देउवाका दस दाहिने


देउवाका दस दाहिने

 
वि सं २०४२ मा सत्याग्रह आन्दोलन थाल्नु केही समयअघि कांग्रेसले आफ्नो भ्रातृसंस्था नेपाल विद्यार्थी संघको नेतृत्व परिवर्तन गर्ने भयो। पार्टीका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला र उनीनिकटका अर्का नेता शेरबहादुर देउवा नेविसंघको नेतृत्व प्रकाशशरण महतलाई दिनुपर्ने पक्षमा थिए, जो त्यसबखत संघका महामन्त्री थिए। यसैका लागि देउवालाई साथ लिएर कोइराला कांग्रेसका तत्कालीन वरिष्ठ नेता गणेशमान सिंहको चाक्सीबारीस्थित निवासमा गए। कोइरालाले महतका विषयमा कुरा मात्र के गर्न खोजेका थिए, सिंहले संघको अध्यक्षमा बलबहादुर केसीको नाम उच्चारण गरिहाले।

सिंहले केसीको नाम तोकेपछि न कोइराला बोल्न सके, न त देउवा नै। त्यसपछि कोइराला लुरुलुरु जमलस्थित राष्ट्रिय नाचघर फर्किए। सिमसिम पानी परिरहेको थियो। कोइराला चुरोट तान्दै उभिएका थिए। त्यत्तिकैमा देउवा पनि कोइरालाकै छेउमा आइपुगे। कालो छाता ओढेर पानीको ओत लागिरहेका कोइरालालाई देख्नासाथ देउवाले भने, "गिरिजाबाबु तपाईंले ओढेको छाता तपाईंलाई नै पुगिरहेको छैन, भिजिरहनुभएको छ।" कोइरालाले कुरा बुझेनन्। उनले अनकनाएको भावमा सोधे, "के भन्न खोजेको हो?" जवाफमा मुर्मुरिँदै देउवाले चूरो कुरा खोले, "तपाईंले हामीलाई संरक्षण दिन नसक्ने हो भने हामी किन तपाइर्ंको पछाडि हिँड्ने ? प्रकाशलाई नेविसंघको अध्यक्ष बनाउने भनेको होइन ? अनि, किन तपाइर्ंले गणेशमानजीकहाँ प्रकाशको पक्षमा केही बोल्न सक्नुभएन ?"

२६ वर्ष पुरानो यो घटना अहिले एकपटक दोहोरिएको छ। कोइरालामाथि आफ्ना पछाडि हिँड्ने कार्यकर्तालाई संरक्षण दिन नसक्ने बात लगाएर 'छाता सानो भयो' भनेर व्यंग्य गर्ने उनै देउवा आफ्नो राजनीतिक जीवनको उत्तरार्द्धमा त्यही सानो छाताको आडमा कांग्रेसको संसदीय दलको नेता र प्रधानमन्त्री हुने ध्याउन्नमा छन्। पछिल्लो समय पार्टीका विभाग तथा समितिहरू गठन गर्नुपर्ने कांग्रेसको कार्यसूची हो। तर, पार्टी सभापति सुशील कोइराला र देउवाबीच भागबन्डा नमिलेकै कारण पार्टी महाधिवेशन भएको १४ महिना बितिसक्दा पनि उक्त कार्यसूची कार्यान्वयन हुन सकेको छैन।

रमाइलो त के छ भने देउवाले संसदीय दलको नेता र पार्टीबाट प्रधानमन्त्रीको दाबेदार हुने अवसर पाए भने पार्टीका विभाग तथा समितिहरूमा आफ्नो भाग नखोज्ने हुन् कि भन्ने चिन्ता उनको 'किचेन क्याबिनेट'लाई छ। उनमा समन्वयवादी भूमिका निभाउन सक्ने क्षमता छ। तर, त्यसकै आधारमा उनलाई कसैकसैले सम्झौतावादी पनि भन्दै आएका छन्। देउवाका एक राजनीतिक सहयात्री भन्छन्, "देउवा तन्किने रबर हुन्, चँुडिने रबर होइनन्।"

आफ्नो त्यही किचेन क्याबिनेटबाट विगतमा प्रकाशमान सिंह र बलबहादुर केसीसम्मलाई गुमाइसकेका देउवा त्यस्तो गल्ती फेरि गर्न चाहँदैनन्। स्रोतका अनुसार उनले पछिल्लो समय आफ्ना दाहिने हात मनिएकाहरू आफूसँग बिच्केर सभापति सुशील कोइरालाको समूहमा समाहित नहोऊन् भन्ने निकै हेक्का राखेका छन्।

देउवामा कठिन समयमा राजनीतिक निर्णय गर्ने क्षमता छ। चाहे त्यो आफ्नै लागि घातक किन नहोस्। उनले कुनै डरलाग्दो निर्णय गरेका छन् त कुनै आँटिलो। र, कतिपय राम्रै निर्णय पनि लिएका छन्। निर्णय लिँदा ठूलो जमातलाई आफ्नो पक्षमा ल्याएका पनि छन्। उनका धेरै अनुयायी पनि छन्। पार्टी फुटाउँदा झन्डै आधा कार्यकर्ता लिएर गएकै पनि हुन्। संविधानसभा निर्वाचनकै कुरा गर्ने हो भने पनि उनले दुई-दुई स्थानबाट निर्वाचन जितेर आए। त्यसले उनको छविलाई बलियो बनाएको छ। राजनीतिक गतिविधिमा उनी नेताजस्तो देखिन्छन् र उनीसँग राजनीतिक ग्ल्यामर पनि छ। गिरिजाप्रसादको क्याम्पमा हुर्केर उनको नेतृत्वलाई नै चुनौती दिन सक्ने हैसियतकै कारण उनको पुच्छर समातेर राजनीतिक वैतरणी तर्न सकिने कुरामा कांग्रेसको आधाजसो जमात विश्वास गर्छ। यसैले त उनको कोटरी छ। पार्टीको केन्द्रीय सदस्यहरूको नामावली हेर्ने हो भने देउवानिकट सदस्यहरूको उल्लेखनीय उपस्थिति देखिन्छ। केन्द्रीय सदस्यमध्ये पनि १० जना यस्ता केन्द्रीय सदस्य छन्, जसले देउवा क्याम्पमा कहीँ न कहीँ आफ्नो प्रभाव राख्दै आएका छन्।



भरपर्दा भित्रिया

तीन-तीनपटक मुलुकको प्रधानमन्त्री भइसकेका देउवा लोकतन्त्रका मूलभूत मान्यतामा सम्झौता नगर्ने नेता मानिन्छन्। नीतिगत स्पष्टता र व्यावहारिक लचकताकै कारण नेपाली राजनीतिमा देउवाको प्रासंगिकता उर्वर छ। यसैले पनि आफ्नो गुटमा तुलनात्मक रूपमा सक्षम, संघर्षको आफ्नै इतिहास भएका र जुझारु युवा नेताहरू 'टिम देउवा'मा छन्।

जस्तो कि कांग्रेसका पूर्वमहामन्त्री तथा कांग्रेसका एक धरोहर स्वर्गीय महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र निधिलाई नै लिन सकिन्छ। निधिलाई देउवा क्याम्पभित्र 'तुरूपको एक्का' भनिन्छ। पछिल्लो समय उक्त क्याम्पमा सबैभन्दा बढी प्रभाव राख्ने नेतामध्येका एक हुन् निधि। देउवाका लागि पूर्वी मधेसमा आफ्नो पकड मजबुत राख्न मात्र होइन, 'लिगेसी' आफूले सम्हालेको जश पनि पाउने भएकाले देउवाका लागि निधि महत्त्वपूर्ण पात्र हुन्। पछिल्लो समय देउवाको विचारलाई आफ्नो मुखबाट सार्वजनिक गर्ने भएकाले पनि निधिलाई देउवाको 'माउथ पिस'को उपमा पनि दिइन्छ। उक्त क्याम्पबाट देउवापछिको उत्तराधिकारीका रूपमा आफूलाई अगाडि सार्दै आएका निधि समग्र पार्टीभन्दा पनि आफ्नो गुटलाई बलियो बनाउने रणनीतिमा आफूलाई बढी व्यस्त राख्छन्। नेविसंघको अध्यक्ष हँुदै कांग्रेस राजनीतिमा आफ्नो छुट्टै छवि बनाएका निधि यस गुटमा प्रभावशाली मात्र छैनन्, उनी एक्लैले कतिपय निर्णय गर्ने हैसियत राख्छन्। पार्टीभित्रको आफ्नो गुटलाई मिलाउन मात्र होइन, पार्टीको संस्थापन पक्षसँग कुरा गर्न माहिर निधि अन्य राजनीतिक दलहरूसँग राष्ट्रिय मुद्दामा तर्कपूर्ण ढंगबाट बहस गर्न पनि सक्षम मानिन्छन्। उनको त्यही खूबीका कारण उनले नेविसंघको जनकपुर महाधिवेशनमा अध्यक्षको जिम्मेवारी पाए। मधेसी नेताहरूको पलायनपछि कांग्रेसभित्र मधेसी नेताहरूको खडेरी भएकाले पनि निधिले कांग्रेसभित्र नै आफ्नो राजनीतिक भविष्य देखेका छन्।

पार्टी सभापति सुशील कोइरालाले उति नरुचाउने निधिका लागि देउवा क्याम्प नै सुरक्षित थलो हो। आफ्नै राजनीतिक हैसियत भएका, मधेसबाट प्रतिनिधित्व गर्ने, 'लिगेसी' बोेकेका र वाक्पटुता भएका निधि देउवाका लागि 'तुरूपको एक्का' नहुने कुरै भएन। देउवालाई पनि थाहा छ, निधिजस्तै 'लिगेसी' बोकेका र आपmनै राजनीतिक उचाइ भएका तथा नेवार समुदायबाट प्रतिनिधित्व गर्ने स्वर्गीय गणेशमान सिंहपुत्र प्रकाशमान सिंहले आफ्नो कोटरी छाडेर गएपछि कति राजनीतिक पहिरो बेहार्नुपर्‍यो। तर, पार्टीको गत महाधिवेशनमा देउवा समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका निधि भने प्रकाशमान सिंहबाटै पराजित हुन पुगे पनि देउवाले उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरे, आफ्नो कोटाबाट। देउवाले पार्टी विभाजन गर्दा पनि निधिलाई महामन्त्री बनाएका थिए। महन्थ ठाकुर, विजय गच्छदार, जयप्रकाशप्रसाद गुप्ताज्ास्ताले कांग्रेस त्यागेर मधेसी दलतिर कुलेलम ठोकेपछि हच्किएका कांग्रेस कार्यकर्तामा निधिले पनि त्यसै गर्ने हुन् कि भन्ने भान परेर उनी पराजित हुन पुगे। एक कांग्रेस नेता भन्छन्, "पहाडे मनोविज्ञानको सिकार भएर निधि महामन्त्रीमा पराजित भएका हुन्।" तर पनि पार्टीभित्र देउवाको वर्चस्व घट्न नदिने निधिको भूमिकाप्रति देउवा भने बेखबर छैनन्।

देउवाकै भित्रिया सदस्यमा छुटाउनै नहुने अर्को नाम हो, प्रकाशशरण महत। नेविसंघको विद्यार्थी राजनीतिबाट आएका महतलाई गिरिजाप्रसाद कोइरालाले 'ग्रुम' गरेका भए पनि देउवाका पनि सधँै पि्रय रहे उनी। महतले पनि देउवालाई निरन्तर सहयोग गरिरहे, गर्दै छन्। पार्टी विभाजनमा पनि देउवालाई सहयोग गरेका महत कांग्रेस प्रजातान्त्रिकमा महामन्त्री थिए। पार्टीभित्र होस् वा अन्य पार्टीहरूसँगको संवादमा, आक्रामक शैलीमा प्रस्तुत हुनसक्ने र देउवालाई केन्द्रमा राखेर विचार व्यक्त गर्न सक्ने जुझारु स्वभावका महतका दाइ रामशरण महत भने संस्थापन पक्षसँग नजिक छन्। दाजु संस्थापन पक्षमा हँुदाहँुदै पनि आफू निरन्तर देउवानिकट रहेकाले पनि देउवाका विश्वासपात्र हुन् उनी। नुवाकोटका महतलाई यही कारण हुन सक्छ, देउवाले पटक-पटक मन्त्रीको जिम्मेवारी पनि दिएका छन्।

देउवा क्याम्पमै हुर्किरहेका अर्का पात्र हुन्, बुटवलका बालकृष्ण खाँण। नेपाल विद्यार्थी संघ र तरुण दलका अध्यक्ष रहिसकेका खाँण देेउवा क्याम्पभित्र युवा परिचालन गर्न सबैभन्दा भरपर्दा नेता हुन्। विद्यार्थी राजनीति र तरुण दलको पृष्ठभूमिका कारण देशभरि नै उनको सञ्जाल निकै राम्रो मानिन्छ। देउवा क्याम्पभित्र बाहुवलका नेता भनिए पनि खाँण कांग्रेसको 'कोर भ्यालु' बुझ्न सक्नै हैसियत राख्छन्। संविधानसभा निर्वाचनमा आफ्नो जुझारु शैलीकै कारण रूपन्देहीबाट निर्वाचन जितेका खाँणका सम्बन्धमा भनिन्छ, देउवासँग उनको जीवनचर्या, परिवेश र पृष्ठभूमि पनि मिल्छ, यसैले उनी देउवासँग छन्। पार्टीभित्रको युवापंक्तिलाई आफ्नो पक्षमा राख्नका लागि पनि देउवाका लागि उपयोगी अस्त्र हुन् उनी।

त्यसो त खाँण कांग्रेसका दिवंगत नेताद्वय गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको राजनीतिक नर्सरीका उत्पादन हुन्। कुनैबेला कांग्रेसभित्रको ३६ से समूहमा थिए उनी। तर, खाँणको गृहनगर बुटवलसँगै जोडिएको भैरहवामा गिरिजाप्रसादसँग नजिक रहेका रामकृष्ण ताम्राकारको आफ्नो निर्वाचन क्षेत्रमा राजनीतिक आधार खस्किन थालेपछि ताम्राकारकै आग्रहमा गिरिजाप्रसादले उनलाई ललाइफकाई आफ्नो क्याम्पमा डेरा सार्न सफल भएका थिए। त्यसैको पारितोषिकका रूपमा उनलाई गिरिजाप्रसादले तरुण दलको अध्यक्ष मात्र होइन, तरुण दल हाँक्ने जिम्मेवारी पनि दिएका थिए। कतिसम्म भने पार्टी विभाजनको दुई दिनअघिसम्म पनि खाँणले देउवालाई 'पार्टी फुटाए ठीक नहुने' चेतावनी दिएका थिए। तर, रमाइलो के भने दुई दिनपछि देउवाले पार्टी फुटाए। फुटेको पार्टीमा खाँण पनि छिरे। खुमबहादुर खड्कालगायतका प्रभावशाली नेताहरूको ठूलो लर्को देउवातिर गएपछि देउवाकै पार्टी बलियो हुने ठानी उनी त्यता हान्निएका थिए। त्यस दिनदेखि उनी देउवा क्याम्पमै छन्। देउवाकै सिफारिसमा उनी मन्त्रीसमेत भए।

ज्ञानेन्द्रबहादुर कार्की बीपी कोइरालाले पत्याएका कांग्रेसका नेता हुन्, जो बीपीको निधनपछि गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई क्याम्पमा थिए। त्यसपछि देउवालाई साथ दिएर हिँड्नुमै आफ्नो राजनीतिक भविष्य देखेपछि निरन्तर देउवा क्याम्पमा छन्, कार्की। नेविसंघका अध्यक्षको जिम्मेवारीसमेत पाइसकेका कार्कीलाई देउवाकै आग्रहमा जलस्रोतमन्त्री बनाइएको भनिन्छ। कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हँुदा राजनीतिक सल्लाहकारको जिम्मेवारी पाएका कार्कीलाई देउवाले साथ लिएर हिँड्नुको पछाडि उनीमाथिको विश्वास त हँुदै हो, त्यसमाथि भोजपुरका कार्कीलाई साथमा लिएर हिँड्दा पूर्वी पहाडको कांग्रेस राजनीतिमा आफ्नो पकड राम्रो हुने आशा पनि हो, देउवाको।

यसैगरी, देउवाका अर्का दाहिने हुन्, स्याङ्जाका पुराना र प्रतिबद्घ नेता गोपालमान श्रेष्ठ। कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहसँग नजिक रहेर राजनीति सिकेका हुन् उनले। श्रेष्ठ कुनैबेलाको ३६ से समूहमा पनि थिए। पार्टी विभाजनपछि आफूसँगै लिएर गएका देउवाले श्रेष्ठलाई उपसभापतिको जिम्मेवारी दिएका थिए। आफ्नातर्फका वार्ता कमिटी सदस्यमा प्रायः देउवाले यिनलाई भूमिका दिइरहन्छन्। अहिले पनि श्रेष्ठले उपसभापति पदमा मनोनयनका लागि गनगन गरिरहेका छन्। पार्टी एकीकरण न्यायसंगत नभएको भन्दै देउवासँग गुनासो गर्नेमध्येका एक नेता उनी पनि हुन्। निरन्तर देउवालाई सहयोग गर्दै आएका श्रेष्ठलाई देउवाले सम्मानका साथ पार्टीमा स्थान दिएका छन्। आफ्नो गुटभित्र नेवार सम्प्रदायको प्रतिनिधि अनुहार देखाउनका लागि पनि श्रेष्ठ उपयुक्त पात्र हुन्। गणेशमान र भट्टराईको निधनपछि उनले आश्रय लिनका लागि देउवाको कोटरीबाहेक अर्को ठाउँ पनि छैन। प्रतिबद्घ कांग्रेस नेता भए पनि कोइराला क्याम्पभित्र उनी सधैँ निषेधित हुन्छन् भन्ने उनले थाहा नपाएका होइनन्। निरन्तर कोइरालाविरोधी हुनुको एउटा कारण पनि हो, उनी देउवा क्याम्पमा रहनु। किनभने, देउवाले कोइराला क्याम्पका कट्टर विरोधीलाई आफ्नो गुटमा स्थान र महत्त्व दुवै दिँदै आएका छन्।

पार्टी प्रतिबन्धित हुँदादेखि मोरङका मीनेन्द्र रिजाल निरन्तर देउवा क्याम्पमै छन्। ०३७ सालमा विमलेन्द्र निधि नेविसंघको अध्यक्ष हँुदा रिजाल उपाध्यक्ष थिए। रिजाल अमेरिकामा अध्यापन गरिरहेका बेला आफू प्रधानमन्त्री हँुदा देउवाले नै ०५२ मा पहिलोपटक नेपाल बोलाएर कांग्रेस राजनीतिमा सक्रिय गराएका हुन्। देउवालाई सधैँ आदर्श नेता मानेर राजनीतिमा सरिक रिजाल विराटनगरका हुँदाहँुदै पनि आफ्नो पारिवारिक वृत्तबाहिरका भएकाले कोइराला परिवारले यिनलाई पार्टीमा महत्त्वपूर्ण ठाउँ दिएन। ०५२ मा देउवा प्रधानमन्त्री भएपछि उनैले राजनीतिक सल्लाहकार बनाएर रिजाललाई राजनीतिमा फिर्ता ल्याएका हुन्। उनले पटक-पटक सरकार र पार्टीमा महत्त्वपूर्ण जिम्मेवारी पाउँदै आएका छन्। तर, पछिल्लोपटक मोरङमा आफ्नो राजनीतिक धरातल मजबुत बनाउन कोइराला क्याम्पको पनि सहयोग चाहिने ठानेर देउवा र कोइराला पक्षबीच समन्वयकारी भूमिका देखाउन थालेका छन् रिजालले। उनी देउवाको बूढानीलकण्ठस्थित निवासमा कम, कोइरालाको महाराजगन्जस्थित निवासमा बढी देखिन थालेपछि देउवा क्याम्पमै पनि केहीको मनमा चिसो पसेको बताइन्छ।

देउवा क्याम्पमा महत्त्व राख्ने अर्की पात्रा हुन्, महालक्ष्मी उपाध्याय ँडिना’ । मकवानपुरकी महालक्ष्मीले देउवा क्याम्पबाट गत महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्य पद जितेकी हुन्। आफ्नो क्याम्पबाट महिला अनुहारका लागि पनि देउवाका लागि महालक्ष्मी उपयोगी पात्रा हुन्। कुनै बेला पद्मकन्या क्याम्पसमा स्ववियु निर्वाचनमा नेविसंघबाट निर्वाचित भएकी महालक्ष्मी एक समयकी जुझारु विद्यार्थी नेतृ हुन्। भनिन्छ, देउवा क्याम्पको निर्णय प्रक्रियामा उनको खासै भूमिका नभए पनि उनको चाहनालाई देउवाले हम्मेसी अस्वीकार गर्दैनन्। देउवाले उनलाई मन्त्री पनि बनाए।

नेविसंघका जति पनि अध्यक्ष भए अधिकांश मनोनीत नै भए। तर, एनपी साउद निर्वाचित अध्यक्ष हुन्, नेविसंघका। उनले गणेशमान सिंहका उम्मेदवार नवीन्द्रराज जोशीलाई पराजित गरेका थिए। साउद त्यसबेला कोइराला क्याम्पमा थिए। किनभने, देउवा पनि सोही क्याम्पमै थिए। विद्यार्थी राजनीतिबाट आएकाले पार्टीको युवा पंक्तिसँग राम्रो सम्बन्ध छ साउदको। कुनैबेला कन्चनपुरमा आफ्नै राजनीतिक हैसियत बनाएका साउद पछिल्लो समय कन्चनपुरकै रमेश लेखकलाई देउवाले बढी च्याप्न थालेपछि केही असन्तुष्ट छन्। लेखक महाधिवेशनमा निर्वाचन हारे पनि साउद भने राम्रै मत ल्याएर निर्वाचित भए।

कृष्णप्रसाद भट्टराईको सानिध्यमा हुर्केका पूर्णबहादुर खड्का पनि देउवा क्याम्पको एउटा खम्बा हुन्। देउवासँग खरो रूपमा आफ्नो कुरा राख्न सक्ने हैसियत राख्छन् उनले। तर, पार्टीमा प्रकाशशरण महत र मीनेन्द्र रिजाललाई बढी महत्त्व दिएकामा केही असन्तुष्ट रहेका छन् अहिले उनी। आफ्नै राजनीतिक हैसियत भएका र संघर्षशील राजनीतिक पृष्ठभूमि भएका खड्कालाई देउवा साथ लिएर भेरी अञ्चलमा पार्टी सभापति सुशील कोइरालालाई माथ दिन चाहन्छन्। भट्टराईको निधनपछि खड्काका लागि पनि देउवा क्याम्प नै उपयुक्त थलो हो। किनभने, कोइराला पक्षका लागि उनी नरुचाइएका अनुहार हुन्।

देउवा क्याम्पका महत्त्वपूर्ण कार्ड हुन्, प्रदीप गिरी। कोइरालाविरोधी भएका कारणले मात्र होइन, उनको बौद्घकि क्षमता, तार्किक शैली र भारतीय राजनीतिज्ञहरूसँगको सम्बन्धका कारणले पनि देउवाका लागि गिरी महत्त्वपूर्ण पात्र हुन्। देउवाका अन्तिम सल्लाहकार गिरी देउवालाई बिनास्वार्थ सल्लाह दिन सक्ने हैसियत राख्छन्। आफ्नो पक्षबाट हुने महत्त्वपूर्ण वार्ता टोलीमा देउवाले छुटाउनै नहुने नाम पनि हुन्, गिरी। देउवामा सैद्घान्तिक विचलन आउन खोज्दा रोक्न सक्ने हैसियत गिरीमै छ। गिरीको कुरा हतपत्ति काट्न पनि सक्दैनन्, देउवा। सुशील कोइरालाको क्याम्पमा कुनै हालतमा जान चाहँदैनन्, गिरी।

भर्खर विवाह गरेर चुनदेवीस्थित डेरामा बस्दासम्म देउवा आफ्ना नजिकका सहयात्रीलाई भन्ने गर्थे, "राजनीतिमा सफल भइएन, दुःख पाइयो भने बरु रुवाखोला -जन्मथलो)मा गएर भैँसी पालेर बसौँला।" तर, अहिले ती सहयात्रीहरू उनले रुवाखोला बिर्सिएकामा चित्त दुखाउँछन्। धेरैले उनको साथ छोडे पनि उनको क्याम्प भने संस्थापन पक्षको नेतृत्व गर्ने सुशील कोइरालाका लागि चुनौती बन्दै आएको छ।





देउवाकी देवी

शेरबहादुर देउवाका लागि आरजु राणा महत्त्वपूर्ण सल्लाहकार हुन्, उनको राजनीतिक जीवनका लागि पनि। भनिन्छ, देउवाको 'कन्सेप्ट डिजाइनर' पनि आरजु नै हुन्। उसो त देउवा क्याम्पभित्र आरजुसँग विवाह देउवाको राजनीतिक 'करिअर'का लागि फलदायी रह्यो कि रहेन भन्ने जोड-घटाउ अहिलेसम्म हुँदै आएको छ। आरजुकै कारण देउवाले आफ्नो व्यक्तित्व फराकिलो बनाउने मौका पाएका बताउने पनि छन् भने गृहमन्त्री हुँदाहुँदै आरजुसँग विवाह गरेपछि देउवाको सम्बन्ध र सम्पर्क नेपालको सम्भ्रान्त घरानामा सीमित भएको भन्ने कार्यकर्ता पनि छन्।

घरेलु र विदेशी शक्तिकेन्द्रलाई नरिझाई सत्तामा टिक्न सकिन्न भन्ने नेपाली राजनीतिको यथार्थबाट उनी परिचित छन्। आजभन्दा २० वर्षअघि नेपालका लागि तत्कालीन अमेरिकी राजदूत जुलिया चाङ् ब्लक राजदरबारका तत्कालीन एडीसी शान्तकुमार मल्लकी भान्जी आरजुसँग देउवाको विवाह गराउन सफल भइन्। त्यसो त देउवामाथि अमेरिकाले 'ग्रुम' गरेको आरोप पनि लाग्दै आएको हो। भन्नेले भन्छन्, कुनैबेला प्रकाशचन्द्र लोहनीलाई हात लिएको अमेरिकाले प्रजातन्त्र आएपछि देउवालाई काखी च्याप्यो र लोहनीलाई प्रधानमन्त्रीको तहसम्म पुर्‍याउन नसकेको थकथकी देउवाबाट मेट्ने काम गर्‍यो। देउवाले दरबारलाई फकाएर राजालाई खोपीमा राख्ने प्रयत्न नगरेका होइनन्। तर, उनी सफल भएनन्। तत्कालीन राजा ज्ञानेन्द्रले मारेको धापको न्यानो उनै ज्ञानेन्द्रले अर्को झापड नदिँदासम्म उनले महसुस गरिरहे। उनलाई पत्तै भएन, उनको समर्थनमा दरबार होइन, दरबारिया मात्र रहेछन्।

पछिल्लो समय आफ्नो गुटमा आरजुको हस्तक्षेप तहसम्मकै प्रभावका कारण गुनासो सुनिरहेका देउवाका लागि पढेलेखेकी र विदेशी निकाय तथा राजधानीका अभिजात्य वर्गसँगको नाता-सम्बन्ध भएकी आरजु आफ्ना लागि घाँडो होइन, पुँजी हुन् भन्ने ठानेका छन्। आफ्नो गृहजिल्ला डडेल्धुराबाट सभासद्मा मनोनीत गरेपछि गिरिजाप्रसाद कोइरालालाई जस्तै देउवालाई पनि नातावादको आरोप लागिरह्यो, लागिरहेकै छ।







उपकोटरी पनि 

शेरबहादुर देउवा कोटरीभित्र अर्को कोटरी पनि छ, जसका सदस्यहरू उनका लागि निश्चित अवधिका रणनीतिक सहयात्री मात्र हुन्। त्यसको नेतृत्व गर्छन्, खुमबहादुर खड्काले। यस कोटरीमा खड्कानिकट रहेका चित्रलेखा यादव, शंकर भण्डारी, नरेन्द्र नेम्वाङ, पार्वती डीसी चौधरी, अजय चौरसिया, पुष्पा भुसाललगायत केन्द्रीय सदस्यहरू पर्छन्।

यसैगरी, देउवा समूहभित्र अर्को कोटरी पनि छ, गोविन्दराज जोशी र कुलबहादुर गुरुङलगायतको। रामचन्द्र पौडेलले संसदीय दलको नेता पद जितेपछि कोइराला क्याम्पबाट बाहिरिएको यस समूहका लागि देउवाबाहेक जाने अर्को ठाउँ छैन। अर्को एक्लो कोटरी भनेको अर्जुननरसिंह केसीको हो, जसलाई पार्टी सभापति सुशील कोइरालाले वचन दिएर पनि महामन्त्री दिएनन्, उनको ठाउँमा कृष्ण सिटौलालाई नै रोजे। त्यसपछि रुष्ट भएका केसी देउवा क्याम्पमै छन्। यसबाहेक देउवा क्याम्पमै भए पनि निर्णय प्रक्रियामा झीनो भूमिका भएका केन्द्रीय सदस्यहरूमा अम्बिका बस्नेत, नरेन्द्रविक्रम नेम्वाङ, सुरेन्द्रराज पाण्डे, जीवनबहादुर शाही, किशोरसिंह राठौर, सीता गुरुङ, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, मीन विश्वकर्मा आदि हुन्। यसलाई देउवाको दोस्रो तहको कोटरी पनि भन्ने गरिन्छ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page