२६ जेठ, काठमाडौं । महाराजगन्जस्थित मिल्सबेरी किड्स वल्र्ड स्कुलबाट पाँच वर्षका सिद्धान्त बजाज धापासीस्थित इन्द्रपुरी कोलनीअगाडि झरे ।
उनकी आमा पिंकी बजाज छोरालाई लिन बाहिर निस्किन । स्कुलको गाडी पर्किएको मात्र के थियो, मोटरसाइकलमा अाएका चार युवकले छोरालाई मोटरसाइकलमा राखेर बेपत्ता भए । पिंकी कराउँदा-कराउँदै उनको छोरा आइत्बार दिउँसै राजधानीबाट अपहरित भएको नयाँ पत्रिकामा खबर छ । बजाज परिवारले रुँदै छोरा अपहरण भएको खबर प्रहरीलाई गरे ।
तर, आधा घन्टामै बजाज परिवारकेा आँसु खुसीको आँसुमा बदलियो । प्रहरीले समयमै खबर पाउँदा अपहरणमा परेका सिद्धान्तको आधा घन्टामै प्रहरीले उद्दार गर्यो । प्रहरीको सक्रियताले सात अपहरणकारी तत्काल पक्राउ परे ।
झापाको धुलाबारी घर भएका सुमन भनिने खेमराज खड्काले स्कुलबाट फर्किएलगत्तै बालक अपहरण गरेका थिए । गोंगबुस्थित डेरामा मोटरसाइकल थन्काई माइक्रोमा राखेर बालकलाई कलंकीतर्फ लैजानेक्रममा उनी हलचोकमा पक्राउ परेका हुन् । अन्य पाँच अपहरणकारीलाई पनि प्रहरीले पेस्तोललगायतका हतियारसहित पक्राउ गरेको छ ।
अपहरणको खबर सुन्ने वित्तिकै कडा चेकिङ पारेको प्रहरीले अपहरणकारीले बच्चा बाइकबाट माइक्रोमा सारको थाहा पाएपछि माइक्रोको चेकिङ कडा पारेको थियो । ठूलो भर्याङमा एउटा माइक्रो नरोकिएपछि प्रहरीले पिछा गरेको थियो । केही माथि रोकिएको माइक्रोबाट बालकलाई गेम खेल्न लगाइ एक व्यक्ति हतारमा उत्रिएकाले उनलाई प्रहरीले केही बेरमै नियन्त्रणमा लिएको थियो । तिनै व्यक्तिबाट बालक अपहरण भएको रहस्य खुलेको थियो ।
बच्चा अपहरण गरेको खबरले उत्साहित भएका उनीहरु कंलकीमा थिए । उनीहरुलाई त्यही प्रहरीले पक्राउ गरेको थियो । बच्चालाई झापामा लगेर बन्धक बनाउने उनीहरुको योजना रहेको प्रहरीले जनाएको छ ।