मानव बेचबिखनमा नेपालको अवस्था दर्दनाक
८ असार, काठमाडौं । अमेरिकी विदेशमन्त्री जोन एफ केरीले वेश्यालयमा बेचिने बाध्य नेपाली महिलाप्रति चिन्ता व्यक्त गरेका छन् । ‘जब एक जवान नेपाली महिलालाई यौन उद्योगमा बाध्य पारिन्छ, भविश्यमा हुने यस्ता अपराधबाट पीडितलाई जोगाउन कानूनको प्रवर्तन कसरी गर्नुपर्छ भन्ने अरुलाई भन्दा उनलाई राम्रो जानकारी हुन्छ,’ विदेशमन्त्री केरीले भनेका छन्- ‘अनि जब यी महिला आफूलाई बिक्री गर्नेमाथि सजायँ गर्नका लागि सहयोगी बन्छिन्, अरु कोहीलाई भन्दा उनलाई राम्ररी जानकारी हुन्छ कि केले सो प्रक्रियालाई कम दर्दनाक बनाउँछ र हाम्रो प्रयास अझ प्रभावकारी हुन्छ ।’
प्रत्येक वर्ष सार्वजनिक गरिने मानव बेचबिखन प्रतिवेदनमा यस वर्ष नेपालको अवस्था दर्दनाक देखाइए पनि नेपालका एक न्यायाधीशलाई भने अमेरिकी विदेशमन्त्री केरीले ‘एन्टी ट्राफिकिङ पर्सन्स (टीआइपी) हिरो’का रुपमा सम्मान गरेका छन् । ‘टीआइपी हिरो’बाट सम्मानित हुनेमा ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनारायण कुँवर रहेका छन् ।
प्रतिवेदन भन्छ- नेपाल मानव तस्करीको ट्रान्जिट बन्यो
अमेरिकामा सार्वजनिक गरिएको मानव बेचविखनसम्बन्धी प्रतिवेदन-२०१४ मा १ सय ८८ देशको मानव बेचबिखनको अवस्थाबारे विश्लेषण गरिएको छ । प्रतिवेदनमा नेपाललाई ‘टियर-२’ मा राखिएको छ ।
प्रतिवेदनमा नेपाललाई बलपूर्वक श्रम तथा यौन धन्दामा प्रयोग गर्नका लागि पुरुष, महिला र बालवालिकाको तस्करी गर्ने स्रोत, ट्रान्जिट एवं गन्तव्य मुलुक बनेको बताइएको छ । विशेष गरी नेपाल, भारत, मध्यपूर्व, चीन, मलेसिया, हंगकंग, दक्षिण कोरिया र स्वीडेनमा मसाज पार्लर र मनोरञ्जनात्मक उद्योगहरुमा नेपाली महिला र केटीहरुलाई यौनधन्दामा लगाउने गरिएको प्रतिवेदनमा उल्लेख छ ।
‘नेपाली महिला, पुरुष र वालवालिकालाई नेपाल, भारत, मध्यपूर्वी देशहरु, चीन, मलेसिया, दक्षिण कोरिया, इजराय र अमेरिकामा निर्माण, कारखाना, खानी, घरेलु कार्य, वयस्क मनोरञ्जनात्मक उद्योगहरुमा बलपूर्वक काममा लागाउने गरिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यस्ता कार्यमा धेरैजसो नेपालमा रहेका श्रम दलाल एवं म्यानपावर एजेन्सीहरुको संलग्ना रहेको पाइएको छ ।’
नेपालमा बढी संख्यामा रहेका बेरोजगारहरुले दर्ता भएका वा नभएका संस्थाहरुमा भर परेर भारत हुँदै यात्रा गर्ने गरेको र सोही बाटोबाट धोका पाएर विभिन्न देशमा मानव तस्करीमा फस्ने गरेको उल्लेख छ ।
बंगलादेश, बर्मा र त्यस्तै अन्य कतिपय देशबाट मध्यपूर्वमा बलपूर्वक काममा खटाउने मावन तस्करीका लागि नेपाललाई ट्रान्जिट पोइन्ट बनाउने गरेको दाबीसमेत गरिएको छ ।
नेपाली र भारतीय वालवालिकालाई टेक्सटायल, ईंटा भट्टा, पथ्थर खानी, घरेलु धन्दा इत्यादिमा बँधुवा मजदुरका रुपमा काममा लगाइने गरेको प्रतिवेदनमा उल्लेख छ । सरकारी घोषणाबाट बँधुवामुक्त गराइएका वालवालिकाहरु सरकारी पुनर्वासको अभावमा कारणबढी जोखिममा परेको उल्लेख छ ।
नेपालले न्युनतम मापदण्ड पूरा नगरेको आरोप
नेपाल सरकारले तस्करीको न्यूनीकरणका लागि न्यूनतम मापदण्डको पालना नगरेको आरोप प्रतिवेदनमा लगाइएको छ ।
तथापि सरकारले यस दिशामा प्रयत्न गरिरहेको बताइएको छ । त्यस्ता म्यानपावर एजेन्सीहरुलाई नेपाल सरकारले निलम्बन गरेको र विशेष गरी श्रम तस्करीमा संलग्नविरुद्ध पीडितलाई न्याय दिलाउन नेपाल सरकारले संघर्ष गरिरहेको प्रतिवेदनमा जनाइएको छ । सरकराले साउदी अरब, कतार, कुवेत, मलेसिया युएई आदि देशमा दूतावासमै आपतकालीन उद्धारको व्यवस्था गरेको पनि प्रतिवेदनमा जनाइएको छ ।
त्यस्तै प्रहरीले छापा मारेर वालवालिकाको उद्धार गरेको, यौन व्यवसाय सञ्चालकमाथि कारवाही गरेको तथा शान्ति सेनामा जानेहरुलाई मानवतस्करी निन्त्रणबारे प्रशिक्षण दिइने गरेको विषयलाई प्रतिवेदनमा सकारात्मकरुपमा उल्लोख गरिएको छ ।
नेपाल सरकारले मानव तस्करीलाई रोक्न र नेपाललाई ट्रान्जिट स्थल बन्न नदिनका लागि मानव बेचबिखनसम्बन्धी कानूनमा आवश्यक परिमार्जन गर्नुपर्ने प्रतिवेदनमा सुझाव दिइएको छ । साथै बेचबिखनमा परेकालाई उद्धार एवं न्याय प्रदान गर्न प्रभावकारी कदम चाल्न नेपाल सरकारलाई सुझाव दिइएको छ ।
