म्याद थपपछि के भन्छन् नेताहरु?


काठमाडौँ, मङ्सिर १४ (नागरिक)- संविधान सभाको म्याद हिजो ६ महिना थप गरिएपछि नेताहरुले के भने?
यही सरकारलाई निरन्तरता : प्रधानमन्त्री 
संविधानसभाबाट संविधान निर्माण गर्नु नै सबभन्दा ठूलो कार्यभार हो। जनताले ६० वर्षदेखि त्यसैका निम्ति आन्दोलन गरे। तर, दुई वर्षभित्र (कार्य) सम्पन्न गर्ने जुन लक्ष्य राखेका थियौं, सकेनौं। त्यसैले अन्तिमपटक प्रयत्न गरौं, छ महिना म्याद थपेर संविधान बनाऊँ भनेर थपिएको हो।
म सरकार प्रमुखका तर्फबाट जनतालाई श्विास दिलाउन चाहन्छु, हामी सम्पूर्ण शक्तिसाथ राष्ट्रिय सहमति बनाएर अघि बढ्छौं। शान्तिप्रक्रिया अगाडि बढेको छ, पूरा हुन्छ। छ महिनाभित्र संविधान बन्छ। हामी छिटै राष्ट्रिय सहमति सरकार पनि बनाउँछौं।
जुन सरकारले शान्ति र संविधानको कार्यभार अघि बढाएको छ, त्यो सरकारलाई निरन्तरता दिनु नै उपयोगी हुन्छ भन्ने शायद सबैको बुझाइ छ।
उपसमिति बैठक बोलाइसकियो : सभामुख
आजैदेखि शान्तिप्रक्रिया अघि बढाउँदै संविधान निर्माण व्यवस्थित रूपमा अघि बढाउनुपर्छ। दलहरूले तुरुन्तै काम थाल्नुपर्छ। यो सन्दर्भमा दलका नेतालाई म्याद थपेलगत्तै आफैंले भेटेर छलफल गरिसकेँ। बिहीबार बिहान साढे ८ बजे विवाद समाधान उपसमिति बस्दै छ।
राज्य पुनर्संरचना आयोगले काम गरिरहेको छ, प्रतिवेदन आउनेबेलासम्मको दुई महिना उपसमिति र संवैधानिक समितिले राज्य पुनर्संरचनाबाहेकका विषय टुंगो लगाउनुपर्छ। प्रतिवेदन आएलगत्तै एकीकृत मस्यौदा तयार हुन्छ। चाँडै क्यालेन्डर बनाएर व्यवस्थित रूपमा काम अघि बढ्छ।
अहिले नै सकिँदैन नभनौं : पौडेल
अदालतको फैसलाले म्याद थप अन्तिम भन्छ। छ महिना थप्यौं। छ महिनाभित्र संविधान बनाउनेमा हामी प्रतिबद्ध छौं। छ महिनाभित्र शान्तिप्रक्रिया पनि टुंग्याउने, संविधान निर्माण प्रक्रिया पनि टुंग्याउने सहमति भयो। त्यसका लागि हामी भोलिपर्सिदेखि नै कार्यतालिका बनाएर निश्चित अनुशासनमा बसेर काम गर्छौं। अहिले नै सकिएन भने के गर्ने भन्नेतिर नजाऊँ।
अहिलेसम्मको अन्तिम हो : खनाल
यो अहिलेसम्मको अन्तिम हो। के हुन्छ भन्ने घटनाक्रमले सिद्ध गर्दै लान्छ।संविधानसभाले नयाँ संविधान बनाएरै छाड्छ। छ महिनामा सकिएन भने के गर्ने भन्ने संविधानसभाले निर्णय गर्छ।
चाँडै काम गर्‍यौं भने छ महिनामा सकिन्छ। राष्ट्रिय सहमतिको सरकार विस्तारै बन्छ।
बाँकी काम पछिलाई छाड्नुपर्छ : नेपाल
सर्वोच्च अदालतले भनेजस्तै यो अन्तिम पटक हो। नेतामा पनि अत्यन्तै गम्भीरता देखिएको छ। संविधान निर्माणको काम यसबीचमा सक्नैपर्छ भन्ने प्रतिबद्धता व्यक्त भएको छ। त्यसो भएकाले यो समयभित्र काम जति सकिन्छ, पूरा गर्नुपर्छ। बाँकी कुनै चिज छ भने त्यसलाई पछिका निम्ति छोड्दिनुपर्छ।
सकिन्छ तर एउटै सर्त छ- सबै नेतामा गम्भीरता हुनुपर्छ। जिम्मेवारी बोकेका नेतामा त्यत्तिकै गम्भीरता र तत्परता पनि हुनुपर्छ। बैठक औपचारिक, अनौपचारिक गरेर बाँकी रहेका विषय टुंगो लगाउनुपर्छ।
अहिलेसम्म तत्परता कम देखिएको हो। शान्तिप्रक्रियाका सिलसिलामा तुलनात्मक रूपमा राम्रो देखिएको छ। विगतसँग तुलना गर्ने हो भने कुराहरू अगाडि बढेको छ। आशावादी हुन सकिन्छ। अब बाध्यता पनि छ। राष्ट्रिय सहमतिको सरकार अविलम्ब गर्ने भनिएको छ, रातो मसीले लेख्नुपर्छ कि भन्ने पनि कुरा भएको छ।

वर्तमान प्रधानमन्त्रीकै राष्ट्रिय सरकार : गच्छदार
यो छ महिना अन्तिमपटक नै हो। सर्वोच्चको निर्णयको मनशाय पनि त्यही हो। छ महिनाभित्र संविधान पनि बन्छ, शान्तिप्रक्रिया केही दिनमा पूरा हुन्छ।
तीन वर्षसम्म शान्तिप्रक्रियामा तात्विक उपलब्धि गर्न सकेनौं। संविधान निर्माणको पनि धेरै काम बाँकी छ। अब शान्तिप्रक्रिया पनि पूरा हुन्छ, संविधान निर्माण पनि हुन्छ। संविधान निर्माणको कार्यतालिका पनि आउँछ।
राष्ट्रिय सहमतिको सरकारको टुंगो पनि लाग्छ। कसले नेतृत्व गर्ने भन्ने पनि टुंगो लाग्छ। मैले त वर्तमान प्रधानमन्त्रीको नेतृत्वमै सहमति सरकार गरौं भनेर चार दलको बैठकमा प्रस्ताव गरेँ। वर्तमान गठबन्धन सरकारले शान्तिप्रक्रियामा केही प्रगति हासिल गरेको छ। संविधान निर्माणको धेरै आधारभूत प्रगति भएका छन्।
सरकारबारे लुछाचुँडी गर्ने समय हामीसँग छैन। छ महिनाभित्र संघीयतासहितको संविधान जारी हुन्छ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page