सरकारी रकम ठगेर माओवादीले ठूलो भ्रष्टाचार गर्‍यो : उपसभापति पौडेल


पोखरा, मंसिर १६- कांग्रेस उपसभापति रामचन्द्र पौडेलले फर्जी लडाकूको नाउँमा राज्यको ढुकुटीबाट रकम ठगेर माओवादीले 'सबैभन्दा ठूलो' भ्रष्टाचार गरेको बताएका छन्। 'माओवादीले सरकारी रकम ठगेर सबैभन्दा ठुलो भ्रष्टाचार गरेको छ', शुक्रबार कास्की लेखनाथमा पौडेलले भने।
उनले ६ हजार ५ सय भन्दा बढी एक जना लडाकु पनि सुरक्षा निकायमा समायोजन गर्न नसकिने बताए। उनले माओवादी नेतृत्वले आश्वासन दिँदैमा सहमति बेगर बढी लडाकु समायोजन गर्न नसकिने स्पष्ट पारे।
मौखिक रुपमा भित्रि सम्झौता ६ हजार जनाको लागि भएको र लिखित सम्झौतामा बढिमा ६ हजार ५ सय लडाकु मात्र समायोजन गर्ने उल्लेख भएको बताउँदै पौडेलले भने, 'कसैले भन्दैमा लडाकु थपिने होईनन, एक जना पनि थप्न सकिँदैन।'
'लिखित सम्झौता ६ हजार ५ सय जनाको र मौखिक रुपमा ६ हजार लडाकुमात्र समायोजन गर्ने सहमति भएको हो' शुक्रबार लेखनाथमा कांग्रेस कार्यकर्तासँग पौडेलले भने- 'माओवादी बढी किचकिच गरेपछि ६ हजार ५ सय जनासम्म लडाकु समायोजन गर्न सकिने सहमति भएको हो।'
उनले माओवादीका नेताहरु शिविरमा जाँदैमा लडाकुको संख्या बढाउन नसकिने बताए। 'समायोजनको मापदण्ड दायाँबाँया हुँदैन, जे सम्झौतामा छ, त्यसबेगर चल्न सकिँदैन' उनले भने।
उनले माओवादी लडाकुहरुले दोहोरो भूमिका निभाएको गोप्य सूचना कांग्रेसलाई आएको जानकारी दिए। एकैजना लडाकुले बिहान स्वेच्छिक अवकास र बेलुकी समायोजनमा जाने भन्दै दोहोरो भूमिका निभाएको उपसभापति पौडेलले बताए।
'एकैजना लडाकुले बिहान एउटा र बेलुकी अर्को गरी दोहोरो भूमिका निभाएका छन्, उनले भने, 'त्यसैले माओवादीसँग अहिले पनि पहिले भने जति संख्यामा लडाकु छैनन्, पैसाको लोभमा लागेर संख्या बढाएको हो।'
उपसभापति पौडेलले अघिल्लोपटक प्रमाणिकरण गर्दा अनमिन नै माओवादीको प्रभावमा परेको आरोप समेत लगाए। 'अघिल्लो पटक प्रमाणिकरण गर्दा नै अनमिन माओवादीको प्रभावमा पर्‍यो र पैसाको लोभमा हिसाबकिताब गडबढ गरेको हो' उनले भने- 'माओवादीसँगै हुँदै नभएको संख्या बढाउन अनमिनले मुख्य भूमिका निभाएको हो।'
माओवादीले लडाकु संख्या बढाएर उनीहरुको नाममा सरकारी रकम दुरुपयोग गरेको उनले बताए। पौडेलले आफु शान्तिमन्त्री हुँदा माओवादीले लडाकुको नाममा रकम दुरुपयोग गरेको थाहा पाएपछि त्यसलाई रोक्न लडाकुको बैंकखाता खोलेर भत्ता दिने व्यवस्था मिलाउन खोजेपनि सरकार परिवर्तन भएर रोकिएको बताए।
'मैले सबै लडाकुको बैंकखाता खोलेर उनीहरुलाई बैंकमार्फत रकम दिने व्यवस्था मिलाउन खोजेको हुँ' उनले भने- 'तर तुरुन्तै सरकार परिवर्तन भयो, अनि माओवादीले एकलौटी गर्‍यो।' उनले माओवादीले लडाकुको नाममा अहिलेसम्म करिब २ अर्ब रुपैयाँ सरकारी रकम ठगि गरेको आरोप लगाए।
माओवादीले अहिले स्वेच्छिक अवकास लिन खोज्ने लडाकुसँग पनि आधा पैसा मागेको सूचना पाएको पौडेलले बताए। 'अहिले शिविरबाट बाहिरीले लडाकुसँग आधा पैसा मागेर माओवादीले आफ्नै कार्यकर्ता ठग्न गईरहेको छ' उनले भने- 'लडाकु संख्या बढि देखाएर रकम धेरै लिने र आफ्नै लडाकुसँग पैसा मागेर माओवादीले दलाली काम गरेको छ।'
संविधानसभाको म्याद ६ महिना भन्दै अन्तिम मौका दिने सर्वोच्च अदालतको आदेशलाई कांग्रेसले पालना गर्ने उपसभापति पौडेलले बताए। 'कांग्रेसले अदालतको आदेशको सम्मान गर्छ, हामीलाई सर्वोच्चको आदेशप्रति कुनै आपत्ति छैन' पौडेलले भने।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page