सिरहा, जेष्ठ ८ - शिक्षामन्त्री चित्रलेखा यादवको घरमा बिना दर्त्ता अबैध रुपमा नीजि विद्यालय सञ्चालन गरेको पाइएको छ । लहान नगरपालिका १ स्थित मन्त्री यादवको घरमा आस्था पाठशाला सञ्चालित छ ।
लक्ष्मीपुर पतारीका आभाषकुमार यादवले सप्तरीको मल्हनीया २ ठेगाना भएको आफन्त सुरेखा कुमारी यादवको नाममा कक्षा ८ सम्म उक्त पाठशाला तीन बर्षदेखि सञ्चालन गरेको जिल्ला शिक्षा कार्यालय सिरहाले जनाएको छ । बिद्यालयले शिक्षा कार्यालयमा पाठशाला सञ्चालनका लागि यसबर्ष अनुमति माग गरेको छ । बिना अनुमति २ सय ६० निजी विद्यालय सञ्चालनमा रहेको शिक्षा कार्यालयले जनाएको छ ।
यस्तै, लहानस्थित काठमाडौं एकेडेमीले कक्षा ७ सम्म र पिसजोन एजुकेशनल एकेडेमीले कक्षा ९ सम्म फर्जी अनुमति पत्र देखाएर सञ्चालन गर्दै आएको पाइएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । उक्त दुबै विद्यालयले विद्यालय सञ्चालन अनुमतिका लागि यस बर्ष शिक्षा कार्यालय आवेदन दिएको छ ।
यस्तै, कक्षा थपका लागि अनुमति नै नलिई सदरमुकामस्थित मोर्निङ्गपल एजुकेशनल एकेडेमीले तीन बर्षदेखि कक्षा १० सम्म संचालन गर्दै आएको छ । कक्षा १० सम्म सञ्चालन गरे पनि विद्यार्थीहरुलाई एसएलसी दुई बर्ष बालमन्दिर माविबाट र यस बर्ष मावि फूलबरीया गम्हरीयाबाट एसएलसीका लागि फर्म भराएको छ । उक्त विद्यालयलाई शिक्षा कार्यालयले कक्षा ८ सम्म संचालनको अनुमति दिएको हो ।
यस्तै, सदरमुकामस्थित सनसाइन, जेम्स, एम्बिशनलगायतका विद्यालयहरुले थप कक्षा संचालनका लागि शिक्षाबाट अनुमति नै नलिई कक्षा संचालन गर्दै आएको पाइएको छ ।
यस्तै, मिर्चैयास्थित ह्वाइट हाउस बोर्डिङ्ग स्कूलले शिक्षाबाट कक्षा ८ सम्म मात्रै संचालनको अनुमति प्राप्त गरेको भएपनि कक्षा १० सम्म चार बर्षदेखि संचालन गर्दै आएको हो । उक्त स्कूलले आफ्ना कक्षा ९ र १० का विद्यार्थीहरुको मोहन उच्च मावि मिर्चैयामा नामाकंन गराएर एसएलसी दिलाउदै आएको पाइएको छ ।
सरस्वती एजुकेशनल एकेडेमी मिर्चैयाको पनि कक्षा ५ सम्म संचालन अनुमति भएपनि १० कक्षासम्म संचालन गरेको छ उक्त विद्यालयले आफ्ना विद्यार्थीहरुको नामांकन मावि फूलबरीमा गराएर एसएलसी दिलाउने तैयारी गरेको शिक्षा कार्यालयले स्रोतले बताए । यस्तै स्वस्तिक पाठशालाले मावि तह कक्षा र रामजानकी एकेडेमी मिर्चैयाले पनि बिना अनुमति कक्षा निमावि र मावि तह संचालन गरेको छ ।
यस्तै, लहानस्थित इन्टरनेशनल एकेडेमी, ग्लोबल, माइल स्टोन, बि्रलिएन्ट, पब्लिक एम्स स्कूलले पनि थप कक्षा सञ्चालन अनुमति नलिई संचालन गरेको शिक्षा कार्यालयले जनाएको छ । ओम सनराइज स्कूल लहानले मावि तह बिना कक्षा थप अनुमति संचालन गरिरहेको र आफ्ना विद्यालयका विद्यार्थीहरुलाई तीन बर्षदेखि सामुदायिक विद्यालयबाट एसएलसी दिलाउदै आएको शिक्षा कार्यालय स्रोतले जनाएको छ ।
बिना अनुमति संचालन विद्यालयहरुलाई बन्द गर्न पूनराबेदन अदालत राजबिराजले चैत १७ गते नै निषेधेज्ञा जारि गरेपनि स्थानीय प्रशासन र जिल्ला शिक्षा कार्यालयले कार्यान्वयनमा बेवास्ता गर्दै आएको छ । अदालतको आदेश कार्यान्वयन नगरेकोले प्याबशन र एनप्याबशन सिरहाले अदालतको अबहेलना मुद्दा चलाउने निर्णय गरेको ब्याबशन सिरहाका सचिव उमेश चौधरीले बताए ।