कता जाला अबको शेयर बजार : एक विश्लेषण

मुलुकले नयाँ प्रधानमन्त्री पाएसंगै नेपाली पुंजी बजारमा पनि नयाँ उत्साह छाएको देखियो । मंगलबार बजार ३४ अंकले बढेपछी यसले निरन्तरता पाउला वा नपाउला भन्ने अनुमान लगाउन अधिकांश लगानीकर्ता अहिले ब्यस्त छन् । खासै परिपक्व नभईसकेको नेपाली शेयर बजारलाई कहिले कहीं ठुला लगानीकर्ताले आफ्नो मर्जीमा डोहोर्याउने गरेको समेत देखिंदै आएको छ । यस्तो बेला बजारको भविष्यबारे तथ्यपरक प्रक्षेपण गर्न नसक्दा कतिपय नयाँ र साना लगानीकर्ता नराम्ररी थला परेका उदाहरण पनि हामी समक्ष प्रशस्त छन् । यो पृष्ठभूमिमा यहाँ हामीले तत्काल नेपाली पुंजी बजारलाई प्रतक्ष्य र परोक्ष रुपमा प्रभावित पार्न सक्ने केही राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रमहरुको सामान्य विश्लेषण गरेका छौं । त्यसैगरी नेपाली पुंजी बजारको बिगतलाई पनि तथ्यांकको आधारमा प्राबिधिक रुपमा विश्लेषण गर्दै त्यसले गर्ने भविष्यको प्रक्षेपणलाई समेत यो टिप्पणीमा समाबेश गरिएको छ ।
सकारात्मक राष्ट्रिय परिवेश
नेपाली पुंजी बजारले परम्परागत रुपमा नै स्वागत गर्दै आएको नेपाली कांग्रेस नेतृत्वको सरकार फेरी गठन भएको छ । पुँजीवादी उदारीकरणलाई बिनासर्त स्वीकार्ने कांग्रेसले सत्ताको बागडोर सम्हाल्ने र अर्थमन्त्री पनि सोहि पार्टीका हुने कुराबाट शेयर मार्केट आश्वस्त हुने गरेको पछिल्लो प्रमाण मंगलबार एकाएक देखिएको उत्साहपूर्ण बृदी पनि  हो ।
तर के कांग्रेसको नेतृत्वमा सरकार बन्दैमा लगानी सुरक्षित हुने र अन्यले अर्थ मन्त्रालय सम्हाल्दा डुब्ने कुनै ठोस आधार छ त ? स्वयम् लगानीकर्ता भन्छन्, ‘त्यस्तो त होइन, छैन ।’ लगानीकर्ता तथा पुंजी बजार विश्लेषक ज्योति दाहालका अनुसार यो एक प्रवृति मात्र हो । हल्लाको भरमा घटबढ हुने र गराउनेहरुका लागि यो एक अवसर हो, बस् । तर अब बिचमा केही ठुलो राजनीतिक उतार चढाव नआए बजार घट्नु पर्ने कुनै कारण नरहेको उनको ठम्याई छ ।
अब बजार निशन्देह बढ्ने बुझाइमा छन्, मार्केट सेक्युरिटिज ब्रोकर न. ५ का संचालक पूर्णमान सिंह । उनी भन्छन्, ‘बिगतमा रामशरण महत अर्थमन्त्री हुँदा त लगानीकर्ताहरुले मिठाई नै बाँडेका थिए । अहिले पनि त्यो ट्रेण्ड देखिएको छ ।’ किन यस्तो हुन्छ ? उनको जवाफ छ, ‘ पुंजी बजार नै यस्तै हो । कुनै सकारात्मक संकेत देख्यो भने ह्वात्तै बढ्छ ।’
भरपर्दो आधार छैन
तर, के कांग्रेस नेतृत्वको सरकारले पुंजी बजारलाई सहयोग पुग्नेगरी कुनै नयाँ कार्यक्रम र नीतिगत हेरफेर गर्छ त ? यसमा कुनै शंका छैन कि यो सरकार नीतिगत परिवर्तन गर्नलाई बनेकै होइन । र, अहिले कम्युनिष्ट नामधारी नेपालका राजनीतिक दलहरुले पनि ब्यबहारिक रुपमा नेपाली कांग्रेस भन्दा एक कदम अगाडी बढेर पुंजिबादलाई स्वीकार गरिसकेका छन् । यसले के देखिन्छ भने कांग्रेस नेतृत्वको सरकार बनेकै दिन बजारमा देखिएको बृदी पूर्णतया प्रायोजित बृदी हो, कुनै बलियो र तर्क संगत आधार बिनाको ।
हो, राजनीतिक रुपमा मुलुकले सकारात्मक बाटो समात्दै छ । असन्तुष्ट मधेसी दल समेत सरकारसंग सहमति गर्दै चुनाबको नजिक आइसकेका छन् । अब स्थानीय तहको दोस्रो चरण र प्रदेश तथा संघिय सभाको निर्वाचनको लागि सहज बातावरण बनेको छ । तर यस्तो हुन्छ र यसको विकल्प अबको नेपालमा छैन भन्ने त सबैलाई पहिले नै थाहा थियो । मंगलबार शेरबहादुर देउबा प्रधानमन्त्री बनेपछि मात्र अध्याय खुलेको त होइन तर किन एकाएक बजार उत्ताउलियो ? फेरिपनि बुझ्नुपर्छ कि बजार ठुला लगानीकर्ताले आफ्नो इच्छा अनुसार चलाईरहेका छन् । र, कुनैपनि बेला साना लगानीकर्तालाई खाल्डोमा पारेर उनीहरुले गतिलो लाभ उठाउन सक्छन् ।
यहाँनेर स्मरण गर्नयोग्य तथ्य के पनि छ भने अघिल्लो महिना सबैजसो बैंक तथा वित्तीय संस्थाले आकर्षक लाभ सहितको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्दा समेत बजारले अपेक्षित गतिलिन सकेन । किन ? यसको चित्तबुझ्दो जवाफ यसबीच कसैले दिन सकेको छैन । बरु केही ठुला लगानीकर्ताले अनौपचारिक रुपमा ‘बजार बढाउने बेला भएको छैन’ भनेको चाहीं सुनियो, भेटियो।
अन्तर्राष्ट्रिय घटनाक्रम
सामान्यतया अन्तर्राष्ट्रिय राजनीतिले प्रतक्ष्य रुपमा नेपालको शेयर बजारलाई प्रभावित पार्ने गरेको देखिंदैन । तर यहीसाता नेपाली कामदारको प्रमुख गन्तव्यको रुपमा रहेको कतारसंग उसका चार छिमेकीले गरेको सम्बन्धबिच्छेदले भने यहाँ असर गर्ने अनुमान गरिएको छ । हो, खाडी मुलुकमा रोजगारीमा जानेहरुले पठाएको पुंजी सिधै शेयर बजारमा आउने गरेको छैन तर परोक्ष्य रुपमा बजारमा पुँजीको प्रयाप्तता र अभावले नेपाली शेयर बजारलाई समेत पिरोल्ने गरेको हामीले देख्दै आएका छौ । यसरी हेर्दा नेपाल भित्रिने कुल रेमिट्यान्सको १० प्रतिशत भन्दा बढी योगदान दिंदै आएको कतारमा संकट देखिनुले यहाँ केहिपनि असर पार्दैन भनियो भने गलत ठहर्न सक्छ ।
तर, विश्लेषक ज्योति दाहाल चाहीं यो स्विकार्दैनन् । उनी भन्छन्, “ कताको कतार यहाँ छ नेपाल के हुन्छ र यसको असर ?” दाहालको स्पष्ट बुझाई थियो, ‘फेरी त्यहाँ कम्मेको पैसा हाम्रो पुंजी बजारमा आउने पनि होइन न त नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको तर्कसंग नै म सहमत छु ।’ ब्रोकर पूर्णमान सिंहपनि यस्तै धारणा राख्छन् । उनको भनाइ छ, “रेमिट्यान्सको पैसाले नेपालको पुंजी बजार चलेको पनि होइन र यसको केही असर पर्दैन् ।”
तर, अर्थ मन्त्रालयमा बजेट महाशाखा प्रमुख तथा अमेरिकाका लागि महावाणिज्यदूतमा नियुक्त सह-सचिव मधु मरासिनी चाहीं कतारमाथी आइलागेको संकटले नेपाली अर्थतन्त्रलाई सामान्य असर पार्ने बिश्वाश गर्छन् । उनको बिचारमा, ‘भौतिक भन्दाबढी मनोबैज्ञानिक प्रभाब रहन्छ ।’ मनोबैज्ञानिक प्रभाबबारे दाहाल र सिंहपनि सहमत छन् । यसरी हेर्दापनि मनोबैज्ञानिक पक्षको बिशेष महत्व रहेको शेयर बजारलाई मध्यपूर्वमा देखिएको संकटले सामान्य असर भने गर्ने देखिन्छ ।
यस्ता आधारभूत  पक्षलाई हेर्दा नेपाली बजारले छलांग मारिहाल्ने देखिंदैन । तर, बजार ओरालो लाग्नुपर्ने पनि कुनै कारण अहिले छैन । समग्रमा बजारले सामान्य करेक्सन लिंदै यथास्थिति मै बस्ने अनुमान लगाउन सकिन्छ ।
प्राविधिक विश्लेषण
गएको सेप्टेम्बर महिना बनेको हायर हाई तथा लोवर लोको आधारमा ट्रेन्ड लाइन तान्दा, सोमबारको १ हजार ६ सयको बिन्दुमा रहेको बलियो टेवालाई ब्रेक गर्न बजार मंगलबार सफल भएको छ । त्यस्तै गत अप्रिल महिनाबाट बनेको डीसेडीइंग त्रिभुजको पनि करिब करिब बेस लाईनमा टेवा पाएको छ । यस अर्थमा तत्काल नेप्सेमा करिब १६५० को अवरोध तथा १६०० को टेवा रहेकोछ । यस वर्षको फेब्रुअरी महिना तथा मार्च महिनाको लो बिन्दुबाट तानेको फिबोनेकी रित्रेस्मेंट तथा एक्टेन्सनको मिश्रित रुप फिबोनेकी क्लस्टरले दिर्घकालिन ट्रेन्डको आधारमा १ हजार ५ सय ७० बिन्दुमा बलियो टेवा देखाएको छ । त्यस्तै अझै पनि १ हजार ७ सय ५० को बिन्दुमा अवरोध रहेको छ । मैनबत्ति मरोबोजु आकृति बनेको छ । यसबाट लगानीकर्तामा केहि खरिद आकर्षण बढेको देख्न सकिन्छ । कारोबार भोलुमले पनि केहि बढे संकेत गर्दछ । १४ दिने आरएसआई औजार पनि ४४ को स्केलबाट ५४को स्केल आएको देखिन्छ।
साप्ताहिक ट्रेण्ड विश्लेषण
अहिले नेप्से परिसूचकलाई साप्ताहिक रुपमा विश्लेषण गर्दा नयाँ  वर्ष २०१७को सुरुवाती समयमा १ हजार २ सय २० को बिन्दुबाट १ हजार ७ सय ३७को बिन्दुको सुधार देखिएको छ । नेप्से परिसूचकको ईतिहास हेर्दा जुन महिना देखी अगस्त महिनासम्म बढेको देखिन्छ । साप्ताहिक रुपमा नेप्से परिसूचकलाई आकृति विश्लेषणबाट हेर्दा फ्लेग आकृति बनेको छ । प्याटर्न अर्थात् आकृतिको आधारमा अहिले प्लेगको ट्रेन्ड लाइनमा रहेको छ । त्यस्तै गत वर्षको जुन – जुलाई महिना देखि यस वर्षको लो बिन्दुसम्मको रित्रेसमेन्टको आधारमा ६१ दशमलब ८ प्रतिशतको तहमा मंगलवारको कारोबार बन्द भएकै तहमा अवरोधपनि देखिएको हो।
बजारको उतारचढावको मापन गर्ने बोलिंजर ब्याण्ड हल्का फुलेको अवस्थाले चाडै ठुलो परिवर्तन अर्थात् उतारचढावको सम्भावना देखिएको छ । १४ दिने आरएसआई इन्डेक्स भने ५६ को बिन्दुमा रहेको छ, यस औजारले बजार न्युट्रल क्षेत्रमा रहेको स्पष्ट देखाएको छ ।
प्राविधिक विश्लेषणमा कुनै चार्टको विश्लेषण गर्दा अहिलेको बजारलाई नन ट्रेन्ड कि ट्रेन्डमा रहेको छ भने कुरा छुट्याउनु पर्ने हुन्छ । ट्रेन्ड वा नन ट्रेन्ड छुटाउने विभिन्न औजारहरु मध्ये एडीएक्स औजारलाई राम्रो मानिन्छ । साप्ताहिक नेप्से चार्टलाई विश्लेषण गर्दा एडीएक्स औजारले अहिले बजार सन् २०१५ को अन्त्य तिर बनेको बुलिश ट्रेन्ड चक्र करिब करिब पुरा गर्न लागेको देखिन्छ । यस औजारले एउटा ट्रेन्ड को सुरुवात पनि अर्को ट्रेन्डको अन्त्सम्मको पूर्व जानकारी दिनुको साथै बनेको ट्रेन्डको स्ट्रेंग्थको बताउने गर्दछ । समग्रमा अहिलेको नेप्से परिसूचक संबेदनशील अवस्थामा रहेकोछ ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page