गाडी छैनन्, भएकाले चर्को भाडा असुल्दै

भूकम्पपछि काठमाडौं छोड्नेको लर्को
शनिबार आएको महाभुकम्पपछि सोमबार राजधानी छोडने सर्वसाधारणको लर्को लागेको छ। 
 
सेतोपाटी टिम बिहान ९ बजेतिर कलंकी पुग्दा सयौं सर्वसाधारण राजधानी छोड्न आतुरीका साथ गाडी कुरिरहेका थिए। नियमित रूटका बस, जिप माइक्रो बस अत्यन्त न्यून संख्यामा चलेकाले कलंकी तथा बल्खु क्षेत्रमा सवारी साधन नपाउँदा उपत्यका छोड्न चाहने यात्रुको भीड लागेको थियो। 
 
यात्रुको यही अफ्ठेरोमा उपलब्ध सवारी साधनका मालिक तथा चालकले साविकभन्दा ५/६ गुणासम्म भाडा असुल्न थालेका छन्। 
 
बीरगञ्जका गब्बर हुसेनले घर जानका लागि सार्वजनिक सवारी नपाएपछि बल्खुमा ट्याक्सीसँग मोलतोल गरिरहेका थिए। बल्खुदेखि बीरगञ्जसम्मको भाडा ट्याक्सी चालकले १२ हजार रुपैयाँ मागे।
 
हुसेनले आफूसँग ११ हजार रुपैयाँमात्र भएको र त्यो सबै ट्याक्सी चालकलाई दिने कबुल गरे। बैंकको एटिएम पनि नखुलेकाले पैसा निकाल्न नपाएको उनको दुखेसो थियो। तर उनको दुखेसोले बा १ ज ६६०१ नम्बरमा ट्याक्सी चालकको मन पग्लेन। हुसेनले हात जोडे। तर ट्याक्सी चालकले जान मानेनन्।
 
अरु २ वटा ट्याक्सीसँग पथलैयासम्म जानका लागि एक हुल युवाले मोलतोल गरिरहेका थिए। बा१ ज ७८११ नम्बरका ट्याक्सी चालकले हेटौंडासम्म भए १० हजार, पथलैयाको ११ हजार र बीरगञ्जको १२ हजार रुपैयाँ भाडा तोके। युवाहरुले भने –हामीसँग त्यति पैसा छैन्, पथलैयासम्म पुर्‍याईदिनुस् १० हजार तिर्छौं। 
 
सँगैका अर्को ट्याक्सी चालक भन्दै थिए– मिलाएर लैजाऊ। चालकले ती युवालाई भाडा बाटैमा मिलाउने सर्तमा लिएर गए। 
 
हामी आफैँले विरगञ्जसम्म जानका लागि टाटा सुमोसँग मोलतोल गर्ने निर्णय गर्‍यौ। टाटा सुमोका चालक नै मोलतोल गर्दै थिए। उनी विरगञ्जसम्म ३५ हजार रुपैयाँमा जान राजी भए।  
 
बल्खुमा रहेका टाटा सुमोका अधिकांश टिकट काउण्टर बन्द छन्। भने दलालहरु भाडा बार्गेनिङ गरिरहेका छन्। 
 
कलंकीदेखि विरगञ्जसम्मको प्रतिव्यक्ति ५ सय देखि ६ सय रुपैयाँसम्म बस भाडा रहेकोमा अहिले प्रतिव्यक्ति २ हजार रुपैयाँ माग्ने गरेको भेटियो। मौका छोपेर काठमाडौंको लोकल रूटमा चल्ने बसहरु पनि काठमाडौं बाहिर जान मोलतोल गर्न थालेका छन्।
कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने कीर्तिपुर यातायात सेवाका २ वटा बस पनि यात्रुलाई बीरगञ्ज लैजान बल्खुमा ‘बार्गेनिङ‘ गरिरहेका भेटिए। 
 
बा३ ख ६७९९ र बा३ ख २०२७  नम्बरका  ती बसका चालकहरुले ३४ जना सिट क्षमताको बसमा बीरगञ्जका लागि ५० हजार दिनुपर्ने बताइरहेका थिए।
 
 ठेकेदार रहेका अब्दुल जहारले राजधानीमा गाडी नपाएपछि बीरगञ्जबाट आफ्ना सय जना मजुदरलाई घर लैजान बीरगञ्जबाट गाडी मगाएको बताए। ‘उताबाट आएको तेल हाल्दिन्छु‘ यताबाट गएको भाडा तिर्ने होे‘ उनले भने।
 
कतिपय मानिसहरु ट्रक, सिट नभएका सामान ओसार्ने भ्यानको पछाडि उभिएरै काठमाडौंबाट बाहिर जान लागेका थिए। 
 
बल्खुका एउटा भ्यानको पछाडिको भागमा अट्नेजति मानिस कोचिएका थिए। पिक अप भ्यानका चालक  अट्नेजति मानिस लैजान त्यसबापत २० हजार रुपैयाँ दिनुपर्ने भन्दै बार्गेनिङ गर्दै थिए। छेउमा उभिएका जाबेदले हामीसँग भने– तपाईंहरु मिडियाको मान्छे। सरकारलाई भनिदिनुस्– सबले ठगिरहेको छ, बढी भाडा मागिरहेको छ। मसँग सुमोले बीरगञ्ज गएको ३ हजार रुपैयाँ माग्यो। मसँग त्यति पैसा छैन्, कसरी घर जाने?
 
विद्युत आपूर्ति नहुँदा निर्माणमा काम गर्ने मजुदर, विद्यार्थी र गोरखा र धादिङलगायतका जिल्लामा घर भएका सर्वसाधारण घरमा भएको क्षति बुझ्न घर जान लागेका हुन्। गाडीको अभाव र भएका गाडीको चर्को भाडा शूल्कले उनीहरु मर्कामा परेका छन्। 

प्रकाशित मिति: सोमबार, बैशाख १४, २०७२ १२:००:१६

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

disqus

Share this Page