संविधानसभा उपचुनावको सम्भावित आंकलन कांग्रेस-एमाले : अरुको टिप्न खोज्दा पोल्टाको गुम्ने खतरा -

समाचार टिप्पणी
६ असार, काठमाडौं । असार ८ गते हुने संविधानसभा उपचुनावको प्रचार प्रसार बन्द भएर मौन अवधि शुरु भइसकेको छ । चार निर्वाचन क्षेत्रमा हुन लागेका उपचुनावको सम्पूर्ण तयारी निर्वाचन आयोगले पूरा गरिसकेको छ भने राजनीतिक दलहरुले पनि चुनावी तयारी पूरा गरेर भित्रभित्रै मतदाता भेट्ने र मतको आंकलन गर्ने क्रम चलेको छ । कतिपय ठाउमा भोजभतेर र मतको डिलिङ समेत हुन थालेका छन् । जसले चुनावी परिणामलाई तलमाथि पार्न सक्छ ।
बेखबर मतदाता
बिद्युतीय भोटिङ मेसिनबाट हुन लागेको उपचुनावमा सम्बन्धित क्षेत्रमा क्रियाशील राजनीतिक दल र उम्मेदवार जति उत्साहका साथ भिडे, आम मतदातामा त्यस्तो उत्साह देखिएन । ‘फेरि भोट हाल्नुपर्छ भन्छन् तर मैले त को को उम्मेदवार उठे भन्ने पनि थाहा पाएकी छैन’ काठमाडौं क्षेत्र नम्बर २ को पेप्सीकोलाकी बासिन्दा मन्जु पौडेल भन्छिन् ‘भोट त हाल्नैपर्ला, मंसिर ४ मा जुन पार्टीलाई दिएको हो उसैको उम्मेदवारलाई भोट हालौंला’ ।
चर्को गर्मी र यो चुनावको हारजितले कुनै राजनीतिक फेरबदल पनि नगर्ने भएकाले मतदाताको उत्साह चुनावप्रति नदेखिएको हुन सक्छ । चुनावमा भाग लिएकाहरुमात्र होइन बहिस्कारको पक्षमा लागेकाहरुमा पनि उत्साह देखिएको छैन । ‘वास्तवमा यो कथित चुनावप्रति कसैको पनि चासो देखिएको छैन, बहिस्कारको पक्षमा भेला गर्दा पनि जनताको उपस्थिती कम छ’ नेकपा माओवादीका एक नेताले भने ।
तीन दलको दाउ
उपचुनावमा जनपरिचालन उल्लेख्य नभए पनि मतदानका बेला ८० प्रतिशतभन्दा बढि मतदाता सहभागी हुने राजनीतिक दलका नेताहरुको अनुमान छ । त्यसैले उनीहरु अब बाहिरी प्रचार प्रसार सकेर चुनाव जित्न आवश्यक रणनीति बनाउन थालेका छन् । कांग्रेसले चितवन ४ लाई कायम राख्दै काठमाडौं २ थप्ने र कैलाली ६ जोगाउन बढि ध्यान केन्दि्रत गरेको छ ।
एमालेले काठमाडौं २ लाई कायम राख्दै कैलाली ६ थप्ने र बर्दिया जोगाउन बढि ध्यान केन्दि्रत गरेको छ । एमाओवादीले भने बर्दिया १ मा जित्नैपर्ने र काठमाडौं १ जित्न सबै शक्ति केन्दि्रत गर्ने रणनीति बनाएको छ । चितवन ४ मा भने एमाले र एमाओवादी दुवैले संगठनको बलमा भन्दा पनि उम्मेदवारका कारण जित्न सकिने झिनो आशा राखेका छन् ।
काठमाडौं २ मा चौपक्षीय
बहुदलीय संसदीय कालमा सबैभन्दा धेरै उपचुनाव व्यहोरेको काठमाडौं २ लाई प्रमुख चार दल नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादी र राप्रपा नेपालले आफ्नो प्राथमिकतामा राखेका छन् । एमाले उम्मेदवार कृष्ण गोपाल श्रेष्ठ माधवकुमार नेपालको उत्तराधिकारी बनेर एमालेको जित निरन्तर गर्न प्रयत्नरत छन् । आन्तरिक गुटबन्दी र अन्तरघात व्यवस्थापन गर्न सके मात्र कृष्णगोपालको जित सहज हुने एमालेकै नेताहरु बताउँछन् ।
नेपाली कांग्रेसका दिपक कुइकेल स्थानीयको नारा दिएर चुनाव जित्ने दाउमा छन् । उनी कांग्रेसका परम्परागत मत जोगाउदै माधव नेपालले लगेका मत फर्काउन बढि केन्द्रित देखिएका छन् । एमाओवादीका लिलामणी पोखरेल राष्ट्रिय व्यक्तित्वको आधारमा चुनाव जित्न सकिनेमा छन् । काठमाडौंको कांठमा चारै पार्टीको मत बाँडिनेछ भने सबैभन्दा बढि मतदाता रहेको ३५ ओडामा एमाले अगाडि छ । ९ नम्बर वडामा कांग्रेस बलियो छ ।
राप्रपा नेपालका नवराज सिम्खडा पनि यस क्षेत्रका बलिया उम्मेदवार हुन् । मंसिर ४ को चुनावमा एमालेका माधवकुमार नेपालले करीव १० हजार मतान्तरमा जितेको यस क्षेत्रमा एमालेका लागि पहिलेका मत जोगाउनु सबै भन्दा ठूलो चुनौति हो । नेपालको व्यक्तित्वका कारण कतिपय कांग्रेस कार्यकर्ता र तटस्थ मतदाताको मत पाएका थिए ।
त्यो मत तितरबितर हुँदा यस क्षेत्रको परिणाममा पनि तलमाथि हुन सक्ने आंकलन गरिएको छ । साथै राप्रपा र राप्रपा नेपालको मत उनीहरुका उम्मेदवारमा मात्रै जान्छ कि अन्यमा बाडिन्छ भन्ने कुराले पनि यस क्षेत्रको चुनावी परिणामलाई असर पानेए एमाओवादी उम्मेवदार लिलामणी स्वीकार गर्छन् ।
kathmandu-2
चितवन ४ मा यस्तो छ
कांग्रेस सभापति सुशील कोइरालाले जितेर छाडेको चितवन ४ मा तीन पार्टीबीचनै प्रमुख प्रतिस्पर्धा छ । कोइरालाले १० हजार मतान्तरमा जितेको यस क्षेत्रबाट उम्मेदवार बनेका कांग्रेसका रामकृष्ण घिमिरेका लागि कोइरालाले पाएको मतको संरक्षण गर्न गाह्रो देखिएको छ । यो क्षेत्र कांग्रेसको पकड क्षेत्र भएकाले केही मत घट्दा समेत कांग्रेसलेनै जित्ने दावी जिल्ला सभापति टेकप्रसाद गुरुङको छ ।
तर एमालेकी महिला उम्मेदवार पार्वती रावलको पक्षमा देखिएको चुनावी माहौलले कांग्रेस र एमाओवादीलाई झस्काएको पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष जनक अर्याल बताउछन् । संविधानसभा चुनावमा यहि क्षेत्रबाट तेस्रो पटक प्रतिस्पर्धा गरिरहेकी रावलले महिला र साहानुभूतिको मत बढि तान्न सक्ने आंकलन गरिएको छ । रावललाई रोक्न सके आफ्नो जित सजिलो हुने कांग्रेसको ठहर छ ।
एमाओवादीका उम्मेदवार खुसीराम पाखि्रन जनवादी गायक हुन् । उनीप्रति चुनाव वहिस्कार गरेको बैद्य माओवादीको पनि सहानुभूति रहन सक्ने भएकाले उनी पनि कमजोर उम्मेदवार होइनन् । यस क्षेत्रमा राप्रपा र राप्रपा नेपालका केही मत छन् । ती मत ठूला दलका उम्मेदवारतिर बाडिए भने चुनावी परिणाममा तलमाथि हुन सक्छ ।
chitwan-4
बामदेवको बिरासत डग्मगाउदै
एमाले उपाध्यक्ष बामदेव गौतमले जितेर छाडेको बर्दिया १ मा एमालेका उम्मेदवार श्याम ढकालका लागि गौतमको उत्तराधिकारी बन्न निकै चुनौति देखिएको छ । उनलाई एमाओवादीका भुवन थारु र कांग्रेसका सोदे बिष्टले कठिन चुनौति दिएका छन् । एमाओवादीले उपचुनाव हुन लागेका ४ क्षेत्रमध्ये बर्दिया १ लाई जित्न सकिने र जसरी पनि जित्ने रणनीतिमा राखेको छ ।
मंसिर ४ मा गौतमको निकटतम प्रतिद्धन्द्धी रहेकाले पनि माओवादीको रणनीति बर्दियामा बढि केन्दि्रत छ । यस क्षेत्रमा थारु र मुक्त कमैयाको बाहुल्य रहेको र वैद्य माओवादीको पनि प्रभाव रहेकाले यी दुवैको साथ पाउन सके सहज जित निकाल्न सकिने एमाओवादी नेताहरु बताउछन् । कांग्रेसका उम्मेदवार सोदे विष्ट पनि स्थानीय तहमा लोकप्रिय  उम्मेवार मानिन्छन् । पूर्व सांसद ढकाल पनि स्थानीयस्तरमा परिचित उम्मेदवार हुन् तर एमालेको गुटबन्दीको असर पर्न सक्ने सम्भावना छ ।Bardiya-1
कैलाली ६ मा दुई पक्षीय
कैलाली क्षेत्र नम्बर ६ मा शेरवहादुर देउवाको उत्तराधिकारी बन्न प्रयास गरिरहेका कांग्रेस नेता पुष्करनाथ ओझाका लागि एमालेका पूराना नेता महेश्वर पाठक तगारो बन्ने देखिएको छ । यसै क्षेत्रबाट मंसिर ४ मा देउवाको निटकतम प्रतिद्धन्द्धी बनेका पाठकको पक्षमा देखिएको माहौल रोक्न देउवा आफैं दुई पटकसम्म कैलाली जानुपर्‍यो ।
एमाओवादीको मत अझै घट्ने देखिएकाले त्यो मत पाठकतिर गएको खण्डमा ओझालाई संकट पर्ने विश्लेषण स्थानीय बौद्धिक समुदायले गरेको छ । यस क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा भन्दा पनि कांग्रेस र एमालेबीचनै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।kailali-6

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page