१८ जेठ, काठमाडौ । नेपाल प्रेस युनियन काठमाडौँ शाखाको अध्यक्षमा नकुल अर्याल बिजयी भएका छन् । आइतवार भएको प्रेस युनियन काठमाडौँ शाखाको सातौ अधिवेशनबाट अर्याल अध्यक्षमा निर्वाचित भएका हुन् ।
अर्यालले अध्यक्षका प्रत्यासी संगम बानियाँ र जिवन भण्डारीलार्इ पराजित गरेका हुन् । अध्यक्षमा निर्वाचित अर्यालले अाफ्ना निकटतम प्रतिद्वन्दी संगम बानियाँलार्इ ३ मतले पराजित गरेका हुन् । अर्यालले एक सय ६ मत ल्याए भने बानियाँले एक सय ३ मत प्राप्त गरे । अध्यक्षका अर्का प्रत्यासी भण्डारीले भने ९६ मत प्राप्त गरे ।
सहमतिको प्रयास अन्तिम समयसम्म भएपनि सहमति जुट्न नसकेपछि भएको त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो । यसअघि उपाध्यक्षमा देवी सापकोटा, सचिवमा महेश गाैतम र कोषाध्यक्षमा भागवत भट्टरार्इ शनिवार नै निर्विरोध निर्वाचित भएका थिए ।
यसैगरी ६ जना सदस्यको चयन भने निर्वाचन प्रक्रियावाटै टुंगो लगाइएको थियो । निर्वाचनवाट सदस्यहरूमा पुष्पा शर्मा, अर्जुन आधिकारी, अच्युत रेग्मी, अक्कलबहादुर कुवँर, लक्ष्मी सापकोटा र सुदिप रेग्मीलाई सदस्य चयन गरेको छ । ६ सदस्यका लागि १४ जनाको उमेदवारी परेको थियो ।
