पेन्सन लगायत सुविधा वृद्धिको माग गर्दै बेलायतको स्कटल्यान्डमा कर्मचारीले गरेको विशाल प्रदर्शन । सरकारले आफ्ना माग पूरा नगरेसम्म आन्दोलन जारी रहने कर्मचारीले उद्घोष गरेका छन् भने सरकारले वार्ताबाट मात्र निकास निस्कने जिकिर गर्दै सहमतिको टेबलमा आउन आह्वान ग
बेलायत बुधबार अस्तव्यस्त भयो । शैक्षिक संस्थाहरू बन्द भए, अस्पतालको काम प्रभावित भयो । विमानस्थल राम्ररी सञ्चालन हुन सकेनन् । कारण थियो- निजामती कर्मचारीको हडताल ।
बेलायतमा सुविधा वृद्धिको माग गर्दै कर्मचारी युनियनहरूले हडताल गरेपछि पूरै मुलुक अस्तव्यस्त भएको हो । 'पुस्ताकै सबैभन्दा ठूलो हडताल' का कारण बेलायतका हजारौं विद्यायल बन्द भएका छन् । अस्पतालहरूले सम्पूर्ण सेवा ठप्प गरेका छन् । अदालत र सरकारी अधिकारीले आफ्नो सेवा बन्द गरेका छन् ।
पेन्सन सुविधा र तलब वृद्धि हुनुपर्ने माग गर्दै युनियनहरूले माग पूरा नभएरसम्म हडताल जारी रहने घोषणा गरेका छन् । सरकारले भने हडतालबाट समस्या समाधान नहुने भन्दै छलफलमा आउन आग्रह
गरेको छ ।
शिक्षा विभागका अनुसार बेलायतमा रहेको २१ हजार ७ सय शिक्षण संस्थामध्ये ५८ प्रतिशत बन्द छन् । १३ प्रतिशत शैक्षिक संस्था केही मात्र खुलेका छन् । स्कटल्यान्डमा रहेका २ हजार ७ सय शैक्षिक संस्थामध्ये ३० वटा मात्र खुला छन् । बेलायतका ठूला हिथ्रो र गेटविक विमानस्थल पनि सहज रूपमा सञ्चालन भएका छैनन् । विमानस्थलका अनुसार उडानमा समस्या आएको र केही उडान स्थगित समेत भएका छन् ।
नर्दन आयरल्यान्डमा बस र ट्रेन सेवा सञ्चालनमा आएका छैनन् । कर्मचारी युनियनहरूको अनुसार स्कटल्यान्डमा ३ लाख कर्मचारी हडतालमा उत्रिएका छन् । राष्ट्रिय स्वास्थ्य सेवा केन्द्रका व्यवस्थापनका अनुसार शल्यक्रियाका लागि समय लिएका ३० हजार बिरामीमध्ये ६ हजारले रद्द गरे ।
बिबिसीका प्रमुख राजनीतिक संवाददाता नोरमान स्मिथले स्वास्थ्यसचिव एन्डि्रयु ल्यान्सेलाई उद्धृत गर्दै शल्यक्रिया रद्द गर्ने बिरामीलाई १८ सातासम्म सेवा दिने सरकारी योजना रहेको जनाए । अझ सार्वजनिक यातायात सेवामा भएको हडतालले एम्बुलेन्स सेवा पाउन समेत बिरामीलाई गाह्रो भएको छ तर युनियनका नेताले अदालतका कर्मचारीले काम गरिरहेको दाबी गर्छन् ।
युवा स्टेफेन लवरेन्सकोको हत्या गरेको अभियोगमा दुई जना विरुद्धको मुद्दामा कुनै अवरोध नगर्ने उनीहरूले बताए । मन्त्रिपरिषद् कार्यालयका अनुसार ७ सयमध्ये १६ वटा रोजगार केन्द्र बन्द छन् । युनियनका अनुसार झन्डै २० लाख कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
प्रधानमन्त्रीका प्रवक्ताले सरकार राम्रो पेन्सन सुविधा दिन तयार भएको र यसका लागि छलफल आवश्यक भएको बताए । 'सानो संख्यामा कर्मचारी आन्दोलित छन्,' उनले भने ।
चान्सलर जर्ज ओसबोर्नेले हडतालबाट कुनै पनि उपलब्धि हासिल नहुने बताए । 'हडतालले कुनै परिवर्तन र उपलब्धि हासिल हुँदैन,' उनले भने, 'यसले अर्थतन्त्रलाई कमजोर र रोजगारको सम्भावना मात्र कटौती गर्छ ।'
सरकारले कर्मचारीको मागलाई गम्भीरतापूर्वक लिँदै वार्ता आउन अनुरोध गरेको छ ।
