विमानस्थल क्षेत्रका अधिकांश घर मापदण्ड विपरीत, २५७ घरटहरा भत्काउन सुझाव

भरतपुर । भरतपुर विमानस्थलको पश्चिम र दक्षिणतर्फका २५७ वटा घरटहरा भत्काउनुपर्ने देखिएको छ । यस क्षेत्रमा निर्माण भएका कूल ३१३ मध्ये २५७ घर मापदण्ड विपरीत पाइएको समितिका एक सदस्य भरतपुर विमानस्थल प्रमुख बच्चुराम श्रेष्ठले बताउनुभयो ।
विमानस्थलको पश्चिमतर्फ ५० मिटरभित्र रहेको ८८ वटा स्थायी र १ वटा अस्थायी भवन मापदण्ड विपरीत रहेको प्राविधिक समितिले जनाएको छ ।
त्यस्तै दक्षिणतर्फ २५९ मिटर भित्र ५९ वटा स्थायी र ८ वटा अस्थायी भवन मापदण्ड विपरीत निर्माण भएको पाइएको छ । यस क्षेत्रको २६० देखि ४५९ मिटरसम्म ९७ वटा स्थायी र ४ वटा अस्थायी घर मापदण्ड विपरीत रहेको समितिले ठहर गरेको छ । कूल २४४ स्थायी र १३ वटा अस्थायी संरचना मापदण्ड विपरीत रहेका पाइएको छ ।
नगर विकास समितिले २०६५ सालमा यसै क्षेत्रमा रहेको युनिक कोलोनीमा भवन बनाउन सहमति दिएको खुलेको छ । भरतपुर विमानस्थल वरपर विमानस्थलको मापदण्ड विपरीत बनेका स्थायी संरचनाहरुको लगत संकलन गरी प्रतिवेदन पेश गर्न तीन सदस्यीय प्राविधिक गत फागुन ९ गते गठन भएको थियो ।
सो समितिलाई मापदण्ड विपरीत बनेको घरहरुको संख्या गणना र त्यस्ता भवनहरुको प्रकार छुट्याउने जिम्मेवारी रहेको थियो । समितिमा भरतपुर विमानस्थल प्रमुख बच्चुराम श्रेष्ठ, नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक प्रदीप अधिकारी र भरतपुर नगरपालिकाका इन्जिनियर ईश्वरकुमार राजभण्डारी रहनुभएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा ७ को उपदफा १ र २ को भावना विपरीत हाल भरतपुर विमानस्थल वरपर धेरै भवनहरु बनिसकेकाले उक्त भवनहरुले उडान तथा अवतरणमा गम्भीर असर पु¥याइरहेको र भविष्यमा झनै अप्ठेरो अवस्था आउन सक्ने देखिएकाले मापदण्ड विपरीतका भवन तत्काल हटाउन पनि समितिले सुझाव दिएको छ ।
यस विमानस्थलको संचालन २०१५ सालबाट भएको हो । विगतमा साना विमानहरु (पिलाटस पोर्टर, ट्वीनअटर)ले उडान भरेकोमा हाल जेट स्ट्रीम बिचक्राफ्ट, एटीआर ४२, जस्ता आधुनिक विमानहरु संचालनमा छन् ।
विमानास्थल करिव ६२ विघामा फैलिएको छ । यस क्षेत्रफल साना विमानका लागि उपयुक्त भएपनि हाल संचालित विमानहरुका लागि धावनमार्ग नपुग भएको कार्यालयले जनाएको छ । यसै समस्यालाई ध्यानमा राखी गत मंसिर महिनाबाट विमानस्थलको दक्षिण क्षेत्रमा भवनका लागि नयाँ नक्सा पास गर्ने काम रोकिएको भरतपुर नगरपालिकाका प्रमुख नारायण सापकोटाले बताउनुभयो ।
त्यस्तै भनपाले अबदेखि विमानस्थल क्षेत्र तथा विमानको उडान तथा अवतरण पथ क्षेत्र वरपर भवन बनाउनुपर्दा भरतपुर विमानस्थल कार्यालयसँग पूर्व सहमति लिएर मात्र नक्सा स्वीकृतको व्यवस्था गर्न समितिले सुझाव दिएको छ ।
प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले मापदण्ड विपरीत बनेका घरटहरा प्रक्रियागत रुपमा भत्काइ समस्या समाधानका लागि भनपाका प्रमुख सापकोटालाई निर्देशन समेत दिनुभएको छ । समितिले विमानस्थलको उत्तरतर्फ रहेको नेपाली सेनाको स्टर्ड फर्मलाई उचित स्थानमा स्थानान्तरण गरी ४ सय मिटर थप धावनमार्ग विस्तार गर्न सकिने बताएको छ ।
Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page