गैंडा हेर्न रयाफ्टिङबाट सामुदायिक वन


चितवन, जेठ २७
मंगलपुर र गुञ्जनगर गाविसमा रहेका ज्ञानेश्वर, सेतीदेवी, सिद्धि गणेश र मझुवा सामुदायिक वन दुर्लभ वन्यजन्तु गैंडाको राम्रो वासस्थल हो । यी ठाउँका गैंडा हेर्न जाँदा नारायणीमा ¥याफ्टिङको मज्जा पनि लिन सकिने भएको छ ।जंगलमा दुर्लभ जनावर हेर्ने र नदीमा ¥याफ्टिङको रोमाञ्चकारी यात्राको अनुभव सँगसँगै लिन खोज्नेहरुलाई यो अवसर चाँडै जुट्दै छ । नारायणी नदी किनारमा रहेका पश्चिम चितवनका चार वटा सामुदायिक वनले पर्यटकलाई आकर्षित गर्न नौलो कार्यक्रम ल्याएका छन् ।
चारवटा सामुदायिक वनको संयुक्त समितिले नारायणगढदेखि मंगलपुरसम्म रयाफ्टिङ र त्यसपछि जंगल घुम्ने कार्यक्रम निर्माण गरेको आजको चितवन पोष्ट दैनिकमा समाचार छ । नारायणी नदीमा सञ्चालन गर्ने रयाफ्टिङ कार्यक्रमको सोमबार उद्घाटन पनि गरियो । चारवटा सामुदायिक वनले आठ सय हेक्टर क्षेत्रफल ओगटेका छन् । यी जंगलमा कम्तीमा पनि १७ गैंडा छन् ।
रयाफ्टिङ र वन्यजन्तु अवलोकनका लागि गरेर तीनदेखि चार घण्टासम्मको कार्यक्रम बनाउन सकिने थापाले बताए । ‘ रयाफ्टिङ रोमाञ्चक जलयात्रा र दुर्लभ वन्यजन्तु हेर्न पाउने अदभूत जंगल पदयात्रा एकै ठाउँ गर्न पाइने अवसर योभन्दा अन्यत्र छैन’, सेतीदेवी सामुदायिक वनका अध्यक्ष दीपक अधिकारीले भने ।‘गैंडा मात्रै होइन, यहाँ हरिणका बथानहरु छन्, चराहरु पनि धेरै नै छन् । मजुरका हुल देख्न पाइँन्छ’, ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष वसन्तकुमार थापाले भने । नारायणगढबाट जम्मा सात किलोमिटर टाढा रहेको छ सो ठाउँ । ¥याफ्टिङ गरेर जाँदा बढीमा दुई घण्टामा त्यहाँ पुगिन्छ ।
सो ठाउँ नेपालको केन्द्र नारायणगढ बजार र प्रख्यात पर्यटकीय क्षेत्र सौराहानजिकै छ । ‘त्यसैले यहाँको राम्रो प्रचारप्रसार हुने हो भने पर्यटकहरु आउन कुनै कमी हुने छैन’, चितवन पर्यटन विकास समितिका महासचिव विश्व सुवेदीले सुझाव दिए । सो क्षेत्रको सम्भावनाको बारेमा चारैतर्फ जानकारी गराउने योजनामा वन समितिका पदाधिकारी रहेका छन् ।
‘रयाफ्टिङ  र जंगलयात्राको एक जनासँग कति पैसा लिने, थप सुविधा के कति दिने, के कसरी सेवा उपलब्ध गराउने भन्ने बारेमा सल्लाह परामर्श हुँदैछ । चाँडै नै प्याकेज र मूल्य तय गर्नेछौं’, ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष वसन्तकुमार थापाले भने । वन समितिहरुलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको सौराहा कार्यालयले यसका लागि सहयोग गरेको छ ।
बजार क्षेत्र पुग्न सहज हुने भएकाले तत्कालका लागि ठूला होटल र लज खोल्ने योजना भने नरहेको ज्ञानेश्वरका अध्यक्ष थापाले बताए । गाउँमा होमस्टेहरु राख्न सहयोग गर्ने उनको भनाइ छ । सेतीदेवी सामुदायिक वनका उपभोक्ताले शरणपुर गाउँका तीन वटा घरमा १२ जनासम्म अटाउन सक्ने होमस्टे निर्माण गरेका छन् ।
‘पर्यटन फस्टाउँदा संरक्षणमा असर पार्न हामी दिदैनौं । पर्यटन विकासले स्थानीयलाई कसरी फाइदा दिन सक्छ त्यो पनि ख्याल राख्छौं’, ज्ञानेश्वरका अध्यक्ष थापाले भने । संरक्षणले स्थानीयको जीवनमा समृद्धि पनि ल्याउँछ भन्ने देखाउन पर्यटनमार्फत आर्थिक स्रोत जुटाउने योजनामा लागेको उनले जानकारी दिए ।
Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page