विराटनगर, जेठ २७
बहुचर्चित एआइजी प्रकरणमा ‘ब्रिफकेश लेनदेन’बारे प्रधानमन्त्री सुशील कोइरालाले मुख खोलेका छन् । प्रधानमन्त्री कोइरालाले बाहिर भनिएजस्तो एआइजी बढुवामा ‘ब्रिफकेश लेनदेन’ भएको प्रमाण दिए गृहमन्त्री वामदेव गौतमलाई कारबाही गर्ने चेतावनी दिए ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग मंगलबार संक्षिप्त कुरा गर्दै कोइरालाले एआइजी प्रकरणबारे प्रमाण ल्याए कारबाही गर्न आफू तयार रहेको बताए । ‘एआइजी बढुवामा गृहमन्त्रीलाई दुई करोडको ब्रिफकेश पुगेको हल्ला छ नि ?’ भन्दै
सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रधानमन्त्री कोइरालाले भने, ‘त्यस्तो हो भने प्रमाण दिनुस् न म गृहमन्त्रीलाई कारबाही गर्छु ।’
उनले एआईजी बढुवाबारे छोटो जवाफ दिँदै यस्तो विवाद ‘हर सरकारको पालामा हुने गरेको’ पनि बताए । देशलाई भ्रष्टाचारमुक्त बनाउन सरकार दृढ रहेको भन्दै कोइरालाले भ्रष्टाचार गर्न कसैलाई पनि छुट नदिने बताए । ‘देशलाई भ्रष्टाचाबाट जोगाउन सरकार दृढ छ,’ कोइरालाले भने, ‘भ्रष्टाचार गर्न कसैलाई पनि दिइने छैन ।’
एआईजी बढुवा प्रकरणमा ‘ब्रिफकेश लेनदेन’ भएको भन्दै एसएसपी रमेश खरेलले सार्वजनिक अभिव्यक्ति दिएका थिए । उनलाई ‘चेन अफ कमाण्ड’ नाघेको भन्दै प्रहरी प्रधान कार्यालयले कारबाही सिफारिस गरेको छ ।
यो प्रकरणमा चित्त नबुझाएका डीआइजीहरूले लोकसेवा आयोग गुहारेका छन् । पर्शुराम खत्रीले हालेको रिटमा पुनरावेदन अदालत पाटनले समेत एआईजी बढुवा प्रक्रिया रोक्न अन्तरिम आदेश गरेको थियो ।
प्रधानमन्त्री कोइरालाले सरकार गतिहीन नभएको जिकीर गरे । ‘कोअपरेशन भयो भने न सरकार गतिशील हुने हो,’ उनले भने, ‘पब्लिकमा नराम्रो मेसेज दिने किसिमले सरकारको गलत प्रचार भइरहेको छ ।’
अस्वस्थ भनिएका प्रधानमन्त्री कोइराला मंगलबार कोइराला निवासमा बस्नेछन् । बुधबार पूर्वाञ्चल विश्वविद्यालयको सिनेट बैठकमा सहभागी हुन प्रधानमन्त्री यहाँ आएका पूर्वक्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले बताए ।
