भरतपुर । नेपालका केही निजी मेडिकल कलेजहरुले कागजी रुपमा फर्जी डाक्टर देखाएर काम गरेको हुँदा नेपाल मेडिकल काउन्सिलले कारबाही प्रक्रिया अगाडि बढाएको छ । काउन्सिलले ती मेडिकल कलेजका शिक्षण पेसामा लागेका २१२ जनासँग स्पष्टीकरण मागेको छ । जसका लागि काउन्सिलले ७ दिनको समय दिएको छ । नेपालमा सबैभन्दा बढी फर्जी डाक्टर देखाउनेमा भरतपुरको पुरानो मेडिकल कलेजको नामले चिनिने कलेज अफ मेडिकल साइन्सेस रहेको छ । भारतीय नागरिक नगेन्द्र पम्पाटीको लगानीमा सञ्चालित पुरानो मेडिकल कलेजमा पढाउने फर्जी बनेका झण्डै ७० जना प्रोफेसर, एसोसियट, एसिस्टेन्ट प्रोफेसर र लेक्चरलाई काउन्सिलले कारबाही गर्ने भएको छ । त्यस्तै, नयाँ मेडिकल कलेजको नामले चिनिने चितवन मेडिकल साइन्सेसमा ८ जना फर्जी प्रोफेसर, एशोसियट प्रोफेसर र लेक्चरसँग पनि लिखित स्पष्टीकरण मागिएको छ । मेडिकल कलेजका अध्यापकहरु नक्कली हुने गुनासोका आधारमा छानबिन गरेर काउन्सिल कारबाही गर्ने निश्कर्षमा पुगेको मंगलबार जारी भएको सूचनामा उल्लेख छ । विदेशी नागरिक चिकित्सक र स्वदेशी चिकित्सकहरु एउटै समयमा दुई स्थानमा पूर्णकालीन काम गरेको भन्दै काउन्सिलले ऐननियम विपरीत भएकाले सम्बन्धित चिकित्सकलाई किन कारबाही नगर्ने ? भनी सूचनामा उल्लेख छ । फर्जी देखाउनेमा पूरानो मेडिकल कलेजमा ३२ जना प्रोफेसर, १४ जना एशोसियट प्रोफेसर, ५ जना एसिस्टेन्ट प्रोफेसर र १६ जना लेक्चर रहेको काउन्सिलले जनाएको छ । पुरानो मेडिकल कलेजमा ९० प्रतिशत भारतीय मुलका प्रोफेसर छन् । चितवनका दुई ठूला मेडिकल कलेजमा फर्जी कागज बनाएर काम गरेका ७५ जना चिकित्सकको नाम काउन्सिलले सार्वजनिक गरेको हो । पुरानो मेडिकलपछि सबैभन्दा धेरै नोबेल मेडिकल कलेजका ४७ जनालाई कारबाही हुने भएको छ । त्यस्तै भैरहवाको युनिभर्सल मेडिकल कलेजका ३६ जना कारबाही हुने लिष्टमा छन् । पुरानो मेडिकल कलेजले काउन्सिलको अनुगमनको क्रममा भारतीय डाक्टरहरुलाई समय चितवन ल्याएर महँगो होटलमा राखी अनुगमन टोलीको आँखा छलेर सम्पूर्ण नियम पुगेको दाबी गर्दै आएको थियो । भारतमा या नेपालमै रहको अन्य मेडिकल कलेजमा पूर्णकालीन काम गरिरहेका प्रोफेसरहरुलाई आफ्नो संस्थामा पनि पूर्णकालीन आवद्ध देखाएर सम्बन्धित शिक्षण अस्पतालले काउन्सिलको आँखा छल्दै आएको थिए । अनुगमनका क्रममा एउटै प्रोफेसरले एकै समयमा दुई भिन्न शिक्षण अस्पतालमा काम गरिरहेको रेकर्ड फेला परेपछि काउन्सिलले अनुगमनमा सक्रियता देखाएको हो । भर्ना नगर्नु पर्ने बिरामीलाई पनि बेड भरिएको देखाउन अनावश्यक भर्ना गर्ने गरेको, वृद्धा आश्रमबाट वृद्धवृद्धाहरु लगेर नक्कली बिरामी देखाउने गरेको भनी काउन्सिलले शिक्षण अस्पतालहरुको नक्कली धन्दाको खोजतलास थालेको छ । मेडिकल कलेजहरुमा काउन्सिलको टोली निरीक्षणमा जाँदामात्रै प्राध्यापकहरु उपस्थिति गराउने गरेको गुनासो पनि आउने गरेको काउन्सिलको सूचनामा उल्लेख छ । ‘पटक पटक निर्देशन तथा विविध ढंगबाट पटक पटक अनुरोध गर्दासमेत सम्बन्धित कलेजहरुले वेवास्ता गर्ने गरेको र सम्बन्धित विश्व विद्यालयले पनि यस विषयको गम्भिरतालाई महत्व नदिइ जोड नगरेको देखियो’ मेडिकल काउन्सिलको सुचनामा उल्लेख छ । अनुगमन आउँदा मात्रै पढाउन जाने नक्कली प्राध्यापकहरु ‘खडे बाबा’ का नामले बेला बेलामा चर्चामा आउने गरेका छन् । नक्कली काम गर्ने अन्यमा विराट मेडिकल कलेज, गण्डकी मेडिकल कलेज कान्तिपुर डेन्टल कलेज, लुम्बिनी मेडिकल कलेज, मनिपाल पोखरा, नेशनल मेडिकल कलेज वीरगंज, नेपालगंज मेडिकल कलेज, नेपाल मेडिकल कलेज, पिपुल डेन्टल कलेज र किस्ट मेडिकल छन् । 
Popular Posts
-
The northern Lamjung of Nepal has been insfrastructured by the 1 st Surung Margh (canal road) of Nepal. The road was built to shorten ...
-
I like the rear end treatment way more than the front. Spare wheel is no longer mounted on the tail-gate though. Takes away from ...
-
नेपाली सिनेमा क्षेत्रमा ‘स्वर’ नामक सिनेमा मार्फत नायिकाको रुपमा डेव्यु गरेकी केकी अधीकारी चलचित्रमा भन्दा पनि म्युजिक भिडियोमा जमिरहेकी छि...