प्रत्येक नेपालीको टाउँकोमा ३३ हजार ऋण

२८ जेठ,काठमाडौं । 
नेपालीको प्रतिव्यक्ति ऋण बढेर झन्डै ३३ हजार रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैकका अनुसार अहिले ३० वटा वाणिज्य बैकले कुल आठ खर्ब ७० अर्ब रुपैयाँ ऋण प्रवाह गरेका छन्। २०६८ को जनगणनाअनुसार नेपालको जनसंख्या अहिले दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार छ।
कुल ऋणलाई अहिलेको जनसंख्याले भागा गर्ने हो भने प्रत्येक नेपालीको टाउँकोमा ३२ हजार आठ सय ३० रुपैयाँ पर्न आउँछ। ऋण बढ्ने क्रम बर्सेनि बढ्दै गएको तथ्यांकले पुष्टि गरेको आजको अन्नपूर्ण पोष्टमा आशीष ज्ञवालीले समाचार लेख्नु भएको छ ।
वाणिज्य बैंकको जेठ दोस्रो सातासम्मको तथ्यांकअनुसार क वर्गका ब्यांकहरूले गरेको कुल कर्जा लगानीको आधारमा यस्तो औसत निकालेको हो तर विकास ब्यांक, फाइनान्स कम्पनी, लघुवित्त र सहकरीको ऋण जोड्ने हो भने यो रकम अझै धेरै बढी देखिन्छ।
यसैगरी ३० वटा वाणिज्य ब्यांकको मूल निक्षेपको आधारमा हिसाब गर्दा औसतमा प्रतिव्यक्ति नेपालीले वाणिज्य ब्यांकमा ४२ हजार आठ सय ३० रुपैयाँ निक्षेप राखेको देखिन्छ। एक वर्ष अगाडिसम्म प्रतिनेपाली निक्षेप ३८ हजार चार सय रुपैयाँ थियो भने प्रतिनेपालीले जम्मा २८ हजार चार सय ५२ रुपैयाँ मात्र ब्यांकबाट ऋण लिएका थिए। कर्जा रकम तथा निक्षेप रकम दुवै प्रतिनेपाली क्रमशस् चार हजार रुपैयाँका दरले एक वर्षमा बढेको देखिन्छ।
यसबाट नेपालीले बैकमा रकम जम्मा गर्ने र ऋण लिने प्रवृत्ति क्रमशस् बढिरहेको देखिन्छ, जुन अर्थतन्त्रको लागि सकारात्मक संकेत हो। नेपाल राष्ट्र ब्यांकका अनुसार अहिले ३० वटा वाणिज्य ब्यांकले कुल आठ खर्ब ७० अर्ब रुपैयाँ ऋण प्रवाह गरेका छन्। ब्यांकहरूले जेठको दोस्रो सातासम्ममा निक्षेप संकलन ११ खर्ब ३५ अर्ब रुपैयाँ पु्र्‍याएका छन्।
जनता बैकका प्रमुख कार्यकारी अधिकृत डा.रमेशकुमार भट्टराईले निक्षेप र कर्जाको वृद्धिदर राम्रो ढंगले अगाडि बढेको बताए। 'कर्जाको तुलनामा निक्षेपको वृद्धिदर बढे पनि कर्जाको वृद्धिदर पनि नराम्रो भन्न मिल्दैन', उनले भने, 'अहिले साना तथा मझौला उद्योगीहरू ऋण लिने क्रम बढेको छ।'
राष्ट्र बैकको तथ्यांकअनुसार पछिल्लो एक वर्षमा बैकहरूको निक्षेप एक खर्ब १८ अर्ब रुपैयाँले बढेको छ। निक्षेप संकलन भने एक खर्ब १६ अर्ब रुपैयाँले बढेको देखिएको छ। चालू आर्थिक वर्षको प्रथम ६ महिनामा सुस्त रहेको वाणिज्य ब्यांकहरूको कर्जा प्रवाह पछिल्लो ६ महिनामा भने निक्षेपको तुलनामा बढेको देखिन्छ।
तथ्यांकका अनुसार पछिल्लो ६ महिनामा वाणिज्य बैकहरूको निक्षेप ६२ अर्ब रुपैयाँले बढेको छ भने कर्जा लगानी ७७ अर्ब रुपैयाँले बढेको छ। अहिले ब्यांकहरूसँग भएको निक्षेप र कर्जा लगानीको आधारले ४५ अर्ब रुपैयाँ वाणिज्य ब्यांकहरूले अझै लगानी गर्न सक्छन्। राष्ट्र बैकले गरेको व्यवस्थाअनुसार कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८० प्रतिशत हुनुपर्ने व्यवस्था छ। अर्थात् कुल निक्षेपको ८० प्रतिशत रकममात्र वाणिज्य ब्यांकहरूले लगानी गर्न पाउँछन्।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page