२८ जेठ काठमाडौं । बुधबार नेप्से परिसूचक ४.५१ अंकले बढेर ८ सय ९९.५३ अंकमा पुगेको छ । बुधबार दिउसो नेप्से ९ सय ५ अंकसम्म पुगेको थियो ।
नेप्सेको यो अंक २०६५ भदौ अन्तिमयताकै उच्च हो । दोस्रो संविधानसभाको निर्वाचनदेखि बुलिस ट्रेन्डमा अघि बढेको नेप्सेले निरन्तर बुलिस ट्रेन्ड नै पकडेको छ ।
नेप्सेमा भएको खरिद चापले आगामी दिनमा पनि बुलिस ट्रेन्डमै अघि बढ्ने संकेत गर्छ । सेयर विश्लेषकहरुले यो आर्थिक वर्षभित्रै नेप्से साढे नौ सय अंक चुम्ने बताउँछन् ।
समूहगत सूचकतर्फ बुधबार चार समूह बढेका छन् भने तीन समूह घटेका छन् । वाणिज्य बैंक समूहको उपसूचक ८.५४ अंकले, विकास बैंकको १.३६ अंकले र वित्त कम्पनी समूहको १.सूचक १.२८ अंकले बढेको छ ।
यो दिन होटल समूहको १६.८२ अंकले, जलविद्युत समूहको १३.५२ अंकले र बीमा समूहको सूचक ३.२३ अंकले घटेका छन् । बुधबार उत्पादनमूलक र अन्य समूहको कारोबार भएन ।
यो दिन नेप्सेमा १ सय ४० कम्पनीका १७ लाख २० हजार कित्ता सेयर ६२ करोड ५ लाख रुपैयाँमा किनबेच भयो ।