८ असार, काठमाडौं ।
चालू आर्थिक वर्षका ११ महिनामा घरजग्गा कारोबार अहिले सम्मकै उच्च भएको छ । भूमिसुधार तथा व्यवस्था विभागको तथ्यांकअनुसार चालू वर्ष ४ अर्ब ५० करोड रुपैयाँ घरजग्गा रजिस्ट्रेसन दस्तुर संकलन गर्ने लक्ष्य राखिएकोमा जेठसम्म करिव ६ अर्ब ७५ करोड संकलन भइसकेको छ ।
आर्थिक वर्ष सकिँदासम्म करिब ८ अर्ब पुग्ने अनुमान विभागको छ । पछिल्ला ५ वर्षको तुलनामा चालू वर्ष सवैभन्दा बढी राजस्व संकलन भएको कारोबार दैनिकमा खवर प्रकाशित छ ।
यो प्रगति हेर्दा चालू वर्ष घरजग्गा कारोबार २० देखि ४० प्रतिशतसम्मले बढ्ने देखिएको विभागका शाखा अधिकृत प्रवलराज कोइरालाले वताए ।
२०६६ पुसमा राष्ट्र बैँकले घरजग्गा कर्जामा गरेको कडाइका कारण यो व्यवसाय करिब ४ वर्षसम्म शिथिल भएको थियो । अर्थतन्त्र नै प्रभावित भएपछि अहिले केही खुकुलो नीति ल्याइएको छ ।
‘घरजग्गा क्षेत्रमा बैँकले ऋण बढाउँदै लगेका छन्, सहुलियतमा ऋण छ र रेमिट्यान्स बढेको छ, विभागका योजना शाखा अधिकृत राजु बस्नेतले भने,‘घरजग्गा कारोबार बढ्नुमा यिनै प्रमुख कारण हुन् ।
’ उनका अनुसार ११ महिनामा घरजग्गा कारोबारबाट लक्ष्यभन्दा २ अर्ब २५ करोड बढी राजस्व संकलन भएको छ । उपत्यकाभन्दा बाहिरका सहरमा घरजग्गा कारोबार बढेको उनले वताए ।