भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकी इन्डियाले मार्च महिनामा १ लाख १३ हजार ३ सय ५० गाडी बिक्री गर्न सफल भएको छ । जुन गत वर्षको सोही महिनाको तुलनामा ५.५ प्रतिशतले कमी हो । कम्पनीले गत वर्षको मार्च महिनामा १ लाख १९ हजार ९ सय ३७ गाडी बिक्री गरेको थियो ।
कम्पनीले मार्च महिनामा कम्प्याक्ट कारहरु स्विफ्ट, एस्टिलो, रिट्ज गाडी २८ हजार २ सय ८५ थान बिक्री गरेको बताएको छ । जुन गत वर्षको मार्च महिनाको तुलनामा ९.३ प्रतिशतले बढी हो । गत वर्षको मार्चमा कम्पनीले यस्ता कम्प्याक्ट कार २५ हजार ८ सय ६८ थान बिक्री गरेको थियो ।
मार्च महिनामा मारुती सुजुकीको घरेलु गाडीको बिक्री पनि ५.२ प्रतिशतले घटेको भारतीय सञ्चारमाध्यमले बताएका छन् । कम्पनीले गत वर्षको मार्च महिनामा १ लाख ७ हजार ८ सय ९० घरेलु गाडी बिक्री गरेकोमा यस वर्षको सोही महिनामा जम्मा १ लाख २ हजार २ सय ६९ गाडी बिक्री गरेको छ ।
साना गाडीहरु मारुती-८००, अल्टो, ए -स्टार एवं वैगन-आरको बिक्री पनि ११ प्रतिशतले घटेको कम्पनीले जनाएको छ । गत मार्चमा ४५ हजार ४७ थान साना गाडी बिक्री गरेको कम्पनीले यस मार्चमा ४० हजार ८५ गाडीमात्र बिक्री गर्न सफल भएको छ ।
मारुती सुजुीको प्रख्यात मोडल सेडान कार डिजायरको बिक्री पनि मार्च १४१ प्रतिशतले घटेर १७ हजार २ सय ३७ थानमा सिमित हुन पुगेको छ । जबकी गत मार्चमा डिजायर २० हजार ७८ थान बिक्री भएको थियो । त्यस्तै, सेडान एसएक्स-४ को बिक्री पनि मार्चमा ५४.५ प्रतिशतले घटेको छ । गत मार्चमा ९ सय ३ थान एसएक्स-४ बिक्री भएकोमा यस मार्चमा जम्मा ४ सय ११ थान बिक्री भएका छन् ।
यस महिनामा जिप्सी, ग्रान्ड भिटारा र अर्टिगा गाडीको बिक्री ११ थान बढेको छ । मार्चमा यी गाडीहरु ६ हजार ४ सय ९९ थान बिक्री भएका छन् । गत मार्चमा यी गाडीहरु ६ हजार ४ सय ८८ थान बिक्री भएका थिए । ओमनी र इको गाडीको बिक्री पनि २.६ प्रतिशतले बढेर ९ हजार ७ सय ५२ थान पुगेका छन् । गत मार्चमा यी गाडी ९ हजार ५ सय ६ थान बिक्री भएका थिए ।
मार्च महिनामा मारुती सुजुकी गाडीको निर्यात पनि ८ प्रतिशतले घटेको कम्पनीले जनाएको छ । गत मार्चमा १२ हजार ४७ थान कार निर्यात भएकोमा यस वर्ष घटेर जम्मा ११ हजार ८१ थानमात्र कार बिक्री भएका छन् ।