३८ करोडको तिहार


नारायणगढ । देशकै मुख्य व्यापारिक केन्द्र नारायणगढमा तिहारको पाँच दिनमा ३८ करोडभन्दा बढीको कारोवार भएको छ ।
खाद्यान्नका सामान, सुनचाँदी, कपडा तथा फेन्सी र घर सजावटका वस्तुसहित तिहारसँग सम्बन्धित सामग्रीहरुको व्यापार भएको सम्बन्धित व्यवसायीहरु बताउँछन् । यो व्यापारलाई मध्यम व्यापारका रुपमा लिइएको छ ।
‘तिहारको व्यापार मध्यम हो’, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशीले भने, ‘यो व्यापारलाई अघिल्लो वर्षको तुलनामा राम्रै मान्नुपर्छ ।’ महँगीका कारण सर्वसाधरणमा वस्तु खरिद गर्ने क्षमता कमी भएकाले पनि सोचेअनुसारको कारोवार हुन नसकेको उनको भनाइ छ ।
‘तिहारसँग जोडिएका वस्तुहरुको कारोवार अझै बढाउन सकिन्थ्यो तर महँगीले समस्या प¥यो ।’ अहिलेको व्यापारमा पनि रेमिट्यान्सको योगदान रहेको उनको बुझाइ छ ।
तिहारमा सबैभन्दा बढी खाद्यान्नका वस्तुहरुको कारोवार भएको छ । घिउ, तेल, चिनि, मैदा, आटा, चामल, मर–मसलालगायतका वस्तुहरुमात्रै तिहारको पाँच दिनमा नारायणगढमा १५ करोड रूपैयाँ बराबरको कारोवार भएको किराना तथा खाद्यान्न व्यवसायी उमाशंकर अग्रवालले बताए ।
‘सामान्यतय नारायणगढमा दैनिक डेढ करोडका हाराहारीमा खाद्यान्नका वस्तुहरुको कारोवार हुन्छ, तर तिहारको पाँच दिनमा मात्रै दिनको तीन करोड रूपैयाँका हाराहारीमा कारोवार भएको पाइयो’, किराना व्यवसायी संघका संस्थापक अध्यक्षसमेत रहेका अग्रवालले भने ।
तिहारमा हुने व्यापारमध्ये सुनचाँदीको व्यापारलाई पनि मुख्य राखिन्छ । सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष विपीन रामुदामुका अनुसार यो वर्षको तिहारमा नारायणगढमा ३० किलो सुन र ७० किलो चाँदीको कारोवार भएको छ । यसबापत् १३ करोड ५० लाख रूपैयाँ बराबरको सुनको कारोवार भएको बताइन्छ ।
काग तिहारका दिनमा पर्ने धनतेरस र लक्ष्मीपूजाका दिनमा बढी सुनचाँदीको कारोवार हुने गर्दछ । तिहारमा फेन्सी तथा श्रृंगार ४ करोड रूपैयाँ, कपडामा  १ करोड ५० लाख रूपैयाँ, बिजुलीको झालरमा २ करोड रूपैयाँ, फूल तथा सजावटका वस्तुहरुमा २ करोड र मिठाइमा २५ लाख रूपैयाँ बराबरको करोवार भएको सम्बन्धित व्यवसायीहरु बताउँछन् ।
ओखर, नरिवल, सुपारीलगायतका भाइमसला र टीकाका सामग्रीको व्यापार पनि तिहारमा बढी नै भएको छ । फेन्सी व्यवसायी संघ नारायणगढका पूर्वअध्यक्ष विजय तण्डुकार पछिल्लो समय तिहारलगायतका चाडबाडमा हुने खर्चलाई विकेन्द्रित भएको ठान्छन् ।
‘पहिला पसल थोरै थिए, व्यापारीलाई व्यापार धेरै भएजस्तो लाग्थ्यो तर अहिले पसल धेरै छन् । व्यापार पनि विकेन्द्रित हुँदा व्यापारीलाई अझै व्यापार बढी भयो भन्ने लागेको छैन’, तण्डुकारले भने ।
बक्समा
वस्तु                 कारोवार
सून चाँदी           १३ करोड ५० लाख रूपैयाँ
खाद्यान्न             १५ करोड
फेन्सी तथा श्रृंगार     ४ करोड
कपडा                   १ करोड ५० लाख
बिजुली झालर        २ करोड
मिठाई               २५ लाख
फूल तथा सजावट      २ करोड

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page