चितवन, कार्तिक २२,
चितवनको नारायणगढमा भएको पुरुष भलिवल प्रतियोगिताको उपाधि मुनाल युवा क्लव भरतपुरले जितेको छ ।
आज भएको फाइनल खेलमा थारु टाइगर मेघौलीलाई हराउँदै मुनाल विजयी भएको हो । विजयी भएसँगै मुनाल युवा क्लवले नगद २० हजार र ट्रफी हातपारको छ । त्यस्तै उपविजेता थारु टाइगरले नगद १० हजार र ट्रफी हात पारेको छ ।
पाँच सेटको खेलमा पहिलो सेट थारु टाइगरले जितेपनि बाँकी सेटहरु मुनाल युवा क्लवले जितेको थियो । पहिलो सेटमा थारुले २९–२७ ले पछि पारेकोमा बाँकी ३ सेटमा मुनालले थारु टाइगरलाई २५–११, २५–२३ र २६–२४ अंकले हराएको हो । खेल बालकुमारी कन्या उमाविको खेल मैदानमा भएको थियो ।
विजयी टिमलाई कार्यक्रमका प्रमुख अतिथि बाबुराम अधिकारी, विशिष्ट अतिथि बालगोपाल चुके, जिल्ला खेलकुद विकास समितिका सचिव रामजी ढकाललगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।
समापन कार्यक्रम जिल्ला भलिवल संघ चितवनका अध्यक्ष प्रकाशकुमार चुकेको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतियोगितामा कुल ६ टिमको सहभागिता रहेको थियो ।