चितवन, असार १५
आज असार १५ गते, ११ औं राष्ट्रिय धान दिवस मनाइदैछ । धानको उत्पादन बढाउन, नयाँ जातका धानको बीउ सिफारिस र त्यसको प्रचारप्रसारका लागि हरेक वर्ष धान दिवस मनाउने गरिएको छ ।
संयुक्त राष्ट्रसंघले सन् २००४ मा धान नै जीवन हो भन्ने नारा दिएर अन्तराष्ट्रिय धान दिवस मनाउने घोषणा गरेपछि देखि नेपालमा पनि यो दिवस मनाउन सुरु गरिएको हो धान दिवसका अवसरमा आज राजधानीमा कृषि विकास मन्त्रालयले तथा विभिन्न जिल्लामा पनि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम गर्दैछन् । नेपाल कृषि अनुसन्धान परिषद् नार्कमा धान दिवसको अवसरमा अहिले बिहानै कार्यक्रम हुदैछ भने ललितपुरको लेलेमा धान रोपाईं विशेष कार्यक्रम गरिंदैछ । असार १५ लाई धान महोत्सवका रुपमा पनि मनाइने गरिन्छ । आजैका दिन दही चिउरा खाने चलन पनि छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । ३० वर्ष अघि धान निर्यात गर्ने नेपालमापछिल्ला वर्षहरुमा भने आयात हरेक वर्ष बढ्न थालेको छ ।
यता चितवनमा पनि धान दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । जिल्ला कृषि विकास कार्यालयले आज दिउँसो पूर्वी चितवनको खैरहनी नगरपालिका–६ मा विशेष रुपले धान दिवस मनाउदैछ । बाजागाजासहित दिवस मनाउने तयारी भईरहेको बताइएको छ । चितवनमा पनि प्रत्येक वर्ष धान दिवस मनाईदै आइएको छ । चितवनमा यसपटक धानको उत्पादनमा वृद्वि हुने अनुमान गरिएको छ ।