म्याग्दी (बाबियाचौर), १३ मङ्सिर । राजनीतिक सहमति जुट्न नसकेपछि आगामी पुस ८ देखि ११ गतेसम्म बेनीमा सञ्चालन हुने भनिएको प्रथम राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता स्थगित भएको छ । जिल्ला खेलकुद विकास समिति, म्याग्दीको मङ्सिर ४ गते बसेको बैठकले प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको थियो । नेपाली काँग्रेसले प्रतियोगिता आयोजना गर्ने विषयमा असहमति जनाएको छ । सहमति जुटाउन सोमबार समितिका अध्यक्ष विनोद केसीको अध्यक्षतामा बसेको बैठकले सहमति नजुट्दासम्म प्रतियोगिता सञ्चालन नगर्ने निर्णय गरेको हो ।
एकीकृत नेकपा (माओवादी)का नेता हितबहादुर तामाङ युवा तथा खेलकुदमन्त्री भएपछि राष्ट्रिय खेलकुद परिषद्ले खेलकुद विकास समितिका विनोद केसीलाई नियुक्त गरेपछि निवर्तमान अध्यक्ष नेपाली काँग्रेसका रमेशकुमार श्रेष्ठले आफू नै अध्यक्ष हुनुपर्ने दाबी गर्दै सर्वोच्चमा रिट हालेको र सो विषयमा फैसला नहुँदासम्म समितिले गर्ने कार्यक्रमलाई नेपाली काँग्रेसले असहमति जनाउने बताएपछि प्रतियोगिता रोकिएको हो । राजनीतिक सहमति नजुटेपछि हाललाई प्रतियोगिता स्थगित गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केसीले बताउनुभयो ।
