिन्न भन्ने विश्वास छ उहाँलाई ।
३२ जना मान्छे मर्ने गरी दुर्घटनामा परिहालियो । हुन त दोष आफ्नो छैन, तर आफैंले स्टेरिङ समातेको त हो भन्ने लागिरहन्छ कार्कीलाई । यसलाई विर्सन पनि तेजबहादुर चहारिरहनुभएको छ देशका कुनाकुना अनि अरु देश पनि यायावर झैं ।
अव जीवनमा एउटै धोको छ । सकेसम्म धेरै देश घुमेर गिनिज बुकमा नाम लेखाउने । ओखलढुंगाको प्राप्चा गाविस ४ मा जन्मेका ५० बर्षे तेजबहादुर कार्की अहिले नवौं देशको यात्राको पर्खाइमा हुनुहुन्छ ।