'सरकारको कार्यकारी पदमा पनि बस्दिनँ’

Baburam Bhattarai
काठमाडौ, असार २२ - एमाओवादी उपाध्यक्ष त्याग गरेका बाबुराम भट्टराईले आफू सरकार र पार्टीको कुनै पनि कार्यकारी पदमा नबस्ने बताएका छन् । उपाध्यक्षभन्दा शक्तिशाली पद लिन त्यागको घोषणा गरेको आरोप उनीमाथि लागिरहेको बेला उनले कुनै पनि कार्यकारी पदमा नरहेर वैचारिक नेतृत्व गर्ने बताएका हुन् ।
अकस्मात् गत शनिबार केन्द्रीय समिति बैठकमा पद त्याग गरेका उनले पद त्याग गरी कार्यकारी पदमा नरहने निर्णय लिएका थिए । 'कुनै पनि कार्यकारी पदमा नबस्ने मेरो अहिलेसम्मको निर्णय हो,' उनले राज्यको कार्यकारी पदमा रहने/नरहनेबारे प्रश्नमा भने, 'यसबारे पार्टीले ठोस नीति बनाउन बाँकी छ ।'
युवा पुस्तालाई अघि सार्ने नीतिअनुसार आफूले पद त्याग गरी 'सरप्राइज' दिएको भए पनि त्यसले संगठन चुस्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो । 'सबै नेतालाई बढुवा चाहिने, सूचीमा नपरेका नेता असन्तुष्ट हुने अवस्था आएपछि मैले संगठनको सुदृढीकरणका लागि आफैंबाट त्यागको सुरुवात गरेको हुँ,' उनले आफ्नो निवास सानेपामा केही संवाददाताहरूसँग सुनाए, 'यसले पक्कै पनि त्यागको शिक्षा दिनेछ  ।'
एमाओवादीको पद विभाजन र नेताको बढुवा गर्न ३९९ जनाको केन्द्रीय समिति बनाउने निर्णय लिएको थियो । यसमा नअटाएका करिब एक हजार नेता असन्तुष्ट बनेर बाहिर बसेका थिए । स्थायी समितिमा परेका नेता पदाधिकारीमा नपरेपछि असन्तुष्ट, पोलिटब्युरोमा परेका स्थायी समितिमा नपरेको, पूर्ण केन्द्रीय समितिमा परेका पोलिटब्युरोमा बढुवा नभएको र वैकल्पिक केन्द्रीय सदस्यले पूर्ण नपाएको भन्दै केन्द्रीय कार्यालयको प्रस्तावप्रति विरोध जनाएका थिए ।
'सबैलाई माथिको पद चाहिएपछि मबाट सुरुवात गर्नु उपयुक्त थियो' उनको भनाइ थियो, 'अध्यक्ष -पुष्पकमल दाहाल) ले तत्काल छाड्ने अवस्था छैन, अरूले त्याग गर्दा खासै प्रभाव नपर्ने भएकाले मैले सुरुवात गरेँ ।'
दाहालले पार्टी संगठनलाई एउटा प्रणालीमा लिएपछि कार्यकारी पद त्याग गर्ने सैद्धान्तिक निर्णय भइसकेको उनको भनाइ थियो । 'अध्यक्ष र हामी संगठनको प्रक्रिया मिलाएर अघि जान्छौं,' उनले भने, 'निश्चित अवधिपछि अध्यक्षले पनि कार्यकारी पद छाड्नुहुन्छ ।' यसमा दाहाल र आफूबीच कुनै शंका नभएको दाबी गरे ।
एमाओवादीको नेतृत्व युवा पुस्ताको काँधमा जाने सुरुवात भइसकेको उल्लेख गर्दै भट्टराईले वरिष्ठ नेताले अनौपचारिक रूपमा वैचारिक नेतृत्व गर्ने बताए । 'हामी वैचारिक नेतृत्व दिन्छौं' उनले निकट भविष्यमा बनाउन लागेको कार्यविधिबारे भने, 'युवा पुस्ताले संगठनको नेतृत्व गर्छ । यसरी सन्तुलित ढंगले पार्टी अघि बढ्छ ।' पदमा रहेर मात्र क्रियाशील हुने परम्पराले तोड्न अनौपचारिक पदमा नरहेरै आफूबाट सुरु गरेको बताए ।
पार्टीभित्र पदका लागि 'तँछाड मछाड' चलेकाले शुद्धीकरणका लागि त्याग गर्न लागेको अध्यक्ष दाहाललाई सुनाउँदा नपत्याएको उनको भनाइ थियो । 'मैले सांकेतिक रूपमा त्याग गर्न लागेको अध्यक्षलाई सुनाउँदा उहाँले पत्याउनु भएनछ,' उनले भने ।
दाहाललाई समेत स्पष्ट जानकारी नदिई एकैपटक केन्द्रीय समितिमा पद त्याग घोषणा गर्नुका कारण खुलाए । 'पहिले नै भनेको भए नगर्न दबाब आउन सक्थ्यो, केन्द्रीय समिति चलेको बेला घोषणा गर्नु उपयुक्त ठानेँ' उनको भनाइ थियो ।
साउन पहिलो साता हुने विस्तारित बैठकले कार्यकारी पदमा नबस्ने नेताहरूका लागि संरचना बनाउने तयारी गरेको उनले जानकारी दिए ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page