कांग्रेस महाधिवेशनको इतिहास : जो हारेर पनि चर्चामा रहे

 


भनिन्छ, इतिहास सधैँ जित्नेको हुन्छ । तर हरेक परिवर्तनमा पराजितहरूको भूमिका नै छैन भन्ने चाहिँ होइन । नेपाली कांग्रेसमा २०१२ को वीरगञ्ज महाधिवेशन र सभापतिमा पराजित उम्मेदवारको सधैँ चर्चा हुने गरेको छ ।
स्थापनाकालदेखि चौथो महाधिवेशनसम्म निर्विरोध रुपमा नेतृत्व चयन गर्दै आएको नेपाली कांग्रेसभित्र पाँचौं अधिवेशनमा आएर पहिलोपटक सभापतिका लागि चुनाव भएको पाइन्छ । अधिवेशनले बीपीलाई सभापतिमा निर्वाचित गर्यो भने मातृकाप्रसाद कोइराला, गणेशमान सिंह, गोपालप्रसाद भट्टराई र केदारमान व्यथित प्रतिस्पर्धामा थिए ।

‘त्यसको तीन वर्षपछि सम्पन्न छैठौं महाधिवेशनमा सुवर्णशमशेर राणा र गणेशमान सिंहबीच प्रतिस्पर्धा भयो । उहाँले जीवनमा एकपटक मात्रै पदको आकांक्षा देखाउनुभयो, त्यो हारिसकेपछि कहिल्यै पनि सभापतिको आकांक्षा देखाउनुभएन, त्याग मात्रै संघर्ष मात्रै,’ नेपाली कांग्रेसका नेता होमनाथ दाहालले भने । कांग्रेसले समाजवादको नीति पारित गरेको त्यो ऐतिहासिक महाधिवेशनमा सभापतिका लागि जिल्ला–जिल्लाबाट मतदान भएको थियो ।
‘२०१२ सालमा गणेशमान र सुवर्णजीबीच प्रतिस्पर्धा थियो । म त दुई वर्षको मात्र थिएँ होला । जिल्ला–जिल्लामा ढ्वाङ राखेर त्यहीँ काउन्ट (गणना) गरेर निष्पक्ष तरिकाले मतदान गराइयो,’



राजनीतिक विश्लेषक विनोदकुमार भट्टराई भन्छन्, ‘आवा (आकाशवाणी)बाट रिपोर्ट आउँथ्यो । सुवर्णजीले जित्नुभयो । गणेशमानजी हार्नुभयो ।’ कांग्रेसले समाजवादी नीति लिएको पनि वीरगञ्ज अधिवेशनबाट नै हो । त्यति मात्र होइन, सभापतिमा निर्वाचित भए लगत्तै सुवर्णशमशेरले आफ्नो १२ हजार विगाह जग्गा गरीबलाई वितरण गरी बिर्ता उन्मूलनको घोषणा त्यहीँबाट गरेका थिए ।
‘अर्कोतिर सभापतिका उम्मेदवार सिंहले त्यसपछि कहिल्यै सभापतिमा उम्मेदवारी नै दिनुभएन,’ नेता होमनाथ दाहालले भने, ‘त्यसपछि सातौं महाधिवेशन हुँदा आफ्नै नेतृत्वको क्रान्तिबाट राणा शासन फालेर कांग्रेस दुईतिहाइ बहुमतका साथ सत्तामा थियो । बीपीविरुद्ध भूदेव राई चुनावी मैदानमा उत्रिनु भयो ।’ त्यसको केही समयपछि राजाले प्रजातन्त्रमाथि कू गरी ३० वर्षसम्म पञ्चायती शासन चलाए । दलहरूमाथि प्रतिबन्ध लगाइयो ।
‘एउटा पार्टी संरचना निर्माणका लागि सबै वर्ग, समुदाय र विचारको समष्टिगत प्रतिनिधित्व हुनुपर्छ । त्यसभित्र जसलाई कार्यकर्ताले चयन गर्छन् ऊ सभापति हुन्छ । हार्नेहरुको पराजय नै हो कि भन्ने मानसिकता देखिन्छ,’ राजनीतिक विश्लेषक प्रा। डा. राम थपलियाले भने, ‘यसलाई कांग्रेसले राम्ररी हेर्नुपर्छ । अहिलेको महाधिवेशनलाई पनि हार जितको रुपमा मात्र लिइयो भने देश दुर्घटनामा पर्न सक्छ । त्यसैले एक अर्कोको अस्तित्व स्वीकार गरेर जानुपर्छ ।’


त्यस्तै आठौं महाधिवेशनका लागि ३० वर्ष कुर्नुपर्यो । झापामा सम्पन्न आठौं, महाधिवेशनबाट सभापतिमा कृष्णप्रसाद भट्टराई निर्विरोध निर्वाचित भए । नवौं महाधिवेशनमा गिरिजाप्रसाद कोइराला, चिरञ्जीवी वाग्ले र रामहरी जोशीबीच प्रतिस्पर्धा भयो । दशौं महाधिवेशनमा कोइरालालाई शेरबहादुर देउवा र रामहरी जोशीले चुनौती दिए । एघारौं महाधिवेशनमा तेस्रो कार्यकालका लागि सभापतिमा उम्मेदवारी दिएका गिरिजाप्रसाद कोइरालालाई नरहरि आचार्यले चुनौती दिए ।
यसबीच नेपाली कांग्रेस र प्रजातान्त्रिक कांग्रेसबीच एकीकरण भयो । बाह्रौं महाधिवेशनमा कार्यवाहक सभापति सुशील कोइराला, शेरबहादुर देउवा र भीमबहादुर तामाङ मैदानमा ओर्लिए ।
सभापतिमा लगातार दुई पटक पराजित देउवा तेह्रौं महाधिवेशनबाट कांग्रेसको सभापति बने । कांग्रेसको इतिहासमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने १० नेता सभापति हुन सकेनन् । तर, पनि कांग्रेसको छैठौं महाधिवेशन र सभापतिका पराजित गणेशमान सिंहको चर्चा आम कांग्रेसजनबीच सधैँ भइरहन्छ ।

Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page