भूकम्पपछि सुरक्षाको कारण देखाउँदै बन्द रहेको तातोपानी नाका खोल्न चिनियाँ पक्ष अन्कनाइरहेको सरकारी अधिकारीहरु बताउँछन् । तातोपानी नाकामा हुँदै आएको अवरोधको असर दसैं तिहार लगायतका चाडबाडमा समेत पर्न सक्छ ।
तराईका भन्सार नाकाहरु अवरुद्ध हुँदा तातोपानी लगायतका उत्तरी नाकाहरु सुचारु हुन सकेनन् भने यसले काठमाडौंको जनजीवनमा नकारात्मक प्रभाव पार्ने सम्भावना थप बढ्न सक्छ ।
परिस्थितिको गम्भीरतालाई ख्याल गर्दै रसुवागढी नाका खोल्न चीन सकारात्मक देखिएको सकारात्मक देखिएको बाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
पाँच सय कन्टेनर समान खासा गोदाममै
चिनियाँ पक्षले तातोपानी नाका अहिले पनि सिल गरेको छ । भूकम्पपछि लोड भएका कन्टेनर नेपाल आउन दिन केही दिन भन्सार खुले पनि त्यसपछि नाका बन्द छ । ‘खासा नाकाको गोदाममा झण्डै ५ सय कन्टेनर बराबरको समान अलपत्र छ ।’
नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बिष्णुकुमार खत्रीले भने, ‘दशैँका लागि उपयोग हुन सक्ने ती सबै समान तत्काल नेपाल ल्याउन सकिएमात्रै पनि राहत हुन्छ,’ केही बिग्रिएका बाहेक अन्य सबै कन्टेनर भने नेपाल आइसकेका छन् ।
चीनतर्फको खासाको सडकमा धेरै समस्या नरहेको उनले सनाए । ‘चिनियाँ पक्ष सकारात्मक भए नाका खुल्न सक्छ । सरकारी तहबाट पनि पहल भइरहेको मैले बुझेको छु,’ अध्यक्ष खत्रीले भने, ‘चीनबाट भूकम्प पीडितका लागि आएका थप राहत सामग्रीसँगै अलपत्र भएका सामान छुटाउने कुरा पनि भएको थियो । चीन त्यसमा सकारात्मक देखिए पनि पछि ती समान त्यतैबाट बोकाएर मनाङ र गोरखा लगेको बुझिएको छ ।’
तातोपानी नाका खुलेमा नेपाल तर्फको बाटो पनि दुई-तीन दिनमै क्लियर गर्न सकिने उनले बताए ।
चीनलाई पहिरोको डर
मन्त्रालयले नेपालतर्फको बाटो जोखिमपूर्ण भएकाले सीमानाका नखुलेको दाबी गरेको छ । वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्ययले चिनियाँ नाका खोल्दा सडकको जोखिमले मानवीय क्षति हुने भन्दै सचेत रहेको बताए ।
‘तातोपानीबाट आउने बाटोमै समस्या छ, पहिरोका कारण कतिपय ठाउँमा मानवीय क्षति हुन सक्ने भनेर चीन डराएको छ,’ सचिव उपाध्यायले भने, ‘चीन नाका खुलाउन सकारात्मक छ, रसुवागढी र केरुङको बीचमा एउटा पहिरो पन्छाएपछि रसुवागढी नाका तत्काल खोल्ने आश्वासन चीनले दिएको छ ।’
बाटोमा समस्या छैन : सडक विभाग
बाणिज्य सचिवले नेपालतर्फको बटोमा समस्या छ भने पनि सडक विभागले भने अरनिको राजमार्गमा ठूलो समस्या नरहेको जनाएको छ । ‘चीनले नाका खोल्यो भने समान्य समस्या सहजै हटाउन सकिन्छ’ सडक विभागका प्रवक्ता उमेश झाले भने, ‘भूकम्पपछि पनि सञ्चालन भएकै बाटो हो, वर्षाका कारण केही ठाउँमा सामान्य समस्याएको भए तत्काल हटाउन सकिन्छ ।’
अरनिको राजमार्गको बाह्रबिसे भन्दा १२ किलोमिटर परसम्म दैनिक रुपमा सवारीको आवत जावत रहेको जानकारी दिए । ‘नाका बन्द भएकाले तातोपानीसम्म दैनिक गतिविधि छैन, लिपिङमा केही समस्या भए हटाउन ठूलो समस्या हुँदैन ।’
नाका खोल्न ब्यवसायीको माग
नेपालका व्यवसायीहरुले चीनको नाका तत्काल खुल्नुपर्ने माग गरिरहेका छन् । ‘भूकम्पपछि चिनियाँ भन्सार कार्यालय बन्द छन्, भूकम्पको त्रासका कारण खासामा चीनले भन्सारका कर्मचारी राख्न सकेको छैन,’ नेपाल हिमालय सीमापार बाणिज्य संघका अध्यक्ष बिष्णुकुमार खत्रीले भने, ‘केही दिनअघि मात्रै चीनको क्षेत्रीय प्रशासन तहका अधिकारीसँग नाका खोल्ने विषयमा कुराकानी भएको थियो । तर, उनीहरु तत्काल तातोपानी नाका खोल्ने मनस्थितिमा नरहेको मैले बुझेको छु ।’
रसुवागढीको सम्भावना धेरै
चीनसँगको रसुवागढी नाका पनि अझै ठप्प छ । जसका कारण त्यो नाकाबाट पनि आयात निर्यातको काम बन्द छ । रसुवागी नाको गोदाममा भने दुई कन्टेनर मात्रै सामान छ । भूकम्पका कारण रसुवागढी नाका पारी चीनतर्फ बाटोमा धेरै क्षति भएकाले तत्काल सो मार्ग खुल्ने सम्भावना नहरेको खत्रीले बताए ।
‘तर, बाटो क्लिएर गरेर रसुवागढी नाका खोल्न सकिने भनेर चीनले जवाफ दिएको छ, त्यो नाका मात्र खले पनि ठूलो राहत हुन्छ । खत्रीले भने ‘चिनियाँ पक्षलाई कन्भिन्स गर्ने काम कुटनीतिक लेभलबाटै हुनुपर्छ, हामी ब्यपाारीहरुले नाका सञ्चालनका विषयमा धेरै बोल्नु पनि उपयुक्त हुन्न ।’
दक्षिणमा चिनियाँ समान रोकिए
चीन हुँदै भारतबाट आएका समान पनि नेपाल ल्याउन धेरै कठिन भएको खत्रीले गुनासो गरे । तराईको बन्दले धेरै ट्रक तथा कन्टेनर नेपाल प्रवेश गर्न कठिन बनेको र भारतले पनि विभिन्न बाहानामा भन्सारमा कडाइ गर्दा समस्या भएको ब्यबसायी बताउँछन् ।
‘दिनभर रक्सौल भन्सारमा पनि गाडी रोकेका कारण लफडा भयो,’ अध्यक्ष खत्रीले भने, ‘बन्दले सामन लिन पर्याप्त गाडी भारततर्फ पठाउन नसकेको अवस्थामा तनाव थपिएको छ ।’