२६ जेठ, काठमाडौँ । ठूलो परिमाणको लागुऔषध कोकेनसहित पक्राउ परेका तीन विदेशी महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । फिलिपिन्सका ३७ वर्षीया कृस्टिना अबेगर हारो तथा पाकिस्तानीद्वय लुइ अर्थर र आएसा हुसेन दुई किलो ८३० ग्राम कोकिनसहित पक्राउ परेका थिए ।
काठमाडौँ महानगरपालिका वडा नं २९ चाक्सीबारी मार्गस्थित ट्रयाकर होम होटलबाट यही जेठ २३ गते तीनै जनालाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले सोमवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
प्रहरीले उनीहरुका साथमा रहेको सुटकेसबाट सो परिणामको कोकेन बरामद गरिएको र त्यसको बजार मूल्य रु पाँच करोड ६० लाख बराबर रहेको बताएको छ । प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका सबै कोकेनको कारोबारमा संलग्न व्यवसायी नभएर भरिया मात्रै भएको खुल्न आएको प्रहरीको भनाइ छ ।
कोकेनको ओसारपसारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहले अभियुक्तमध्ये फिलिपिनोलाई दश हजार डलर र पाकिस्तानीका परिवारलाई आवश्यक खर्च र स्वास्थ्योपचारसम्बन्धी व्यवस्थाको सुनिश्चितताका लागि वचन दिएको तीनै जनाले बयान दिएका छन् । अभियुक्तलाई नाइजेरियाली समूहमार्फत पाकिस्तान हँुदै नेपाल पठाएर नेपालबाट उक्त परिणामको कोकेन युरोपेली मुलुकमा पठाउन लागेको अनुमान गरिएको छ ।
पत्रकार सम्मेलनमा ब्युरो प्रमुख प्रतापसिंह थापाले नेपालमा कोकेनको मूल्य प्रतिग्राम रु २० हजार पर्ने जानकारी दिए । कोकन खासगरी दक्षिण अमेरिकी मुलुक पेरु र बोलिभियामा उत्पादन हुने गर्छ । रासस