व्यापार बढाउन सस्ता कार ल्याउँदै बिक्रेता


काठमाडौं, मङ्सिर १५- महँगा सवारी साधन बिक्री कम भएपछि कार बिक्रेताहरुले मध्यम वर्गलाई लक्ष्य गर्दै नयाँ मोडलका सस्ता र छरिता गाडी ल्याउने भएका छन्।
अंग्रेजी नयाँ वर्षको अवसर पर्ने गरी सस्ता कार ल्याउन लागिएको हो।
अमेरिकी डलर र जापानी यानको मूल्य बढ्नु, बैंकको महँगो ब्याज, घरजग्गालगायत व्यवसायमा समस्यालगायतले २५ लाख रुपैयाँभन्दा माथिका कारको बिक्री घटेको छ।
कार भित्रिने नेपालको प्रमुख वीरगन्ज भन्सारको तथ्यांकले पनि भारतबाहेक अन्य देशबाट आउने गाडी घटेका छन्।
भारतबाट आउने सस्ता गाडीको आयातमा भने केही सुधार भएको भन्सारले जनाएको छ। सरकारलाई एउटा कार ल्याउँदा २ सय ४० प्रतिशतसम्म राजस्व तिर्नुपर्ने भएकाले पनि नेपालमा कार महँगो छ।
नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन(नाडा)का अनुसार अहिले कारको बिक्री ४० प्रतिशतले घटेको छ। सस्ता गाडी बजारमा आएपछि कारको बिक्रीमा सुधार हुने बिक्रेताको अपेक्षा छ।
केही वर्षदेखि नेपालको कार बजारमा आफ्नो बजार हिस्सा बढाउँदै लगेको हुन्डाईले आगामी जनवरीदेखि सबैभन्दा अहिले बिक्री गर्दै आएभन्दा सस्तो कार बजारमा ल्याउने भएको छ। भारतीय बजारमा बिक्री सुरु गरी राम्रो सफलता हासिल गरिसकेको दाबी गर्ने 'हुन्डाई इयोन' कार जनवरीबाट नेपालमा किन्न पाइने छ।
'न्यु इयरलाई लक्ष्य गर्दै इयोन बजारमा ल्याउन लागेका छौं,' हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका बजार प्रबन्धक रुपेश भट्टले भने, 'यो हाम्रो इन्ट्री लेबल कार हुनेछ।' ह्याचव्याक समूहको यो कार ८ सय १४ सिसी इन्जिन क्षमताको हो।

पाँच जनाले यात्रा गर्न मिल्ने इयोन नेपाली मध्यम वर्गले रुचाउने कम्पनीको दाबी छ। प्रति लिटर पेट्रोलमा २१ किलोमिटरसम्म दुरी तय गर्न सकिने इयोन बजारमा आएपछि हुन्डाई कारको बिक्री अझ बढ्न सक्ने भट्टले बताए।
भारतीय बजारमा सस्तो इयोन कार मूल्य ३ लाख २५ हजार भारतीय रुपैयाँ पर्छ। नेपाली बजारमा हुन्डाईको यो कार अहिलेसम्मको सबैभन्दा सस्तो स्यान्ट्रोभन्दा सस्तो पर्नेछ। हुन्डाईले बिक्री गरिरहेको सबैभन्दा सस्तो स्यान्ट्रो मोडेल जिएल प्लसको मूल्य अहिले १७ लाख ३५ हजार पर्छ। यसैगरी स्यान्ट्रो जिएलएसको मूल्य भने १७ लाख ६६ हजार रुपैयाँ छ। हालसम्म हुन्डाईको स्यान्ट्रो नै 'इन्ट्री लेवल कार' रहँदै आएको छ।
भट्टले नयाँ वर्षमा नयाँ कार आउने तय भए पनि हालसम्म मूल्य तोकि नसकिएको बताए। कम्पनीले नयाँ वर्षलाई लक्षित गर्दै लग्जरी सेडान समुहको 'हुन्डाई एलान्ट्रा' मोडेल पनि बजारमा ल्याउँदै छ। यो भने गाडी शौखिनहरुका लागि उपयुक्त हुने मोडेल हो।
जापानी मुद्रा यानको मूल्य वढेकाले महँगो भएको जापानी कार कम्पनीका बिक्रेतामध्ये टोयोटाको बिक्रेताले पनि नयाँ वर्षमै सबैभन्दा सस्तो कार नेपाली बजारमा उतार्ने भएको छ।
आफ्नो बजार हिस्सा बढ्ने महत्वकांक्षाका साथ टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले सबैभन्दा सस्तो कार 'टोयोटा एटिएस लिभा' कार बजारमा ल्याउने भएको हो। यो कार नेपाली बजारमा टोयोटाको 'इन्ट्री लेबल कार' हुनेछ। 'जनवरीको अन्त्यतिर बजारमा यो कार आइसक्छ,' सिन्डिकेटका उप-निर्देशक कैलाश राजराजभण्डारीले भने, 'मध्यम वर्गीय नेपालीलाई लक्ष्य गर्दै यो कार ल्याउन लागिएको हो।'

भारतीय बजारमा ४ लाख २२ हजार भारतीय रुपैयाँदेखि उपलब्ध एटिएस भिभा कार नेपाली बजारमा हाल बिक्री भइरहेका टोयोटाको सस्ता गाडीभन्दा निकै कम मूल्यमा बजारमा आउन सक्ने कम्पनीले जनाएको छ। १ हजार २ सय सिसी इन्जिन क्षमताको यो कार भारतमा गत जुनमा औपचारिक बिक्री सुरु गरिएको थियो। यो कार एक लिटर पेट्रोलमा १५ किलोमिटर कुद्ने कम्पनीले जनाएको छ।
ह्याचब्याक समूहको यो कारलाई हुन्डाई आइटेन, मारुती स्विफ्ट, होन्डा ब्रिओलगायतको प्रतिस्पर्धी मानिएको छ। नेपाली बजारमा यो कारको मूल्य टोयोटाको सबैभन्दा सस्तो 'टोयोटा एभेन्जा'भन्दा निक्कै कम हुनेछ। टोयोटाको सबैभन्दा सस्तो एभेन्जा कारको मूल्य ३९ लाख ९५ हजार पर्छ। एभेन्जाकै अर्को मोडल भने ४६ लाख ५० हजारमा बिक्री भइरहेको छ।
नेपाली बजारमा अहिले टाटाले सबैभन्दा सस्तो नानो कार बिक्री गरिरहेको छ। नानोका तीन मोडल बजारमा उपलब्ध छन्। नानो स्ट्यान्डर्डको मूल्य ८ लाख ५८ हजार, नानो सिएक्सको मूल्य १० लाख २८ हजार र नानो एलएक्सको मूल्य ११ लाख ८८ हजार पर्छ।

टाटाको नानोभन्दा बढी मूल्यको सस्तो कार भने इन्डिका डिएलए हो। यसको मूल्य १४ लाख ९५ हजार पर्छ। नेपाली बजारमा मारुती सुजुकीको सबैभन्दा सस्तो कार-८००को मूल्य भने १० लाख ६८ हजार पर्छ। मारुती सुजुकीको अर्को सस्तो कार अल्टोको सुरुवाती मूल्य भने १३ लाख छ।
नेपालमा बिक्री भइरहेको मलेसियन कम्पनी पेरेडुवाको भिभा कार पनि सस्तोमा पर्छ। यसको सुरुवाती मूल्य १३ लाख ९५ हजार रुपैयाँ पर्छ। यो मूल्य ६६० सिसी क्षमतायुक्त कारको हो। ८ सय ५० सिसीको भिभाको मूल्य भने १६ लाख २५ हजार पर्छ।
विलासी कारको रुपमा चिनिएको फक्सवागनले पनि नेपाली बजारमा केही समयअघि आफ्ना सस्ता मोडलको बिक्री सुरु गरेको थियो। कम्पनीले पोलो र भेन्टो कारको बिक्री सुरु गरेको हो। फक्सवागनको सबैभन्दा सस्तो कार पोलोको मूल्य २२ लाख ९५ हजार पर्छ।
Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page