घरजग्गा कारोबार उच्च, तीन महिनामै २ अर्ब १७ करोड राजस्व


काठमाडौं- पाँच वर्षदेखि सुस्ताएको घरजग्गा कारोबार चालु आर्थिक वर्षको सुरुदेखि उच्च दरले बढ्न थालेको छ। काठमाडौं उपत्यकालगायत बाहिरी जिल्लाको घरजग्गा किनबेचको तथ्यांकलाई हेर्दा कारोबार उच्च दरले बढेको देखिएको हो।
भूमिसुधार तथा व्यवस्थापन विभागका अनुसार चालु आर्थिक वर्षका तीन महिना (साउन, भदौ र असोज) मा देशभरका मालपोत कार्यालयले रजिस्टे्रसन दस्तुरबापत २ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन गरेका छन्। गत वर्षको तुलनामा यो ५१ करोडले बढी हो। गत वर्षको यही तीन महिनामा १ अर्ब ४५ करोडमात्र राजस्व उठेको थियो।
'अहिलेको राजस्व असुलीको स्थिति पाँच वर्षअघि घरजग्गा कारोबार उच्च भएको बेला उठ्नेजस्तो देखिन्छ,' विभागका तथ्यांक अधिकृत राजु बस्नेतले शुक्रबार नागरिकसँग भने। उनले काठमाडौं उपत्यकामात्र नभएर सबै जिल्लामा कारोबार बढेको जानकारी दिए।
पाँच वर्षअघि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर आवासका लागि नभई व्यवसायकै रुपमा यो क्षेत्रमा लगानी गर्ने प्रचलनले घरजग्गाको कारोबार र मूल्य दुवै अकासिएको थियो। घरजग्गा किनबेच र मूल्य अस्वाभाविक रुपमा बढेर अर्थतन्त्रमै असर पार्ने सम्भावना देखिएपछि राष्ट्र बैंकले २०६६ पुसमा बैंक तथा वित्तीय संस्थालाई ऋण लगानीमा सीमा लगाएको थियो। यसपछिका वर्षमा घरजग्गाको कारोबार ८० प्रतिशत र मूल्य ४० प्रतिशतले घटेको थियो। पाँच वर्षपछि अहिले कारोबारले गति लिन थालेको छ।
'अघिल्लो वर्ष पनि घरजग्गा किनबेचमा केही सुधार देखिएको थियो, देशभरका मालपोतले ७ अर्ब ८१ करोड रुपैयाँ यसबाट उठाएका थिए,' बस्नेतले भने, 'चालु आवमा अझै कारोबार बढेको देखिएको छ।
उनका अनुसार घरजग्गा कारोबार अकासिएका बेला (आव ०६६–६७) मा ६ अर्ब रुपैयाँभन्दा बढी उठेको राजस्व राष्ट्र बैंकले सीमा तोकेको वर्ष ४ अर्ब १८ करोडमा झरेको थियो। गत वर्ष भने यसमा सुधार हुँदै करिब ८ अर्ब रुपैयाँ पुगेको छ। सुरुका तीन महिनाको तथ्यांकले यस वर्ष अझै बढ्ने देखिएको छ।
चालु आवमा विभिन्न जिल्लामा घरजग्गाको मूल्यांकनमा गरिएको वृद्धिले पनि राजस्व बढ्नमा केही सहयोग गरेको हो। 'घरजग्गाको मूल्यांकन औसतमा १० प्रतिशतले मात्र बढेको छ,' बस्नेतले भने, 'बजेटमार्फत नगरोन्मुख गाविसमा रहेको ३ प्रतिशतको रजिस्ट्रेसन दस्तुरलाई साढे तीन प्रतिशत पुर्‍याइएको छ।' राजस्व असुली उच्च हुनुमा झिनो रुपमा बढाएको मूल्यांकन र दस्तुरको हिस्सा ज्यादै सानो भएको बस्नेतले बताए। कारोबारमा आएको बढोत्तरीका कारण नै यति धेरै राजस्व वृद्धि भएको हो।
विभागका अनुसार काठमाडौं उपत्यकामा मात्र गत वर्षभन्दा चालु वर्ष ४४ करोड रुपैयाँ बढी राजस्व उठेको छ। गत वर्षका तीन महिनामा उपत्यकाका पाँच मालपोत कार्यालयले ६६ करोड रुपैयाँ राजस्व उठाएकामा यस वर्ष १ अर्ब १० करोड पुगेको छ।
घरजग्गा कारोबार घट्न सुरु भएपछि काठमाडौं उपत्यकामा औसत १२ करोडका दरले राजस्व उठेको थियो। विभागले नगरोन्मुख गाविस, नगरपालिकासँग जोडिएका गाविस र नगरपालिकाभित्रका जग्गाको मूल्यांकन बढाउँदा पनि राजस्व बढ्न सकेको थिएन। अहिले भने प्रतिमहिना औसत ३७ करोडका दरले उठिरहेको छ।
वर्षातको मध्य महिना साउनमा पनि काठमाडौंका पाँच मालपोतले साढे ३५ करोड रुपैयाँ राजस्व असुल गरेका थिए। त्यसपछि भदौमा ४२ करोड उठेको थियो। दसैं र तिहारजस्ता चाडको महिना असोजमा पनि ३२ करोड उठेको छ। गत वर्ष यी महिनामा साढे २२, २० र साढे २३ करोड राजस्व उठेको थियो।
काठमाडौं उपत्यकामा मात्र नभएर बाहिरका जिल्लामा पनि राजस्व संकलन उच्च छ। झापा, सुनसरी, मोरङ, मकवानपुर, चितवन, रुपन्देही, कास्की, बाँके, दाङजस्ता सहरी क्षेत्रका जिल्लाले राजस्व धेरै उठाएका छन्।
गत वर्ष प्रतिमहिना दुई करोड हाराहारीमा उठाउने कास्कीले यो वर्षका तीन महिनामा साढे १३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। कास्कीले भदौमा मात्र ४ करोड ९९ लाख रुपैयाँ उठाएको छ। यस्तै अवस्था रुपन्देहीको पनि छ। यसले तीन महिनामा साढे ९ करोड रुपैयाँ असुली गरेको छ। सुनसरीले ६ करोडभन्दा माथि र मोरङले साढे ५ करोड हाराहारीमा राजस्व संकलन गरेका छन्। झापाले समेत यो अवधिमा २ करोड ७५ लाख रुपैयाँ असुली गरेको छ। यो अघिल्ला वर्षभन्दा धेरै बढी हो।
देशको मध्यभागमा पर्ने चितवन र मकवानपुरको राजस्व संकलन पनि उच्च छ। चितवनले तीन महिनामा ७ करोड रुपैयाँ भन्दा बढी संकलन गरेको छ भने मकवानपुरले ३ करोड उठाएको छ। यसैगरी दाङ र बाँकेमा पनि राजस्व बढेको छ। दाङले तीन करोडभन्दा बढी र बाँकेले साढे २ करोडभन्दा माथि राजस्व उठाएका छन्। तराई र पहाडका अन्य जिल्लाले पनि विगतभन्दा बढी राजस्व उठाएको बस्नेतले जानकारी दिए।
बैंक तथा वित्तीय संस्थाको लगानी र दलालको चलखेलले विगतमा मूल्य र कारोबार उच्च हुँदा पनि मुलुकका यिनै प्रमुख सहरमा कारोबार बढेको थियो।
मन्दीले घरजग्गाको मूल्य करिब आधा घटाएको र अब थप घट्दैन भन्ने मानसिकताले कारोबारमा सुधार आएको अनुमान व्यवसायीको छ।
-
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page