आफ्नै श्रीमती गीता ढकालको हत्या शंकामा सशस्त्र प्रहरी बलका डिआइजी रञ्जन कोइराला पक्राउ परेका छन्। २७ पुसदेखि सम्पर्कबिहीन भएकी गीतालाई बेपत्ता पार्न कोइराला नै संलग्न भएको शंका गर्दै माइती पक्षले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएको थियो। सोही उजुरीका आधारमा काठमाडौं आउँदै गरेका कोइराला आज बिहान थानकोटबाट पक्राउ परेका हुन्।
तथ्य प्रमाण फेला परेपछि आइतबार पक्राउ गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका छन्। यसअघि अनुसन्धानका क्रममा एसपी राजेन्द्र श्रेष्ठले कोइरालासँग सोधपुछ गर्दा उनले गीता खराब आचरणको भएको बयान दिएका थिए। पक्राउ डिआइजी कोइरालासँग एसएसपीद्वय देवेन्द्र सुवेदी र राजेन्द्र श्रेष्ठले बयान लिइरहेका छन्।
गीतालाई बेवास्ता गर्दै कोइराला बाहिरी महिलाहरुसँग लागेको कारण परिवारमा लामो समयदेखि झगडा रहँदै आएको माइती पक्षको उजुरीमा उल्लेख छ। डिआइजी कोइराला केही समयपछि चीनमा सञ्चालन हुने सुरक्षा तालिमका लागि नेपाल सरकारको तर्फबाट छनौट भएका थिए। अचानक गीता बेपत्ता भएपछि उनको माइती पक्षले सुरक्षा तालिमको नाउँमा विदेश भाग्न सक्नेतर्फ प्रहरीलाई सचेत गराएको थियो।