प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसले सोमबारका लागि आह्वान गरेको बन्द फिर्ता गराउन बसेको मधेसी मोर्चासहितको बैठक बिनानिश्कर्ष टुंगिएको छ ।बिघटित तरुण दलका चितवन अध्यक्ष शिव पौडेललाई सहिद घोषणा गर्नुपर्ने र उनीलगायतका बिरुद्ध लगाइएको मुद्दा फिर्ता गर्नु पर्ने मागमा काँग्रेस अडिग रहेपछि सहमति हुन नसकेको हो ।प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलका अनुसार मुद्दा फिर्ता लिने बिषयमा विचार गर्न सकिने भए पनि सहिद घोषणामा कुरा नमिलेको जानकारी दिए । ‘मुद्दा फिर्ता लिने बिषयमा सरकारको ध्यानाकर्षण भएको छ, अन्यायमा परेको भए विचार गर्न सकिन्छ भन्ने कुरा सरकारले गर्यो’ उनले भने, ‘तर कांग्रेसले पौडेललाई सहिद घोषणा गर्ने अडान राख्यो । सहिद घोषणा गर्दा गलत नजिर कायम हुन्छ भन्ने हाम्रो भनाइ रह्यो ।’प्रधानमन्त्री बाबुराम भट्टराईले काँग्रेसलाई मनाउन गरेको प्रयास विफल भएपछि साँझ माओवादी, काँग्रेस, एमाले र मधेसी मोर्चाबीच बैठक बसेको थियो । तर, उक्त बैठकमा पनि सहमति नभएपछि काँग्रेस केन्द्रीय समितिले सोमबारको बन्द सफल बनाउने निर्णय गरेको छ । त्यस्तै बैठकमा विचाराधिन रहेको नागरिकताक बिद्ययेकबारे पनि छलफल भएको थियो । त्यसमा गृह, कानुन मन्त्रालय र कानुनबिद्संगको परामर्शमा नागरिकता बिध्येक वा नागरिकता दिने बिषयमा टुंगो लगाउने चार दलले सहमति गरेका छन् ।
चितवन घटना राज्यको संरक्षणमा : कांग्रेस नेता महत
जातीय संघीयतामा गए नाइजेरिया बन्ने
काँग्रेस नेता रामशरण महतले विघटित तरुण दलका चितवन अध्यक्ष शिव पौडेलमाथिको आक्रमण राज्यको संरक्षणमा भएको आरोप लगाएका छन् । चितवनमा तरुण दल मौलाउदै गएकाले त्यसलाई परास्त पार्न प्रशासनको सहयोगमा पौडेललाई आक्रमण गरिएको उनले बताए ।
‘तरुण दलको शक्तिलाई परास्त पार्न राज्यको संरक्षणमा न्यायिक हिरासतमा रहेका मान्छे माथि गरिएको सुनियोजित अपराध हो’ उनले भने । पौडेललाई जुन आरोपमा थुनामा राखिएको थियो त्यो पनि झुटो मुद्दा रहेको भन्दै त्यसलाई प्रमाणित गर्ने पूर्ण दस्तावेज रहेको नेता महतले बताए ।
प्रेस युनियन लमजुङको बार्षिक साधारण सभालाई सम्बोधन गर्दै नेता महतले संघीयतामा जाँदा ५/६ वटा भन्दा बढी राज्य नहुनेसमेत ठोकुवा गरे । आफू पटक पटक अर्थमन्त्री भैसकेकाले देशको कुन ठाउँमा के कति स्रोत छ बास्तविकता बुझेको तर्क राख्दै उनले जति धेरै संघ भए उति नै आर्थिक भार बढी पर्ने भएकाले सक्दो कम संघ बनाउनुपर्नेमा जोड दिए ।
‘म ५ पटक अर्थमन्त्री भएर ६ पटक बजेट पेश गरिसकेको छु, त्यसैले मैले देशको यर्थाथ स्थिति बुझेका् छु’ उनले भने, ‘५ करोड अम्दानी गरेर ६ करोडको खर्च गर्ने संघीयतामा लाग्ने हो भने मुलुक कहिल्यै उभो लाग्दैन ।’
अहिले भनिदै आएको १४ प्रदेश भौगोलिक रुपले पनि अति त्रुटिपूर्ण रहेको उनले तर्क गरे । उनले कांग्रेस जसरी पनि संघीयतामा जाने तर जातीय आधारमा कुनैपनि हालतमा नजाने दावी गरे । जातीय आधारमा संघ बने नाइजेरिया जस्तै पटक/पटक राज्य खण्डिकृत हुने उनले दावी थियो । ‘म ठोकुवा गर्छु, विश्वमा जातीय आधारमा भएका संघीयता कालन्तरमा टुक्राटुक्रा भएका छन्, हाम्रो पनि त्यही दुरदर्शा हुनेछ ।’
नाइजिरियाको उदाहरण दिंदै उनले भने, '३ वटा संघमा विभाजित नाइजेरिया पछि ८/१३ हुदै २८ वटा राज्य बन्न पुगेको छ । त्यसैले जातीय संघियताले अर्को गृहयुद्ध अवश्य निम्त्याउछ ।’
काँग्रेसद्वारा विभिन्न जिल्लामा राँके जुलुस प्रदर्शन
बिघटित तरुण दलका चितवन अध्यक्ष शिव पौडेललाई शहिद घोषणा र उनीलगायतलाई लगाइएको हत्या अभियोग खारेजको माग गर्दै देशभरका वितभिन्न जिल्लामा काँग्रेसले आइतवार साँझ मसाल जुलुस गरेको छ ।
ईकान्तिपुरका बिभिन्न जिल्लामा रहेका सहकर्मीहरुले ति जिल्लाहरुमा काँग्रेसले सोमबारको बन्द सफल बनाउन आह्वान गर्दै बन्द आयोजना गरेको हो । काभ्रेका काँग्रेस कार्यकर्ताले पाँचखाल, धुलिखेल, बनेपा, पनौती, मंगलटार, कुशादेवि, ढुखर्क लगायतका १४ स्थानबाट मसाल जुलुस निकालेका थिए ।
त्यसैगरी चितवनमा साँझ साढे ५ बजे नारायणगढको लायन्स चोकबाट निश्किएको जुलुस शहिदचोक हुदै पुल्चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै तरुण दलका नेताहरुले भोली हुने बन्दलाई पूर्ण रुपमा सफल पारिदिन सबैसंग आग्रह गरेका छन् ।
चितवनमा आइतवार पनि बन्द थियो । बन्दका क्रममा विभिन्न स्थानहरुमा तोडफोड भएको छ । बन्दको क्रममा भरतपुर नगरपालिको गाडी र कार्यालयमा, रत्ननगर टाँडीको नेपाल बैंक, दुरसञ्चार कार्यालय बकुलहर, नेपाल विद्युत् प्राधिकरण टा“डी, नेपाल बैंक पर्सा शाखा, नारायणगढमा दुईवटा मेडिकलहरुमा तोडफोड गरिएको छ ।
त्यस्तै पर्सा बजारका पसलहरुमा पनि बन्दकर्ताहरुले आइतवार दिउसो तोडफोड गरेका छन् ।
सिन्धुलीमा पनि कांग्रेस कार्यकर्ताले मशाल जुलुस निकालेका छन् । लोकतान्त्रिक चौरबाट शुरु गरिएको विरोध सहितको मशाल जुलुस सदरमुकाम सिन्धुलीमाढीको एक नंबर बजार र दुइ नंबर बजार परिक्रमा गरेको थियो ।
कांग्रेस कार्यकर्ताहरुले हत्यारा सरकार राजीनामा दे, गृहमन्त्री राजीनामा दे, भोलीको बन्द सफल पारौं, हत्या गरिएका पौडेललाइ शहिद घोषणा गर जस्ता नारा लगाएका थिए । सदरमुकामको अलावा सिन्धुलीकै भिमान, खुर्कोट, डकाहा लगाएतका स्थानमा समेत विरोधमा मशाल जुलुस निकालिएको छ ।
माग पुरा नभएको भन्दै काँग्रेसको बन्द यथावत
काँग्रेसले सोमबारका लागि आह्वान गरेको बन्द यथावत रहेको जनाएको छ । सभापति सुशील कोइराला निवासमा आइतवार दिउँसो पत्रकार सम्मेलन गरी आफ्ना मागहरु पुरा नएको भन्दै बन्द यथावत रहेको घोषणा गरेको हो ।
आन्दोलन तयारी समितिमा संयोजक दिपक गिरीले कोइराला निवासमा गरेको पत्रकार सम्मेलनमा सरकारले माग पुरा नगरेकाले बन्द कार्यक्रम यथावत रहेको उल्लेख गर्दै सबैलाई सहयोगको लागि अपील समेत गरे ।
काँग्रेसले शनिबार मृत्यु भएका विघटित तरुण दलका चितवन अध्यक्ष शिव पौडेललाई शहीद घोषणा गर्नु पर्ने र उनीलगायत माथि लगाइएको हत्या अभियवऊ फिर्ता लिनुपर्ने माग गरेको थियो ।
यस बिषयलाई लिएर आइतवार दिउँसो प्रधानमन्त्री बाबुराम भट्टराईसंग भएको छलफल सकरात्मक नभएको भन्दै बन्द घोषणालाई सफल पार्न आह्वान गरेको हो ।
प्रेस बिज्ञप्तिको पूर्ण पाठ:
अपील
नेपाल तरुण दल चितवनका अध्यक्ष शिवप्रसाद पौडेल लगायतका तरुण साथीहरुमाथि बन्दी अवस्थामा योजनावद्ध तवरले सरकारकै संलग्नतामा भएको आक्रमणबाट उपचारका क्रममा शिवप्रसाद पौडेलको मृत्यु भएको घटनाले सिङ्गो पार्टी र मुलुकलाई नै स्तब्ध बनाएको छ। नेपाल महिला संघद्वारा आयोजित तीजको कार्यक्रममा सहभागी रहेका निर्दोष पौडेललाई सोही समयमा अन्यत्र घटित भएको घटनामा मुछि नियोजित रुपमा झुटा मुद्दामा फसाउने र प्रशासनले नै जेलका कोठा खोली हत्या गर्न लगाएको यस घटनाको नेपाली कांग्रेस घोर भर्त्सना गर्दछ ।
नेपाल तरुण दल, चितवनका अध्यक्ष शिवप्रसाद पौडेलको मृत्युले थुप्रै प्रश्नहरु सिर्जना गरेको छ । यो घटना एक्लो शिवप्रसाद पौडेलको मात्र होइन, आम नागरिक र जेल भित्र रहेका सिङ्गो कैदीहरुको सुरक्षासँग पनि गाँसिएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको हिजो बसेको आकस्मिक बैठकले- उक्त घटनाको छानविनको लागि न्यायिक आयोग गठन, दोषीहरुमाथि कडा भन्दा कडा कार्वाही, शिवप्रसाद पौडेललाई शहीद घोषणा र क्षतिपूर्ति, शिवप्रसाद पौडेल र प्रमिश राई लगायतका निर्दोष व्यक्तिहरुमाथिको झुट्ठा अभियोग तत्काल फिर्ता लिइयोस् भनी २०६८ पौष ४ गते देशव्यापी रुपमा शान्तिपूर्ण बन्दको आह्वान गरेको छ । यस बन्दलाई सफल बनाउन लोकतन्त्रवादी सम्पूर्ण जनसमुदायमा उद्योग, कलकारखाना, यातायात, शैक्षिक संस्था, बजार पूर्ण रुपमा बन्द गरी हाम्रो कार्यक्रमलाई समर्थन र ऐक्यवद्धता जनाइदिन नेपाली कांग्रेस सबैमा अपिल गर्दछ। यो पूर्णतः शान्तिपूर्ण बन्दको कार्यक्रम भएकोले उक्त दिन रेडक्रस, एम्वुलेन्स, शव वाहन, स्वास्थ्य सेवाका साधान, फोहर बोक्ने साधान, दुग्ध बोक्ने साधन, पर्यटकीय वाहन, कुटनीतिक नियोगका साधान, प्रेस, मानव अधिकारकर्मीका सवारी साधनलाई कुनै पनि वाधा अवरोध नपुर्याउन र कुनै पनि किसिमका तोडफोड नहुन दिन पार्टीका सबै निकाय, भातृ एवं शुभेच्छुक संस्थाका साथीहरुलाई नेपाली कांग्रेस हार्दिक आग्रह गर्दछ।
जय नेपाल !
वसन्तकुमार गौतम
मुख्य सचिव