३० बैशाख, काठमाडौं । अमेरिकी मोटरसाइकल युएमको नयाँ एएक्स्ट्रिट-आर नेपाली बजारमा आएको छ । युएम मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता इम्पोर्ट युएसएले नयाँ एक्स्ट्रिट बजारमा ल्याएको हो ।
यसभन्दा अगाडी बजारमा आएको एक्स्ट्रिटमा भन्दा यसमा केही सेवा सुविधा थप गरिएको छ भने डिजाइन पनि आकर्षक रहेको छ । कम्पनीले २ सय र २३० सीसी इञ्जिन क्षमताका दुई मोडल नेपाल भित्राएको हो ।
कम्पनीले २ सय सीसीको एक्स्ट्रिटको मूल्य २ लाख ७८ हजार रुपैयाँ र २३० सीसीको एक्स्ट्रिटको मूल्य २ लाख ८५ हजार रुपैयाँ तोकेको छ । बजारमा एक्स्ट्रिट-आर स्पोर्टिस सेतो, रातो र कालो रङमा इटालियन नेकेड स्पोर्ट डिजाइनमा उपलब्ध हुने छ ।
यसमा विश्वमा नै पहिलोचोटी ३७ वटा लेड राखेर हेडलाइट तयार पारिएको कम्पनीको दाबी छ । जसले अँध्यारोमा पनि दिउँसोको सरह उज्यालो प्रकाश दिने छ । यसमा युएसबी पोर्ट राखिएको हुँदा लामो यात्रामा निस्कने सवारीधनीले मोबाइल, आइप्याड, ट्याबलेट चार्ज गर्न सकिन्छ ।
यसको मूख्य विशेषताका रुपमा १६ हजार किलोमिटर गुडेपछि प्रत्येक दुई हजार किलोमिटरमा सर्भिसिङ गर्ने जनाउ घण्टी दिने रहेको छ । त्यस्तै, डिजिटल स्पिडमिटरमा बल्ने लाइटलाई दुई कलरमा परिवर्तन गर्न सकिने छ ।