पूर्वमा झरी, पश्चिममा पसिना तरतरी किन ?

पूर्वमा झरी, पश्चिममा पसिना तरतरी किन ?
काठमाडौं, जेठ २४ - पूर्वका पहाडी र तराई क्षेत्रमा एक हप्तादेखि पानी परिरहेको छ ।
पानी परेपछि गर्मी घटेको छ । झरीले पूर्वका बासिन्दाले शितल अनुभव गरिरहँदा पश्चिममा भने घर बाहिर निस्कनै नसक्नेगरी गर्मी बढेको छ ।
दिउँसो चर्को घाम लाग्ने भएकाले भैरहवा, नेपालगंज, वर्दिया, धनगढी लगायतका ठाउँको जनजीवन कष्टकर बनेको छ । त्यस क्षेत्रका बासिन्दाले आकाशमा बादल नदेखेको एकहप्ता भन्दा बढी भैसकेको छ ।
नवलपरासीदेखि पश्चिमका प्रायः सबै ठाउँमा शनिबार पनि चर्को घाम लागेको छ । बुटवलका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डेका अनुसार अलिअलि बदली भएपनि पानी पर्ने छाँट देखिंदैन । उकुसमुकुस गर्मीले जनजीवन प्रभावित भएको छ । भैरहवाभन्दा पश्चिममा त झनै बढी गर्मी छ ।
बाँकेका उज्यालो सहकर्मी गोविन्द शर्माका अनुसार मध्यपश्चिममा एक हप्तायता गर्मी ह्वात्तै बढेको छ । नेपालगंजमा बिहीबार यो वर्षकै बढी गर्मी रेकर्ड गरिएको छ । नेपालगंजमा बिहीबारको अधिकतम तापक्रम ४३.९ डिग्री सेल्सियस थियो । शुक्रबार ४२ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो । पछिल्लो एकहप्ता यता तापक्रम ४१ डिग्री सेल्सियसभन्दा तल झरेको छैन । बर्दियामा पनि यस्तै गर्मी छ ।
सुदूरपश्चिमका बासिन्दाले पनि बादल देख्न नपाएको हप्ता दिनभन्दा बढी भयो । हप्तादिन पहिले वर्षा भएपनि त्यसयता बादल नदेखिएको धनगढीबाट उज्यालो सहकर्मी शिवराज भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो चर्को घाम लाग्ने कारण धेरैजना घर बाहिर निस्कन सक्दैनन् । काम विशेषले हिँडडूल गर्नुपर्नेहरुलाई सास्ती भएको छ ।
नारायणीभन्दा पश्चिममा गर्मी बढ्दा त्यसभन्दा पूर्वका बासिन्दाले भने केही शितल अनुभव गरेका छन् । चितवनमा शुक्रबार उखरमाउलो गर्मी थियो । शनिबार भने पानी परेकाले राहत महसुस भएको त्यहाँबाट उज्यालो सहकर्मी मोहन बस्यालले जानकारी दिनुभयो । पूर्वका मोरङ, सुनसरी र अरु पहाडी क्षेत्रमा पनि वर्षा भएको छ । काठमाडौं, पोखरा लगायत मध्य र पश्चिमका अरु क्षेत्रमा पनि बादल लागेकाले केही राहत भएको छ ।  
पश्चिममा तरतरी पसिना बगाउने घाम चर्किरहँदा मध्य र पूर्वी क्षेत्रमा किन वर्षा भयो त ? ‘प्रिमनसुन पूर्वमा बढी सकृय हुने भएकाले यस्तो भएको हो’ मौसमविद सुवास रिमालले उज्यालो अनलाइनसित भन्नुभयो, ‘अहिले प्रिमनसुनको सिजन भएकाले पूर्व र मध्य क्षेत्रमा मौसम बदली भएको हो ।’
मौसमी हेरफेरले पूर्वमा भन्दा पश्चिममा बढी गर्मी हुन्छ । केही दिन पहिले पश्चिम तराईमा तातो हावा अर्थात लू चलेपनि पूर्वमा त्यति धेरै गर्मी भएन । जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिनदेखि पूर्वमा बाक्लो बादल लागेको छ भने मध्य क्षेत्रका धेरै ठाउँमा पनि बदली छ । पश्चिमी क्षेत्रमा भने आकाश सफा छ । पश्चिममा अझै एक हप्ता पानी नपर्ने मौसमविदहरुले अनुमान गरेका छन् । पूर्व र मध्य क्षेत्रमा भने केही दिन बदली हुने संभावना छ । पूर्वमा प्रिमनसुन सकृय भएपनि मनसुन सुरु हुने संकेत भने अझै देखिएको छैन ।
Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page