भरतपुर । आज सोमबार जापान जाने तयारीमा रहेका टाँडीका एकजना अहिले प्रहरी हिरासतमा छन् । सौराहामा साथीभाइसँग कौडा खेलिरहेको अवस्थामा १ लाख १४ हजार नगदसहित ती व्यक्ति प्रहरीको कव्जामा परेपछि हिरासतमा बास भएको हो । जापान जानुपर्ने भएकाले छुटाउनका लागि आफन्तले बिन्तीभाउ गरे पनि चितवन प्रहरीले अटेर गरेपछि यतिबेला आफन्त निकै चिन्तित बनेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न ठाउँबाट तिहारको समयमा जुवातास र कौडा खेलेको आरोपमा सयभन्दा बढीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा विभिन्न संघसंस्थाका प्रमुखहरु, प्रतिष्ठित होटल व्यवसायी, ठूला व्यापारीहरु र सौराहा घुम्न आएका पर्यटकसमेत रहेको प्रहरीले जनाएको छ । ७, ८ र ९ गते तीन दिनमा ६० जना बढी पक्राउ परेको र उनीहरुमाथि जुवा ऐन अनुसार मुद्दा चलाई कारबाही भइरहेको चितवन प्रहरीले बताएको छ । केही रकम डलरसमेत बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता शान्तिराज कोइरालाका अनुसार तिहारकै समयमा सय जनाभन्दा बढी पक्राउ परेकामा ६० जना जतिलाई जुवा ऐन अनुसार मुद्दा चलाइएको छ । प्रहरीले विशेष सुराकीका आधारमा शनिबार राति सौराहाको होटल हर्मिटेजमा छापा मार्दा त्यस क्षेत्रका चर्चित व्यवसायी पनि पक्राउ परेका हुन् । होटल हर्मिटेजमा कौडा खेलिरहेको अवस्थामा २१ जना पक्राउ परेको प्रवक्ता कोइरालाले बताए । पैसा सापटी दिएर कौडा खेल्ने ठाउँ उपलब्ध गराएको आरोपमा हर्मिटेजका संचालक नगद १ लाख १६ हजारसहित पक्राउ परेका छन् । जुवा खेलिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले टीकाको दिन राति १ बजे उनीहरुलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता कोइरालाले जानकारी दिए । प्रहरी आएको थाहा पाएपछि अभियुक्तहरुले पैसा सोफा मुनि लुकाएको, चर्पीभित्र हालेको पक्राउ गर्न खटिएका एक प्रहरी अधिकृतले बताए । उक्त खालबाट ७ लाख ५८ हजार बरामद भएकामा १ लाख १७ हजार रूपैयाँ कुनै पनि अभियुक्तले आफ्नो भनी नस्वीकारेको प्रवक्ता कोइरालाको भनाइ छ । गत ७ गते त्यसै होटलमा जुवा खेलेर झण्डै २० लाखको कारोवार भएको सुइको पाएपछि प्रहरीले भोलिपल्टै त्यस होटलमा विशेष निगरानी राखेको प्रहरी निरीक्षक रूगम कुँवरले बताए । यसैबीच चितवन प्रहरीले शनिबार नै पिठुवा गाविस ५ सुकुमबासी बस्तीबाट २० जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको साथबाट ५१ हजार रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । तिहारको बेलामा जुवातास, कौडा नखेल्न चितवन प्रशासनले बारम्बार अनुरोध गरे पनि गाउँघरमा लुकीछिपी खेल खेल्ने र खेलाउने गरेको पाइएको छ । चितवन प्रहरीले कृष्णपुर, मंगलपुर, भोजाड, चनौली, पोखरा बसपार्कलगायतका क्षेत्रबाट ठूलोमात्रमा जुवातास खेल्नेहरुलाई पक्राउ गरेको जनाएको छ ।
Share this Page
Popular Posts
-
काठमाडौं, १९ माघ गुरुकुल कलेजका दुई सञ्चालकलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । कलेजका कार्यकारी निर्देशक सुजित सिंह...
-
६ साउन, भैरहवा । लागूऔषध सहित दुई नेपाली भारतमा पक्राउ परेका छन् । नेपाल भारतको सिमानाका भारती शहर सुनौलीमा ब्राउन सुगर सहित दुई नेपाली पक्...
-
नेपाली सेयर बजारमा सोमबार नयाँ रेकर्ड कायम भएको छ । पुँजीगतबजारमा एकैदिन एक अर्व २० करोडको कारोबार भएको हो । यो कारोवार सबै सर्वसाधारणको स...
