कोइरालाको प्रस्तावमा देउवा सकारात्मक


काठमाडौं, मङ्सिर १४ (नागरिक)- कांग्रेस सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा तीन महिनादेखि चर्किएको पार्टीको आन्तरिक विवाद मिलाउन सकारात्मक देखिएका छन्।
दुवै नेतालाई आफू पक्षीय जिल्ला सभापति र सभासद्ले पार्टी विवाद छिटो समाधान गर्न दबाब दिएपछि मंगलबार कोइरालाले सहमतिको प्रयास थालेका हुन्। कोइरालाले मंगलबार साँझ महामन्त्री कृष्णप्रसाद सिटौलालाई पार्टीको आन्तरिक विवादका विषयमा छलफलका लागि देउवा निवास बुढानीलकण्ठ पठाएका थिए। केही दिनअघिसम्म विवाद मिलाउने विषयमा छलफल गर्न अस्वीकार गर्दै आएका देउवाले केन्द्रीय विभाग, समिति र केन्द्रीय सदस्य मनोनयन सहमतिका आधारमा गर्ने सभापतिको प्रस्तावलाई सकारात्मक भन्दै छलफलका सुरु गरेका हुन्।
देउवा निकटस्रोतका अनुसार सभापति कोइरालाले सिटौलामार्फत गठन हुन बाँकी केन्द्रीय विभाग, समिति, कार्यसम्पादन र भ्रातृ संस्थाको महाधिवेशन तयारी समितिमा दुवै नेताको सहमतिमा नियुक्त गर्ने प्रस्ताव ल्याएका छन्।
'सभापतिको प्रस्तावमा सकारात्मक छलफल सुरु भएको छ,' देउवा निकट एक नेताले नागरिकसँग भने, 'पार्टीका गठन हुन बाँकी विभाग, समिति, कार्यसम्पादन र भ्रातृसंस्थामा प्याकेजमा सहमति भए विवाद टंुगिन्छ।'
पार्टीको आन्तरिक विवादका विषयमा सिटौला र देउवा दुईजनामात्र बसेर छलफल भएको थियो। स्रोतका अनुसार देउवाले आफूले पटकपटक गरेको सहमति कोइरालाले पालना नगरेकाले विश्वासको वातावरण बने सहमति हुन सक्ने आश्वासन सिटौलालाई दिएका छन्। 'केन्द्रीय विभाग, समिति र भ्रातृसंस्था गठनका विषयमा जे सहमति हुन्छ, त्यो लगत्तै लागू हुने सर्तमा विवाद टुंगिने सम्भावना छ,' स्रोतले भन्यो।
यसअघि देउवाले भ्रातृसंस्था विघटनको निर्णय फिर्ता नलिएसम्म सहमति हुन नसक्ने अडान राख्दै आएका थिए। पार्टीको आन्तरिक विवाद लम्ब्याएर कसैलाई फाइदा नपुग्ने, बरु पार्टी थप कमजोर बन्ने भन्दै सिटौलाले सभापति कोइरालासँग छलफल गर्न आग्रह गरेका थिए। 'आन्तरिक विवाद मिलाउने प्रयास थालिएको छ, उहाँले (शेरबहादुर देउवा) ले साथीहरूसँग छलफल गर्छु भन्नुभएको छ,' कोइराला निकट एक नेताले भने। देउवाले भने पार्टी विवाद मिलाउने बढी जिम्मेवारी सभापतिमै रहेकाले उहाँले नै पार्टी एक बनाउँछु भन्ने दृढता लिनुपर्ने बताएका थिए।
सोमबार देउवा पक्षीय केन्द्रीय सदस्य र सभासद् भेलाले सभापतिले विवाद मिलाउन नखोजेको निष्कर्ष निकालेको थियो।
उक्त भेलामा सहमतिका लागि कार्यसम्पादन, संसदीय समिति र केन्द्रीय विभागलगायतमा आधा प्रमुख र सदस्यहरू आफूहरूले पाउनुपर्ने निष्कर्ष निकालेको थियो। मनोनीत हुन बाँकी पाँच केन्द्रीय सदस्यमा सबै आफूहरूले पाउनुपर्ने पनि भेलाको ठहर थियो।
स्रोतका अनुसार सिटौलाले केन्द्रीय विभाग र कार्यसम्पादन समितिमा कुनै समस्या नहुने बताउँदै भ्रातृसंस्थामा नयाँ व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने प्रस्ताव देउवासमक्ष राखेका थिए। देउवाले भने विघटित भ्रातृसंस्थाको महाधिवेशन तयारी समितिमा यसअघिका अध्यक्षहरूलाई नै जिम्मेवारी दिएर महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण गराउनुपर्ने बताएका थिए। 'उहाँले भ्रातृसंस्थामा पहिलेकै अध्यक्षहरूलाई महाधिवेशन गराउने जिम्मेवारी दिनुपर्छ भन्नुभयो, हामीले उनीहरूलाई गठन हुने विभागमा पनि जिम्मेवारी दिन सकिने भएकाले नयाँ व्यक्तिलाई जिम्मेवारी दिन प्रस्ताव गरेका छौं,' कोइरालानिकट ती नेताले भने, 'चाँडै दुवै नेताबीच छलफलबाट सहमतिमा जानेगरी विवाद टुंगो लाग्ने विश्वास देखिएको छ।'
कांग्रेसमा दसैंअघिको केन्द्रीय समिति बैठकले देउवा पक्षीय सदस्यहरूको बहिस्कारबीच चार भ्रातृसंस्था तरुण दल, महिला संघ, प्रजातन्त्र सेनानी संघ र आदिवासी जनजाति संघ विघटन गरेपछि विवाद चुलिएको थियो।
देउवा पक्षीय सदस्यहरूको बहिस्कारका बीच बहुमतका आधारमा भ्रातृसंस्था विघटन गर्ने निर्णयको विरोधमा चारै भ्रातृसंस्थाले दस दिनसम्म पार्टी मुख्यालयमा आमरण अनशन गरेका थिए। मानवीय संवेदनालाई समेत बेवास्ता गरी अनशन तोडाउन सभापतिले पहल नगरेको भन्दै देउवाले केन्द्रीय सदस्यबाट राजीनामा गरी अनशन तोडाएका थिए। देउवाले राजीनामा गरेपछि कांग्रेस विवाद दुई नेताबीच बोलचालै बन्द हुनेगरी झांगिएको थियो।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page