बचन कार्कीको नेपाली काङ्ग्रेसका कार्यकर्तालाई खुला पत्र

 


नेपाली काङ्ग्रेसको १४औ महाधिवेशन सुरु भइसकेको छ र सबैजना कृयाशिल काङ्ग्रेसीहरुलाई बधाई तथा अधिवेशन सफल बनाउन हजुरहरुको साथ अपरिहार्य छ। अहिले कोबिडको परिस्थितिमा चुनाव गर्न राम्रो हुदैन भनेर सहमति र सर्वसम्मत तरिकाले प्राय जसो ठाँउमा क्षेत्रिय प्रतिनिधिहरु चयन भएका छन त्यसैले हरेक कृयाशिलहरुको प्रतिनिधित्व हुने गरि आएका क्षेत्रिय प्रतिनिधिहरुलेनै नगर,प्रदेश,क्षेत्रिय,जिल्ला र महाधिवेशनमा प्रतिनिधित्व गर्ने पात्रलाई मतदान गर्दैछन। त्यसै अनुरुप जिल्ला सभापति र महाधिवेशन प्रतिनिधिहरुले केन्द्रमा आफ्नो पात्र चुन्नेछन जसले भोलीका दिनमा पार्टीलाई हाक्ने छन र मौका पाए देश र सरकार पनि। त्यसैले सम्पुर्ण कृयाशिल काङ्ग्रेसीहरुले के बुझ्न जरुरी छ भने यदि सधै भरि यसरीनै चुप लागेर बस्ने,माथिकाले जे सुकै गरोस मतलब नगर्ने हो भने भोलीका दिनमा पार्टी बिग्रियो नेता बिग्रिए देश बिग्रियो भन्न पाउनुहुने छैन। किनभने अहिलेसम्म मौका तपाँइहरुको हातमा छ तर यदि महाधिवेशन सकिएपछि कसैको केहीलाग्दैन। सबैजना कृयाशिल दाजु भाइ दिदी बहिनी आमा बुबा र बाँकी सबैजना मिलेर अहिले देखिनै दबाब कार्यक्रम राख्नु पर्छ। जुन  क्षेत्रिय प्रतिनिधिहरु छानिएका छन उनिहरुलाई खबरदारी गर्न जरुरि छ, कि कतै तिनिहरु कसैको चङ्गुलमा फसेका त छैनन् । कि कतै तिनिहरु किनबेच त भएका छैनन्। कि कतै तिनिहरु गुट उपगुटमा छिरेका त छैनन् ।कि कतै तिनिहरु फोहरी राजनितिमा रमेका त छैनन् । कि कतै तिनिहरु आँखा त चिम्लिएका छैनन् ।

तपाईं हामीलेनै उनिहरुलाई सचेत बनाउन जरुरी छ, उनिहरुको तागत के छ भनेर सम्झाउन जरुरी छ। उनिहरुको मतहाल्ने अधिकार भनेकोनै भोलीको काङ्ग्रेस कस्तो बनाउने आफु पछि आउने नयाँ पुस्तालाई कस्तो काङ्ग्रेस हस्तान्तरण गर्ने भन्नेनै हो।
अहिलेको माहौल र परिपाटि देख्दा जटिल माथि झन जटिल हुँदै गएको छ, नयाँपुस्तालाई राजनितिमा आकर्षित गर्न गार्हो छ, र आईहाले भनेपनि नेतृत्व ग्रहण गर्ने मौका पाईहाल्न गार्हो छ। सक्षम शिक्षित काबिल होनाहार दुरदर्शि इमानदारहरुलाई नेपाली काङ्ग्रेस हाक्ने मौका  कहिले मिल्ला?
जबसम्म हामी सम्पुर्ण कृयाशिल कार्यकर्ताहरुले खबरदारी गर्दैनौ, आफ्नो हक अधिकारको कुरा राख्न सक्दैनो तबसम्म यसरी नै चलिआएको पार्टी यसरीनै निरन्तर चलिरहनेछ। तर बिडम्बना भविष्यसम्म हाम्रो  पार्टी यति विशाल नहुन सक्छ, पार्टिको मात्र के कुरा गर्ने भोलीसम्म हाम्रो देशनै हाम्रो नहुन सक्छ। सोच्ने बेला यहि हो साथसाथै आवाज उठाउने बेलापनि यहि हो, परिवर्तन ल्याउने बेला यहि हो, अहिले परिवर्तन गर्न नसके कहिले पनि सकिन्न, आज आवाज उठाउन नसके भोलि कुरासुन्ने कोहि हुदैन,तपाईं हामिलेनै कदम चाल्न नसके अरु कसैले पाईला चाल्नै सक्दैन।
नेपाली काङ्ग्रेस सुधार्ने साथसाथै निखार्दै लैजाने बेला यहि हो। महाधिवेशन सुरु भइसक्यो तर तपाईं हामिका नेता भनौदाहरु खै त जनताको आवाज उठाएका, खै त जनताको नारा घनकाएका, खै त कार्यकर्ताको भावना बुझेका? सारा नेपाली जनताको माग यति खेर के छ खै त सम्बोधन गरेका खै त एजेन्डा प्रस्तुत गरेका, खै त भिजन साझा गरेका? खै त भविष्य योजना प्रस्तुत गरेका?
यहाँ त सबैजना संस्थापन पक्ष र ईतर पक्ष भनेका छन, कोटका खल्तिका कोटामा लुछाचुडी गरेछन। प्रभुको आशीर्वाद भनेझै माथिका नेताको आशीर्वाद कहाँ खस्छ भनेर सिनो कुरेझै कुरिरहेका छन। घिन लागेर आउँछ यस्तो राजनिति परम्परा देखेर! यहि परम्परा तोडन छ यसपाली, यहि सेटिङ्ग भत्काउन छ यसपाली, यहि भागबन्डा छियाँछियाँ बनाउन छ यसपाली।
राजनितिको ढोका सधैका लागि सबैका लागि गरिबका लागि दिनदुखिका लागि निमुखाको लागि आदिवासि जनजातिका लागि मधेसि थारुका लागि महिला,मुस्लिम सबै धर्म जातजातिका लागि खोल्न जरुरि छ। एउटा गरिबको दलितको थारुको जनजाति आदिहरुको छोरा सभापति र प्रधानमन्त्री बन्नको लागि बाटो बनाउनु छ यसपाली। त्यसैले हरेक नेपाली काङ्ग्रेसका परिवार,शुभचिन्तक,साधारण सदस्य,कृयाशिल सदस्य तथा आम जनतामा राजनितिमा छिरेको विकृति र भाइरस हरुलाई बेलैमा निर्मुलिकरण गर्न आवस्यक छ। जागौ उठौ आवाज निकालौ । चोक चोकमा गाउँ गाँउमा वार्ड वार्डमा भेला गरौ क्षेत्रिय प्रतिनिधिहरुलाई सचेत गरौ,शिक्षित गरौ,निर्देशित गरौ,थप अधिकार दिऊ स्वविवेक बुद्धि प्रयोग गर्न दिऊ,गुट उपगुट नहेरि सक्षम शिक्षित काबिल योग्य इमान्दार युवा र नँयालाई मौका दिऊ र भोलीका दिनमा आफ्नो र नँयापुस्तालाई बाटो खोलौ।
जय नेपाल
नेपाली काङ्ग्रेस जिन्दावाद
बचन कार्की
भरतपुर महानगर सभापति उम्मेदवार
असोज ९ गते नगर अधिवेशन 
Tags: , , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page