हङकङ, जेष्ठ २३ - चीनले नेपालमा हुने १८ औं दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का लागि चिनियाँ सहयोगको एजेन्डा प्राथमिकताकासाथ राख्न सुझाएको छ । प्रधानमन्त्री सुशील कोइराला र चिनियाँ उपप्रधानमन्त्री वाङ याङबीच शुक्रबार चीनको दक्षिण-पश्चिम सहर कुनमिङमा द्विपक्षीय भेटवार्ता हुँदैछ । दोस्रो साउथ एसिया एक्स्पो उद्घाटन समारोहमा सरिक हुन कोइराला बिहीबार कुनमिङ पुगेका हुन् ।
भेटमा सार्कका लागि गरिनुपर्ने सहयोगको एजेन्डालाई नेपाली पक्षले महत्त्वका साथ उठाओस् भन्ने चिनियाँ चाहना छ । गत चैतमा बसेको मन्त्रिपरिषद् बैठकले सार्क शिखर सम्मेलन कात्तिक २८ मा गर्ने निर्णय गरेको थियो । सन् २००५ देखि सार्क पर्यवेक्षक रहेको चीन लामो समयदेखि यसको सदस्य राष्ट्र बन्न प्रयासरत छ । 'सार्क सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न के कस्तो गर्नुपर्ने हो, हामी जस्तोसुकै सहयोग गर्न तयार छौं,' भ्रमण दलमा सहभागी एक परराष्ट्र अधिकारीले चिनियाँ पक्षको भनाइ उद्धृत गर्दै भने, 'प्रधानमन्त्रीले यो-यो सहयोग चाहियो भनेर स्पष्ट भनिदिनु पर्यो ।'
उपप्रधानमन्त्रीको तहबाट निर्णय सम्भव हुने भए शुक्रबार हुने भेटवार्तामै पनि सहयोग घोषणा गर्न चिनियाँ पक्ष तयार रहेको उनले बताए । चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्यसमेत रहेका उपप्रधानमन्त्री वाङले सरकारमा वैदेशिक सहायता, लगानी र व्यापार मामिला हेर्ने महत्त्वपूर्ण जिम्मेवारी पाएका छन् ।
प्रधानमन्त्री कोइराला र समकक्षी ली खछ्याङबीच भेटको सम्भावना नहुने भएपछि चीनले उपप्रधानमन्त्रीसँगको भेटलाई सक्दो फलदायी बनाउन चाहेको बेइजिङस्थित नेपाली दूतावासले जनायो । 'चीन सार्कप्रति सधैं सकारात्मक छ, यसलाई सघाउन तयार रहेको बताउँदै आएकाले यो भेटवार्ताको एजेन्डा हुनसक्छ,' चीनका लागि नेपाली राजदूत महेश मास्केले बताए ।
यसअघि ढाकामा भएको १३ औं सार्क सम्मेलनमा नेपालले नै चीनलाई पर्यवेक्षकका रूपमा ल्याउनुपर्ने प्रस्ताव अगाडि सारेको थियो । सार्कको सदस्य राष्ट्र बन्ने चीनको चाहना भने भारत सकारात्मक नभइदिँदा सम्भव हुन सकेको छैन । नेपालमा हुने सार्क सम्मेलनमा आफ्नो दरिलो उपस्थिति दर्शाउन पनि चीनले सहयोगका कुरामा जोड दिएको देखिन्छ ।
प्रस्तावित लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (बिप्पा), एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) लगायत विषयमा समेत कुराकानी हुने सम्भावना रहेको राजदूत मास्केले बताए । तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको नेपाल भ्रमणकै बखत बिप्पा सम्झौतामा हस्ताक्षर हुने भनिए पनि मस्यौदामा द्विपक्षीय सहमति जुट्न नसकेपछि रोकिएको थियो ।
बिप्पा सम्झौता भए नेपालमा लगानीको बाटो सहज हुने बताउँदै चिनियाँ पक्षले विभिन्न तहका छलफलमा यसलाई उठाउँदै आएको छ ।
बन्दी हस्तान्तरणलगायत विभिन्न न्यायिक समस्याहरूलाई किनारा लगाउन विशेष किसिमको सम्झौता हुनुपर्ने विषयसमेत चिनियाँ एजेन्डामा छन् । नेपाली पक्षले उपप्रधानमन्त्री वाङसँगको भेटमा विकासमा दूरगामी प्रभाव पार्न रेल्वे, जलविद्युत्, सडक, कृषिलगायतमा चिनियाँ सहयोगको खाँचो औंल्याउनेछ ।
प्रधानमन्त्रीको भ्रमणले कुनमिङसँग नेपालको सम्पर्क अझ प्रगाढ बनाउने राजदूत महेश मास्केले बताए । चीनबाट नेपाल भ्रमण गर्नेहरूमध्ये आधाजसो पर्यटक कुनमिङ हुँदै जाने गरेका छन् । यो सहर काठमाडांैबाट करिब अढाई घन्टाको हवाई दूरीमा छ । कुनमिङ नेपालबाट सबैभन्दा छोटो दूरीमा रहेको चिनियाँ सहरमध्येको हो । चीनले दक्षिण एसियाली मुलुकहरूसँग साझेदारी बढाउन कुनमिङलाई मुख्य केन्द्रका रूपमा विकसित गर्ने प्रयास थालेको छ । यसबाट भविष्यमा नेपालले पनि पर्याप्त लाभ लिन सकिने राजदूत मास्केले बताए । प्रधानमन्त्रीको टोली शुक्रबार साँझ नेपाल र्फकने कार्यक्रम छ ।
कोइरालालाई विशेष सम्मान
प्रधानमन्त्री सुशील कोइरालाका लागि काठमाडौंसम्मै विमान पठाएर हार्दिकता देखाएको चीनले साउथ एसिया एक्स्पो उद्घाटन समारोहमा समेत विशेष सम्मान दिने भएको छ । कोइराला शुक्रबार सुरु हुने एक्स्पो उद्घाटनको पहिलो तथा विशेष वक्ता हुन् । नेपाल 'थिम कन्ट्री' समेत भएका नाताले त्यहाँ हुने सबै औपचारिक कार्यक्रम प्रधानमन्त्री कोइरालालाई नै केन्द्रविन्दुमा राखेर तयार पारिएको बेइजिङस्थित दूतावासले जनाएको छ । एक्स्पोमा नेपालको विशेष पेभेलियनसहित करिब ८० व्यावसायिक स्टल छन् । एक्स्पो अवलोकन क्रममा चिनियाँ उपप्रधानमन्त्री वाङ याङ कोइराला सँगै रहनेछन् ।
एक्स्पो उद्घाटन समारोहमा बंगलादेशका प्रधानमन्त्री, मालदिभ्सका राष्ट्रपति, सिंगापुर, म्यानमार, लाओसका उपराष्ट्रपति, पाकिस्तानका विज्ञान तथा प्रविधिमन्त्री, श्रीलंकाका उद्योगमन्त्रीलगायत विभिन्न मुलुक उच्चपदस्थ अधिकारीहरू सहभागी हुनेछन् । बिहीबार अपराह्न कुनमिङ पुगेका प्रधानमन्त्री कोइरालालाई युनानका उपगभर्नर गाओ सकजनले विमानस्थलमा स्वागत गरेका थिए । युनान प्रान्तका पार्टी सेक्रेटरी छिन क्यान रोङले साँझ कोइरालाको सम्मानमा रात्रिभोज आयोजना गरेका थिए ।