काठमाडौं, मंसिर १६ - सरकारले हामसम्म गरिएका संकलिन नमूना परीक्षण गर्दा एभियन एन्फ्लुएन्जा (बर्डफ्लु) नभेटिएको दाबी गरेको छ ।
पशु सेवा विभागले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी राजधानी तथा बाहिरका जिल्लामा बर्डफ्लु नभएको दाबी गर्दै पशुजन्य वस्तु उपभोग गर्न आग्रह गरेको छ ।
'हालसम्म मुलुकका अन्य भागबाट संकलित नमूना परीक्षण गर्दा कतै पनि रोगको संकेत पाइएको छैन,' विभागका महानिर्देशक नरबहादुर रजवारले भने, 'रोग नियन्त्रण भइसककोले पन्छी तथा पन्छीजन्य पदार्थहरु मानव सेवनको लागि सुरक्षित रहेकाले निर्वाधरुपमा उपभोग गर्न अनुरोध गर्दछौं ।'
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका- १६ लोकन्थली मनहारा खोला किनारमा चन्द्रबहादुर तामाङको कुखुरामा बर्डफ्लू देखिएपछि उच्च सतकर्ता अपनाइएको थियो । त्यस क्षेत्रलाई संक्रमण क्षेत्र घोषणा गरी पन्छीजन्य पदार्थ तथा रोग सर्न सक्ने सामाग्रीहरु नष्ट गरिएको थियो ।
पशु सेवा विभागका अनुसार त्यस क्षेत्रका २९ धनीका २ सय ३२ हाँस, ७६ कुखुरा, १४ अण्डा र दुई केजी दाना नष्ट गरिएको थियो । रजवारका अनुसार सरकारले त्यस क्षेत्रका व्यवसायीलाई ३९ हजार ८ सय ६२ रुपैयाँ क्षतिपूर्ति दिइसकेको छ ।
यसैबीच विभागले भक्तपुरको लोकन्थली पश्चिमपट्टीको ढिकको तल्लो भाग, पश्चिम मनहरा खोला, उत्तर सुकुम्बासी टोलको दक्षिण सिमाना र दक्षिणमा अरनीको राजमार्गको उत्तरी किनारासम्मको क्षेत्रमा ४२ दिनसम्म पन्छी पाल्न, पन्छीजन्य सामाग्रीको भण्डारण गर्न, उपयोग, विक्री वितरण तथा ओसारपसार गर्न रोक लगाएको छ ।
