'एमाले मन्त्रीले सत्ता दुरुपयोग गरे'

पोखरा , जेष्ठ २८ - एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका तर्फबाट सरकारमा सहभागी केही मन्त्रीले सत्ताको दुरुपयोग गरेको बताएका छन् । आगामी महाधिवेशनमा एउटा समूहलाई सहयोग पुग्ने गरी ती मन्त्रीले अनुचित काम गरिरहेको आरोप उनले लगाएका हुन् । 'केही मन्त्री पार्टीभित्रको खेलमा आफ्नो पदको दुरुपयोग गरिरहेका छन्,' आफू पक्षका नेता कार्यकर्ता भेट्न यहाँ आएका उनले प्रेस चौतारीको भेटमा मंगलबार भने, 'कुर्चीमा बसेर अनुचित काम गर्न पाइँदैन ।' उनको यो भनाइ उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमप्रति लक्षित थियो ।
यति बेला सबैलाई सन्तुलित हिसाबले मिलाएर अघि बढ्नुपर्नेमा एमालेका केही मन्त्रीले योजना, पद दिन्छु भन्ने र पैसाको समेत लोभ देखाएर सहयोग गर्नुपर्‍यो भनिरहेका उनले बताए । कांग्रेसका कारण एमाले असन्तुष्ट हुनुपरेको नेपालको भनाइ थियो । उनले अर्का प्रत्यासी केपी ओलीलाई राजकीय पदमा बस्न सुझाए । 'उहाँको स्वास्थ्यका कारण पार्टीको भार बहन गर्न सक्नु हुन्न,' नेपालले भने, 'त्यसैले प्रधानमन्त्री वा राष्ट्रपति भएर बस्दा राम्रो हुन्छ ।'
राजनीति नियम र विधिबाट चल्नुपर्नेमा उनले जोड दिए । आफू राजनीतिको फोहोरी खेलमा नलागेको, पदलोलुप नरहेको तर महाधिवेशनले असल नीति, विधि र नेतृत्व चयन गर्नेमा ढुक्क रहेको बताए । पार्टीकै नयाँ पुस्ता र मुलुकले पनि आवश्यक महसुस गरेकाले अध्यक्ष पदमा उठ्न लागेको भन्दै उनले पार्टी ठगी गरेर, लुटेर र ठेकदारबाट कमिसन लिएर नभई आफैं उत्पादनशील कार्य गरेर पार्टी चलाउनुपर्ने उनले बताए । ढाँटको राजनीति नचल्ने भन्दै उनले आफू एक कार्यकालभन्दा बढी समय अध्यक्षमा नरहने प्रतिबद्धता जनाए ।

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page