प्रेरणा इङलिस स्कूलका अनुजले ल्याए ९२.७५ प्रतिशत अंक

चितवन, जेठ ३०
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शुक्रबार अपरान्ह प्रकाशित गरेको एसएलसी परीक्षाको परीक्षाफलमा भरतपुर–१२ प्रेरणा इङलिस स्कूलका अनुज लामिछानेले कुल ८ सय पूर्णाङकमा ७ सय ४२ अंक (९२.७५ प्रतिशत) हासिल गरेका छन् । विद्यालयले सर्वाधिक अंक ल्याई अनुज नै जिल्ला प्रथम भएको दावी गरेको छ । विद्यालयका प्राचार्य तेजप्रसाद चुडालले जानकारीमा आए अनुसार आफ्ना विद्यालयका विद्यार्थीले नै सर्वाधिक अंक ल्याएको जानकारी दिनुभयो । 
सिम्बोल नं ०३४५५१३ वाई रहेका भरतपुर–१२ निवासी अनुजले सर्वाधिक अनिवार्य गणितमा ९९ अंक ल्याएका छन् । त्यस्तै अंग्रेजीमा ९५, नेपालीमा ८२, विज्ञानमा ९५, सामाजिक शिक्षामा ८६, स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षामा ९४ र कम्युटर विज्ञानमा ९७ अंक प्राप्त गरेका छन् । अनुजका बुबा अर्जुन लामिछानेले छोराले ९० प्रतिशत भन्दा बढि अंक ल्याउने आश गरेबमोजिम नै अंक ल्याएकोमा खुशी व्यक्त गर्नुभयो । नारायणी अनलाईनसंग कुरागर्दै लामिछानेले भन्नुभयो–‘ ९० ओभरको आश थियो, तर जिल्लामा नै सर्वाधिक अंक ल्याउछ भन्ने मैले सोचेको नि थिएन ।’ उहाँले छोरालाई कक्षा १२ सम्म विज्ञान विषय अध्ययन गराउने सोंच रहेको जानकारी दिदै त्यसपछि छोराको चाहना बमोजिम नै अध्ययन गराउने बताउनुभयो ।
गतवर्ष रत्ननगरस्थित स्काईराईड आवासिय माविका विद्यार्थी अच्युत दुवाडीले कुल ७ सय ३१ अंक ल्याइ जिल्ला प्रथम भएका थिए । यस्तै प्राचार्य चुडालका अनुसार सोही विद्यालयका पवन अर्यालले पनि अनुज भन्दा ४ अंक कम ल्याउदै ७ सय ३८ अंक (९२.२५ प्रतिशत) ल्याएका छन् । सिम्बोल नं ०३४५५४० जेड रहेका भरतपुर–१२ निवासी अर्यालले सर्वाधिक कम्युटर विज्ञानमा १०० अंक ल्याएका छन् । यस्तै अर्यालले अंग्रेजीमा ९६, नेपालीमा ८०, अनिवार्य गणितमा ९९, विज्ञानमा ९२,सामाजिक शिक्षामा ८२, स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षामा ९२ र ऐच्छिक गणितमा ९६ अंक ल्याएका छन् । 
यसैगरी नारायणी इङलिस पब्लिक उच्च मावि भरतपुर–११ का रोनीस सुवेदीले पनि कुल ८ सय पूर्णाङकमा ७ सय ३५ अंक (९१.९ प्रतिशत) ल्याएका छन् । उच्च माविका अध्यक्ष राजेश्वर खनालले सो अंक हासिल गर्दै सुवेदीले विद्यालयको सर्वाधिक अंक ल्याई उत्र्तीण भएको जानकारी दिनुभयो । उहाँले नारायणी पब्लिकबाट परीक्षामा सहभागि कुल ३१ जना मध्ये ३० जना विद्यार्थी उत्र्तीण भएको जानकारी दिनुभयो । जसमध्ये ८ जना विशिष्ट, १९ जना प्रथम र ३ जना द्वितिय श्रेणीमा उत्र्तीण भएका छन् । एक जना भने अनुत्र्तीण भएको विद्यालयले जनाएको छ । 
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page