हवाई यात्रा पनि महँगियो


 पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै आन्तरिक विमान कम्पनीले इन्धनबापत लिने रकम बढाएपछि हवाई यात्रा महँगिएको छ । नेपाल वायुसेवा सञ्चालक संघ (आयोन) ले शनिबार हवाई भाडामा जोडिने इन्धनबापतको मूल्यमा ५५ देखि १ सय ९० रुपैयाँसम्म बढाउने निर्णय गरेपछि हवाई भाडा महँगिएको हो ।
निर्णयबमोजिम बुद्ध एयरले बढेको मूल्य शनिबारदेखि नै समायोजन गरी नयाँ भाडादर निर्धारण गरिसकेको छ । त्यस्तै गुण र अग्नि एयरले आगामी मंगलबारदेखि बढेको मूल्य समायोजन गर्नेछन् । यतीले आगामी साताभित्र बढेको इन्धन मूल्य समायोजन गर्ने संघले जनाएको छ ।
आयल निगमले माघ ४ गतेदेखि अन्य पेट्रोलियम पदार्थसँगै हवाई इन्धनमा ५ रुपैयाँ बढाएर प्रतिलिटर १ सय ५ रुपैयाँ कायम गरेको छ । उडान सञ्चालन खर्चमा इन्धनको हिस्सा ३० प्रतिशतभन्दा बढी हुने भएकाले बढेको मूल्य समायोजन गर्न बाध्य हुनुपरेको विमान कम्पनी सञ्चालक बताउँछन् । यसअघि गत जेठ २ गते निगमले हवाई इन्धनको मूल्यमा १० रुपैयाँ बढाएर प्रतिलिटर एक सय रुपैयाँ बनाएको थियो । त्यति बेला विमान कम्पनीहरूले इन्धन मूल्यमा ६० देखि ८० रुपैयाँ बढाएका थिए ।
संघको शनिबार बसेको बैठकले सिमराका लागि पुरानो मूल्य -१ हजार १ सय २५) मा ५५ रुपैयाँ, भरतपुर -१ हजार ३ सय १० रुपैयाँमा ) ६५, जनकपुर -१ हजार ५ सय) मा ७५ र पोखरा -१ हजार ६ सय ८५) मा ८५ रुपैयाँ बढाउने निर्णय गरेको छ । त्यस्तै पर्वतीय उडानका लागि नेपाली र भारतीयले पुरानो मूल्यमा १ सय ८५ रुपैयाँ बढी तिर्नुपर्ने भएको छ । अन्य विदेशी पर्यटकका लागि इन्धन मूल्यमा ३ डलर बढाइएको छ ।
संघको निर्णयअनुसार भैरहवा -२ हजार ६०) र भद्रपुर -२ हजार ७ सय ५०) मा १ सय ५ रुपैयाँ बढेको छ । विराटनगर -२ हजार ३ सय १०) मा १ सय १५ रुपैयाँ, नेपालगन्ज -२ हजार ९ सय ३५) मा १ सय ५० र धनगढी -३ हजार ८ सय ७५) मा १ सय ९० रुपैयाँ बढेको छ ।
बढेको इन्धन मूल्यलाई 'नर्मल' फेयरसंगै विशेष योजनाअन्तर्गत दिइने सस्तो टिकटमा समेत समायोजन गरिएको छ । 'सिमराबाहेक सबै गन्तव्यमा सस्तो टिकट छ, तर त्यसमा बढेको इन्धन मूल्यलाई जोडिएकाले यात्रुले अब केही बढी तिर्नुपर्छ,' बुद्धका बजार प्रबन्धक रूपेश जोशीले भने ।
बुद्धले नेपालगन्जका लागि सस्तोमा ३ हजार २ सय ५० र विराटनगरका लागि २ हजार ७ सय ५० मा टिकट उपलब्ध गराउँथ्यो । अब सस्तो टिकटमा नेपालगन्ज जानेले ३ हजार ५ सयसम्म तिर्नुपर्नेछ । त्यस्तै विराटनगरका लागि टिकट मूल्यमा १ सय १५ जोडिने जोशीले
बताए । त्यस्तै धनगढीका लागि सस्तो टिकट किन्न ४ हजार ३ सय रुपैयाँसम्म तिर्नुपर्नेछ । 'इन्धन मूल्य घटे यसबापत लाग्ने रकम स्वतः घटाइनेछ,' उनले भने ।
विशेष योजनाअन्तर्गत ल्याएका सस्ता टिकटबाहेक 'नर्मल' भाडा भने सबै विमान कम्पनीको एउटै छ । गत वर्ष २०६७ मंसिर १५ गते सबै विमान कम्पनीले 'नर्मल' भाडामा एकरूपता कायम गरेका थिए ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page