भिडन्त रोक्न प्रहरी पनि जेलभित्र


चितवन मङ्सिर २७- क्षमताभन्दा बढी कैदी बन्दी रहेको भरतपुर कारागारमा दोहोरो आक्रमण रोक्न कैदीसँगै प्रहरी राखिएको छ। १ सय ५० क्षमताको कारागारमा दोब्बर बढी ३ सय ८७ कैदी बन्दी  छन्।

कारागारमा बन्दीहरु पक्ष विपक्षमा विभाजित भएकाले संभावित दोहोरो आक्रमण रोक्न उनीहरुसँग प्रहरी राखिएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर कार्कीले बताए।
'एक पक्षले अर्को पक्षमाथि आक्रमण गर्ने वातावरण प्रष्ट देखिएको छ,' कार्कीले भने, 'त्यसैले जतिबेला पनि फेरि अर्को आक्रमण हुने आशंकामा भित्रै प्रहरी तैनाथ गरिएको हो।'
कारागार प्रमुख भुपालकुमार भण्डारीका अनुसार बिनाहतियार दश प्रहरीलाई कैदीका साथ राखिएको छ। उनीहरुले भित्रको वातावरणका बारेमा अन्य प्रहरीहरुलाई पनि अवगत गराउने गरेका छन्। कारागार परिसरमा पनि अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ७० बढी प्रहरी तैनाथ छन्।

कारागार प्रशासनले बढी कैदीभएकैले पछिल्लो आक्रमणको घटना घटेको बताउँदै आएको छ। एक कर्मचारीले भने, 'ठाउँ भएकै त्यति हो एकै ठाउँ राख्दा कतिखेर झगडा हुन्छ थाहा नै हुँदैन।'

 
तरुण दलका नेतालाई आक्रमण गर्ने कैदीलाई काठमाडौँ पठाइयो
कारागारभित्र रहेका थुनुवा शिव पौडेल सहितलाई आक्रमण गर्ने आरोपीहरुसहित १२ कैदीलाई सुरक्षाका कारण काठमाडौँको केन्द्रीय कारागार पठाइएको छ।
कारागारभित्रै आक्रमण भएको सात दिनपछि यहाँका बन्दीलाई केन्द्रीय कारागार पठाइएको हो। कारागार व्यवस्थापन विभागले आक्रोशमा अर्को घटना नहोस् भनेर उनीहरुलाई काठमाडौँ झिकाएको प्रहरी प्रमुख भुपालकुमार भण्डारीले बताए।
काठमाण्डौ लगिएकाहरुमा पौडेल आक्रमणका आरोपीहरु सुनिल केसी, सुरज श्रेष्ठ छोइला, विवेक गुरुङ, शरण गुरुङ, दिलबहादुर लामा, सुनिल गुरुङ, अमिर गुरुङ, फणिन्द्र श्रेष्ठ छन्। उनीहरु शिव पौडेलका भाइ गोपी पौडेल हत्या अभियोगमा ज्यान मुद्दा खेपिरहेका थिए।
ती बाहेक अन्य मुद्दा शक्ति प्रजा,अमजद खान,विवेक गुरुङ लागु औषध मुद्दाका प्रकाश तामाङ वन सम्बन्धी मुद्दाका सचेन्द्र राईलाई पनि काठमाडौँ लगिएको छ। उनका अनुसार संभावित सुरक्षालाई मध्येनजर गर्दै कारागारबाट केन्द्र पठाइएको हो।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page