उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पुसको पहिलो साता चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले नेपालको औपचारिक भ्रमण गर्ने जानकारी दिएका छन्। प्रधानमन्त्री डा बाबुराम भट्टराईले चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले आगामी पुस ५ गते नेपालको औपचारिक भ्रमण गर्ने कुरा सार्वजनिक गरिसकेका छन्।
परराष्ट्रमन्त्री श्रेष्ठले चीन भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा विकास गर्न र चीनले तिब्बतलगायतका क्षेत्रमा गरेको विकासबाट नेपालमा पनि सकारात्मक प्रभाव पार्नेगरी सहयोग गर्ने चिनियाँ प्रधानमन्त्रीले विश्वास दिलाएको जानकारी दिए।
चीन सरकारका तर्फबाट विशेष आर्थिक सहयोग प्रदान गर्ने र त्यसको तयारी सम्बन्धित निकायमार्फत छिट्टै सम्पन्न गर्न नेपाल सरकारलाई अनुरोध गर्नुभएको बताउँदै उनले सहयोगका क्षेत्रहरुमा खासगरी जलविद्युत् क्षेत्रको विकास, सडक पूर्वाधार र व्यापारिक साझेदारीका विषयहरू समेटिने बताए।
भारत सरकारसँग केही समय पहिले भएको लगानी प्रवर्द्धन सम्झौता (बिपा)जस्तै सम्झौता चीन सरकारले पनि गर्न चाहेको बताउँदै परराष्ट्रमन्त्री श्रेष्ठले त्यसको तयारी गर्न चीन सरकारले प्रस्ताव राखेको जानकारी दिए।
