म्याड्रिड, माघ २५ – चोटग्रस्त खेलाडीको मारमा रहेको रियल म्याड्रिडले एथ्लेटिको म्याड्डिसँग लज्जास्पद हार बेहोरेको छ । शनिबार राती एथ्लेटिकोको गृह मैदानमा भएको खेलमा ४–० पराजित भएपछि रियलको उपाधि होडमाथि ठूलो धक्का लागेको छ ।
जीतसँगै एथ्लेटिकोले आफ्नो चिरप्रतिद्वन्द्वी विरुद्ध अपराजित यात्रालाई ६ खेलमा पुर्याएको छ ।
खेलको पहिलो हाफमा टियागोले डिबक्स बाहिरबाट गरेको प्रहार रियलका गोलकिपर इकर कासियासले रोक्न नसक्दा रियल एक गोलले पछि परेको थियो । त्यस लगत्तै मिडफिल्डर साउल निगुएजले उत्कृष्ट ओभरहेड किकमार्फत् गोल गर्दै एथ्लेटिकोको अग्रता दोब्बर बनाए ।
खेलको दोस्रो हाफमा एन्टोनी ग्रीजमानले तेस्रो गोल थपे भने मारियो मान्डुज्किजले चौंथो गोल गर्दै रियलसँगको दुरी चार अंकमा सिमित गरे ।
रियलको हारको फाइदा सिधै लिगको दोस्रो स्थानमा रहेको बार्सिलोनालाई पुगेको छ । आइतबार एथ्लेटिको बिल्बाओसँगको खेल जिते बार्सिलोनाले रियलसँगको दुरी एक अंकमा झार्न सफल हुनेछ ।
रियल विरुद्धको ६ खेलमध्ये ४ खेलमा एथ्लेटिको विजयी बनेको छ । रियलसँग ४ अंको दुरीमा ५० अंकसहित लिगको चौंथो स्थानमा रहेको छ ।
रियल आजको खेलमा जेम्स रोड्रिगेज, सर्जियो रामोस, पेपे र लुका मोड्रिच बिना मैदानमा उत्रेको थियो ।
दुई खेलमा प्रतिबन्ध खेपेका क्रिस्टियानो रोनाल्डो फर्किएपनि खेल अवधिभर एथ्लेटिकोले रियलमाथि दबाब राखेको थियो । निरासजनक खेल प्रदर्शन गरेको रियलले खेल सकिन नौ मिनेटअघि मात्र एक पटक विपक्षीको पोस्टमा प्रहार गर्न सकेको थियो ।