क्यान पुनर्गठन र क्षतिपुर्ति असुल गर्न अख्तियारको निर्देशन (विज्ञप्ति सहित)


२५ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल क्रिकेट संघ क्यान पुनर्गठन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिस गरेको छ ।
क्यान अध्यक्ष टंक आङबुहाङसहितका १० पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको क्यानले अन्य पदाधिकारीहरुबाट ८४ लाख क्षतिपूर्ति भराउन र सेतक गराउन निर्देशन दिएको छ ।
क्यानमा हाल बहाल रहेका पदाधिकारीहरुमा क्रिकेटप्रेमी अपेक्षा र भावनालाई कदर गरी क्रिकेटको विकास गर्न सक्ने कार्यशैली नदेखिएको भन्दै अख्तियारले जनाएको छ । अख्तियारले ‘नयाँ पदाधिकारीहरुको प्रतिनिधित्व गराउँदा क्रिकेट खेलका अनुभवि, स्वच्छ छवी भएका र संघलाई प्रभावकारी तवरले संचालन गर्न र खेलाडीहरुको मनोवल उच्च बनाई क्रिकेट खेलको विकासमा प्रतिवद्ध हुन सक्ने व्यक्ति समावेश गराई क्रिकेट संघलाई पुनर्गठन गरी कानून बमोजिमको कारवाही अगाडि बढाउन’ युवा तथा खेलकुद मन्त्रालयलाई लेखि पठाएको छ ।
साथै सन् २०११र१२ को लेखा परीक्षण प्रतिवेदन समयमा आईसीसीलार्इ नबुझाउँदा ८४ हजार ३७५ डलर जरिवाना भएको भन्दै अख्तियारले टंक आङबुहाङसहित ३१ सदस्यीय कार्यसमितिबाट ८४ लाख ३२ हजार ४३७ दामासाहीले तीन महिनाभित्र नेपाल क्रिकेट संघलाई भरि भराउ गर्न गराउन भनेको छ । साथै २०५७ सालदेखि बिभिन्न व्यक्तिलाई उपलब्ध गराएको पेश्की १ करोड ८६ लाख २६ हजार ८९८ सम्बन्धित व्यक्तिहरूबाट फर्छयौट गर्न क्यानसँगै राष्ट्रिय खेलकूद परिषद र युवा तथा खेलकूद मन्त्रालयमा लेखि पठाइएको अख्तियारले जनाएको छ ।
अख्तियारले उपाध्यक्षहरु तारिणी बिक्रम शाह, श्रीनिवास राणा, केशव घिमिरे, रामचन्द्र शर्मा, दीपक कोइराला, सचिव उत्तमकुमार कर्माचार्य, सदस्यहरु रतनबहादुर कठायत, संजयराज सिंह, अनुप थापा, शैलेश चौधरी, नरेशकुमार श्रेष्ठ, धिरेन्द्र साउद, अमितवीर पाण्डे, बसन्तराज सत्याल, दीवाकर घले, अमृता पौडेल, धर्मसुन्दर बज्राचार्य, विपतराम चौधरी, संजिव पाण्डे, दीपक साउद र रञ्जित तामाङ्गलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १२ बमोजिम सचेत गराउन राष्ट्रिय खेलकूद परिषदसमक्ष लेखि पठाइएको छ ।

अख्तियारको विज्ञप्ति जस्ताको तस्तैः
प्रेस बिज्ञप्तिः २०७१।०२।२५ गते ।
----------------------------------
नेपाल क्रिकेट संघको पुनर्गठन र असुलउपर सम्बन्धमा ।
----------------------------------------------------------
नेपाल क्रिकेट संघका पदाधिकारीले विगत धेरै वर्ष देखिको पेश्की पर्छयौट नगराएको, नेपाल क्रिकेट संघलाई आईसिसिले जरिवाना गरेको समेतका उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा सन् २०११/१२ को खर्चको विवरण (लेखा परीक्षण प्रतिवेदन) समयमा आईसिसिमा (अन्तर्राष्ट्रिय खेलकूद परिषद) नपठाएको आधार कारण उल्लेख गरी आईसिसिले नेपाल क्रिकेट संघलाई उपलब्ध गराउने वार्षिक बजेट मध्ये अमेरिकी डलर ८४,३७५ संघलाई जरिवाना गरी उपलब्ध नगराई नेपाल क्रिकेट संघका पदाधिकारी तथा सदस्यहरुले आफुले समयमा कार्यसम्पादन गर्नुपर्ने कार्य नगरी नगराई अनुचित कार्य गरेको बिषयमा नेपाल क्रिकेट संघ (सार्वजनिक संस्था) लाई हानी नोक्सानी पु¥याउने कार्यमा संलग्न देखिएका नेपाल क्रिकेट संघका अध्यक्ष टंक बहादुर आङ्गबुहाङ्ग, उपाध्यक्षहरुः तारिणी बिक्रम शाह, श्रीनिवास राणा, चतुरबहादुर चन्द, विनोद मैनाली, केशव घिमिरे, रामचन्द्र शर्मा, सुनिलमान अमात्य र दीपक कोइराला, महासचिव अशोकनाथ प्याकुरेल, सचिवद्वय उत्तमकुमार कर्माचार्य र ठाकुरप्रसाद पहाडी, कोषाध्यक्ष राजुबाबु श्रेष्ठ, सदस्यहरुः रतनबहादुर कठायत, संजयराज सिंह, अनुप थापा, शैलेश चौधरी, नरेशकुमार श्रेष्ठ, धिरेन्द्र साउद, किरण सम्शेर राणा, अमितवीर पाण्डे, बसन्तराज सत्याल, ठाकुर प्रताप थापा, दीवाकर घले, अमृता पौडेल, धर्मसुन्दर बज्राचार्य, विपतराम चौधरी, संजिव पाण्डे, पूर्ण बहादुर लामा, दीपक साउद र रञ्जित तामाङ्ग समेतका पदाधिकारी र सदस्यहरू बाट हानी नोक्सानी पुर्याएको रकम रु.८४,३२,४३७।५० दामासाहीले तीन महिना भित्र नेपाल क्रिकेट संघलाई भरि भराउ गर्न गराउन र नेपाल क्रिकेट संघले आयोगलाई उपलब्ध गराएको विवरण बमोजिम विगत २०५७ साल देखि क्रिकेट संघबाट बिभिन्न व्यक्तिहरूलाई उपलब्ध गराईएको पेश्की रकम रु.१,८६,२६,८९८।– सम्बन्धित पेश्की कायम रहेका व्यक्तिहरूबाट फर्छयौट र भरि भराउ गर्न समेत जम्मा रू. २,७०,५९,३३५।५० (अक्षरूपी दुई करोड सत्तरी लाख उनान्साठी हजार तिन सय पैतिस रुपैया पचास पैसा मात्र) तीन महिना भित्र असूल फर्छयौट गरी गराई भरी भराउ गर्नु गराउन र सो को जानकारी आयोगमा पठाउनु भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १२ (क) बमोजिम नेपाल क्रिकेट संघ, राष्ट्रिय खेलकूद परिषद र युवा तथा खेलकूद मन्त्रालयमा लेखि पठाईएको छ । 
क्रिकेट खेलाडीहरूलाई नेपाल क्रिकेट संघले उपलब्ध गराउनुपर्ने तलव, प्रोत्साहन भत्ता, उपयुक्त खेल सामाग्री समेतका सुविधाहरू जो जे दिनुपर्ने हो समयमै उपलब्ध गराउनका साथै नेपाल क्रिकेट संघमा हाल बहाल रही रहने पदाधिकारीहरुले नेपालमा क्रिकेट खेलप्रेमी नेपालीहरुको अपेक्षा र भावनालाई कदर गरी क्रिकेट खेलको विकास गर्न सक्ने निजहरुको कार्यशैली नदेखिएकोले अनुभवि, स्वच्छ छवी भएका, संघलाई प्रभावकारी तवरले संचालन गर्न र खेलाडीहरुको मनोवल उच्च बनाई क्रिकेट खेलको विकासमा प्रतिवद्ध हुन सक्ने व्यक्तिहरू समावेश गराई क्रिकेट संघलाई पुनर्गठन गरी कानून बमोजिमको कारवाही अगाडि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८ बमोजिम नेपाल सरकार, युवा तथा खेलकूद मन्त्रालयलाई लेखि पठाईएको छ।
Tags: , , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page