काठमाडौं, पुस २ - सरकारले तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको हत्याबारे छानबिन गर्न न्यायिक आयोग गठन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश मोहन सिटौलाको संयोजकत्वमा डीआईजी विज्ञानराज शर्मा र सह न्यायाधीवक्ता कृष्णप्रसाद पौडेल सदस्य रहेको आयोग गठन गरेको हो ।
सरकारले पौडेलको निधनप्रति दुःख व्यक्त गर्दै परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले कांग्रेसलाई सोमबारका लागि आहृवान गरिएको नेपाल बन्द फिर्ता लिन आग्रह गरेको छ ।
कांग्रेसले पौडेल, प्रमिश राईलगायतमाथिको झुटा मुद्धा फिर्ता, सहिद घोषणा, उचित क्षतिपूर्ति, न्यायिक आयोग र दोषिमाथि कारबाहीको माग गर्दै आएको छ । उसले हत्याविरुद्ध सोमबार नेपाल बन्द आहृवान गरेको छ ।
यसअघि उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारले परिवारको मागलाई सरकारले सम्वोधन गर्ने बताएका थिए । उनले यसबारे अपरान्ह प्रधानमन्त्री बाबुराम भट्टराईसँग छलफल गरेका थिए । 'कांग्रेस र परिवारको न्यायोचित् मागलाई सरकारले सम्वोधन गर्छ,' उनको भनाइ थियो ।
पौडल परिवारद्वारा कांग्रेस चितवन सभापतिलाई कारबाही माग
नत्र शव बुझ्दैनौं : मृतकका दाजु
कोइरालाद्वारा आरोपको छानबिन गर्न माग
तरुण दल चितवनका अध्यक्ष शिव पौडेलका परिवारले कांग्रेस चितवन सभापति विकास कोइरालालाई कारबाही गर्न माग गरेका छन् ।
पौडलमाथि झुटा मुद्धा लगाउन कोइराला पनि सहयोगी भएको भन्दै परिवारजन तथा केही कार्यकर्ताहरुले कोइरालालाई कारबाही गर्न माग गरेका छन् । 'कोइरालालाई कारबाही र भाइमाथिको झुटा मुद्धा फिर्ता नभएर शव उठाउन्नौं,' दाजु तारा पौडेलले भने ।
उपचारकोक्रममा काठमाडौंस्थित न्यूरो अस्पतालमा निधन भएका पौडेलको शव शनिबार नै पोस्टमार्टम भएको छ । अस्पतालमा कांग्रेस नेता, कार्यकर्ता र आफन्तजनको भीड लागेको छ ।
अस्पताल पुगेका कांग्रेस नेता शेरबहादुर देउवाले पनि आफन्तको कुरा सुनेपछि चितवन सभापति विकास कोइरालालाई कारबाही गर्न सभापति सुशील कोइरालासमक्ष माग गरेका छन् ।
पौडेलको मृत्युपछि चितवन कांग्रेसमा पनि विवाद देखिएको छ । सभापति कोइरालाप्रति आक्रोस बढेपछि जिल्ला समितिको बैठक सचिव देवेन्द्र गुरुङको निवासमा बसेको छ ।
आफन्तले पौडेलमाथिको झुटा मुद्धा फिर्ता, सहिद घोषणा, उचित क्षतिपूर्ति, न्यायिक आयोग र दोषिमाथि कारबाहीको माग गरेको पौडेलले बताए । उनका अनुसार सरकारले आफ्ना माग पूरा गरे पौडेलको शव शनिबार नै चितवन लैजाने र आइतबार देवघाटमा अन्तिम संस्कार गरिने छ ।
कोइरालाद्वारा आरोपको छानबिन गर्न माग
तरुण दल चितवन अध्यक्ष शिव पौडेलका परिवारले झुठा मुद्धा लगाउन सहयोग पुर्याएको आरोप लगाएपछि कांग्रेस जिल्ला सभापति विकास कोइरालाले आरोप छानबिनका लागि पार्टी केन्दि्रय समिति समक्ष माग गरेका छन् ।
उनले सञ्चारमाध्यामलाई परिवारले आरोप लगाएको अवस्थामा पार्टीले छानबिन गर्नुपर्ने र आफू सफाइ दिन तयार भएको बताए । 'छानबिन होस्,' उनले भने, 'सबै आरोप 'फेस' गर्न तयार छु ।'
पार्टी भित्र मत मतान्तर हुन सक्ने बताउँदै उनले घटनासित जोडेर आफूलाई असफल बनाउने तत्त्व सक्रिय बनेको आरोप लगाए ।
तरुण दल चितवन अध्यक्ष पौडेलको मृत्यु
कारागारमै सुतेकाबेला भएको आक्रमणमा घाइते तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको शनिबार बिहान मृत्यु भएको छ ।
जिल्ला कारागार चितवनमा गत मङ्सिर २० गते भएको आक्रमणमा गम्भीर घाइते भएका पौडेलको काठमाडौंको न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनको निधनबारे अस्पतालले बिहान ९ बजे आधिकारिक घोषणा गरेको हो ।
कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार गराइरहेका पौडेललाई थप उपचारका लागि यही मङ्सिर २८ गते काठमाडौं ल्याइएको थियो ।
कारागारभित्र घटना हुँदासमेत सुरक्षा दिन नसकेको भन्दै चितवनका निमित्त प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, कारागारका प्रहरी इन्चार्ज र जेलरको निलम्बन गरिएको थियो ।
युवा संघ कार्यकर्ता सञ्जय लामाको हत्या आरोपमा पुर्पक्षमा थुनामा रहेका पौडेललाई कारागारमै रहेका कैदीले घरेलु सर सामानले आक्रमण गरेका थिए ।