दुई करोड लगानीको 'रोयल इन्डोर क्रिकेट'

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले एकपछि अर्को सफलता हात पारिरहेको छ। तर दु:खलाग्दो कुरो, नेपालमा एउटा मात्र सुबिधा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट मैदान समेत छैन। वर्षाको समयमा राष्ट्रिय टोलीका खेलाडीले कहाँ अभ्यास गर्ने ? चिन्ता कायमै थियो।
काठमाडौंका केही युवालाई यो चिन्ताले नराम्ररी छोएको थियो। त्यसैले उनीहरू देशभित्रै सुविधा सम्पन्न इन्डोर कभर्डहल बनाउने योजनामा जुटे। योजना बनाएको १० महिना पनि बित्न नपाउँदै उनीहरूले मुलुकै पहिलो इन्डोर क्रिकेट कभर्डहल सञ्चालनमा ल्याएका छन्। पाँचजना युवाको समूहले काठमाडौंको गल्फुटारमा दुई करोड रुपैयाँ लगानी गरेर 'रोयल इन्डोर क्रिकेट' स्थापना गरेका छन्। 
सम्राट बुढाथोकी, सन्तोष संग्रौला, प्रवीण भलामी, किसन पुन र आनन्द गोदार फरकफरक पेसामा आबद्ध थिए। सन्तोषले फुटबलको बढ्दो क्रेजलाई ख्याल गरेर 'फुटसल' को योजना बनाए। सन्तोषका साथी सम्राटले त्यसमा उत्साह थपे। योजनाबारे छलफल हुँदै जाँदा अरू तीनजना थपिए, अनि गत जुनमा नयाँबानेश्वरको थापागाउँमा 'रोयल फुटसल' सञ्चालनमा आयो। 
फुटसलको सफलताले उनीहरूको ध्यान क्रिकेटतर्फ पनि आकर्षित भयो। क्रिकेट नतिजामुखी खेलका रूपमा अघि आउन थालेपछि स-साना बालबालिका समेत बल र ब्याट बोकेर खाली मैदान खोज्दै हिँड्न थालेका थिए। यसले पनि फुटसल सञ्चालन गरिरहेका ती युवालाई अझ उत्साही बनायो। त्यसैले उनीहरूले निधो गरे, सुविधा सम्पन्न इन्डोर क्रिकेट हल बनाउने। यसको सुरुआत गल्फुटारमा करिब चार रोपनी जग्गा भाडामा लिएर भयो। विभिन्न देशमा इन्डोर क्रिकेट सञ्चालनमा रहेको जानकारी पनि पाए।
भारतको बेङलोरमा इन्डोर क्रिकेट सञ्चालन भइरहेको थाहा पाएपछि सहयोग माग्नत्यतै लागे। सहयोगका लागि बेङलोरबाट चारजनाको समूह नेपाल आयो। प्राविधिक समूहकै सल्लाहमा न्युजिल्यान्डबाट रबर पिच, चीनबाट फ्लड लाइटलगायतका आवश्यक सामग्री मगाएर काम सुरु गरे। परिणाम स्वरूप गत वैशाख २० गते रोयल क्रिकेट इन्डोर हलको उद्घाटन भयो। चोटका कारण केही समययता राष्ट्रिय टिम बाहिर रहेका पृथु बास्कोटाले यसको उद्घाटन गरे।
'सञ्चालनमा आएदेखि नै हामीले राम्रो प्रतिक्रिया पाएका छौं। विभिन्न दूतावास र कर्पोरेट हाउसबाट समेत खेल्न आइरहेका छन्। एक घन्टा खेल्न भनेर आएकाहरू चार/पाँच घन्टासम्म लगातार खेल्छन्', लगानीकर्तामध्येका एक सम्राट भन्छन्। ५८ मिटर लम्बाइ र २२ मिटर चौडाइ रहेको इन्डर हलमा सिक्स ए साइड र एट ए साइड इन्डोर क्रिकेट खेल्न मिल्छ।

पूर्वब्यांकर समेत रहेका सम्राट योजना बन्दै गर्दाका दिन स झन्छन्, 'नेपाली क्रिकेटरले ठूलो अन्तर्राष्ट्रिय सम्भावना देखाउँदै छ, तर उनीहरूलाई वर्षाको समय र रातमा अभ्यास गर्ने एउटा राम्रो ठाउँ समेत छैन, इन्डोर क्रिकेट हल ल्यसैका लागि हो।'
इन्डोर क्रिकेट हलमा आवश्यक सम्पूर्ण अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरिएको सम्राटको दाबी छ। 'हामीले सबै मापदण्ड पूरा गरेका छौं, दर्शकका लागि खेल हेर्नेदेखि लिएर रेस्टुरेन्टसम्मको सुविधा उपलब्ध गराएका छौं', उनले भने, ' व्यावसायिक इन्डोर क्रिकेट प्रतियोगिताको योजना पनि बनाएका छौं।' भविष्यमा क्रिकेट एकेडेमी समेत सञ्चालनमा ल्याउने योजना यो समूहको छ। 'हलमा प्रयोग गरिएको ६ वटा एलईडी फ्लड लाइटका कारण चौबीसै घन्टा क्रिकेट खेल्न मिल्छ। हामीले प्रयोग गरेको रबर पिच अस्ट्रेलियामा मात्र प्रयोगमा छ, यो नयाँ प्रविधि हो। यसमा खेल्दा आउट डोरमा खेल्दाको जस्तै अनुभव हुन्छ', सन्तोष भन्छन्। 
इन्डोर क्रिकेट
क्रिकेट हलभित्र कृत्रिम पिचमा खेलिने क्रिकेटलाई इन्डोर क्रिकेट भनिन्छ। यसको बाउन्ड्रीलाई नेटले घेरेको हुन्छ। पिचको लम्बाइ आउट डोरको बराबर भए पनि 'नन स्ट्राइकर' भने पिचको आधा भागमा बस्छन्। एउटा टिममा आठ जना खेलाडी हुने र एउटा पाली १६ ओभरको हुन्छ। टिमका हरेक खेलाडीले दुई ओभर बलिङ गर्नुपर्छ। 
हललाई जोन 'ए', 'बी', 'सी' र 'डी' भनेर छुट्याइएको हुन्छ। विकेटकिपरको पछाडिको भागलाई जोन 'ए' भनिन्छ, जसमा रन आउँदैन। स्ट्राइकर र नन स्ट्राइकरबीचको साइडको नेटलाई जोन 'बी' भनिन्छ, जसमा बल लागे एक रन आउँछ। नन स्ट्राइकर र बलर 'एन्ड' बीचको क्षेत्रको नेटलाई जोन 'सी' भनिन्छ, जसमा बल प्रहार गरे दुई रन आउँछ। यसैगरी बलरभन्दा पछाडिको भागमा रहेको नेटलाई जोन 'डी' भनिन्छ, जसमा बल लागेकामा चौका वा छक्का हुन्छ।
ब्याट्सम्यानको 'एन्ड' परिवर्तन भएपछि मात्र रन गन्ती हुन्छ अन्यथा रन आउँदैन। चौको वा छक्का गणना हुन पनि ब्याट्सम्याले दौडिएर कम्तीमा एक रन लिनैपर्ने हुन्छ। इन्डोर क्रिकेटमा एकतिरबाट ब्याटिङ गर्न पाइन्छ। पछिल्लो समय भने सिक्स ए साइड इन्डोर क्रिकेट पनि लोकप्रिय बन्दै गएको छ, जसमा एउटा पालीमा १२ ओभर हुन्छ।
Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page