२७ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले राजनीतिक नेतालाई पनि प्रमाण भेटिए कारवाही गर्ने मन्यव्य दिएको भोलिपल्टै एमाओवादीका पोलिटब्यूरो सदस्य एवं लिम्बुवान इञ्चार्जमाथि करोडौं भ्रष्टाचारको अभियोगमा अख्तियारले मुद्दा चलाएको छ ।
क्रिकेट संघका अध्यक्ष रहेका आङबुहाङसहितका क्यानका पदाधिकारीमाथि अख्तियारले भ्रष्टाचारको अभियोगमा मुद्दा चलाएको हो । एमाओवादी नेतासमेत रहेका आङबुहाङले १ करोड ४२ लाख २६ हजार ४ सय ३० रुपौयाँ बराबरको भ्रष्टाचारको अभियोग लगाइएको छ । आङबुहाङ भ्रष्टाचारको अभियोगमा अख्तियारबाट मुद्दा चलाइएका पहिलो उच्च स्तरका एमाओवादी नेता हुन् । यसअघि माओवादीका केन्द्रीय स्तरका नेता अख्तियारको कारवाहीमा परेका थिएनन् ।
आङबुहाङ भर्खरै एमाओवादीको केन्द्रीय सदस्यबाट पोलिटब्यूरोमा बढुवा भएका हुन् । पोलिटब्यूरो सदस्य बनेपछि एमाओवादीले उनलाई लिम्बुवानको ईञ्चाजसमेत बनाएको छ ।
कहिलेसम्म रहलान् लिम्बुवान इञ्चार्ज ?
कम्युनिस्टहरुले भन्ने गरेको बुर्जुवा दलमा पनि कुनै नेतामाथि गम्भीर आरोप लागेपछि पदबाट नैतिकताका आधारमा हट्ने या पार्टीले निलम्बन गर्ने प्रचलन रहेको हुन्छ । अख्तियारमा मुद्दा परिसकेपछि एमाओवादीको पोलिटब्यूरो सदस्य एवं लिम्बुवानको पार्टी इञ्चार्ज भएर कार्य गर्न आङबुहाङलाई अप्ठ्यारो परेको छ ।
विगतका अख्तियारको मुद्दा लागेका कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले पदबाट राजीनामा दिएका थिएनन् । कांग्रेसले उनलाई पार्टीबाट निलम्बन पनि गरेन । यद्यपि कांग्रेस नेता शोभाकर पराजुली लगायतले खुमबहादुरलाई नैतिकताका आधारमा निलम्बन गर्नुपर्ने आवाज उठाएका थिए । एमाओवादी नेता आङबुहाङले एमाओवादीको नेतृत्वबाट आफैं राजीनामा दिन्छन् या पार्टीले पदबाट निलम्बन गर्छ, त्यो भने अझैसम्म स्पष्ट हुन सकेको छैन । मुद्दा लागेपछि आङबुहाङको पार्टी जिम्मेवारी के हुन्छ भन्नेबारे बुझ्न फोन गर्दा आङबुहाङ र एमाओवादी प्रवक्ता दीनानाथ शर्मा दुबैको टेलीफोनको स्वीच अफ गरिएको थियो ।
एमाओवादी स्रोतका अनुसार टंक एमाओवादीमा सोझा नेता मान्छिन् । तर, पार्टीमा रहँदा पकेट डायरीमा खर्च लेखेका भरमा चल्ने गरेको ल्याङफ्याङे बानी र फजुलखर्ची चरित्रका कारण क्यानमा उनी आर्थिक हिनामिनामा मुछिएको एमाओवादी नेताहरु बताउँछन् । तर, भ्रष्टाचारमा मुछिइसकेपछि उनले पार्टीको नेतृत्व तहबाट आफैं नैतिकताका आधारमा राजीनामा दिनुपर्ने या त्यसो नगरे पार्टीले छानविन पूरा नहुञ्जेलका लागि निलम्बन गर्नुपर्ने अर्का एक केन्द्रीय सदस्यले ilikechitwan.blogspot.com लाई जानकारी दिनु भयो।