बिबिसीमा पर्यटन वर्षको विज्ञापन सुरु


काठमाडौं, मङ्सिर १४- बेलायती अन्तर्राष्ट्रिय सञ्चारमाध्यम 'ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन' (बिबिसी) मा नेपाल पर्यटन वर्ष २०११ को विज्ञापन प्रसारण सुरु भएको छ।
दक्षिण अफ्रिकी सहर डर्बानमा मंगलबारबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी पक्ष राष्ट्रहरूको सम्मेलन 'कप-१७' लाई बिबिसीले प्राथमिकताका साथ प्रसारण गर्न थालेका कारण त्यसैका दर्शक लक्ष्य गरी पर्यटन वर्षको विज्ञापन प्रसारण सुरु गरिएको हो।
'बिबिसीमा पर्यटन वर्ष र नेपालको पर्यटनसम्बन्धी विज्ञापन प्रसारण सुरु भएको छ,' पर्यटन वर्षका मार्केटिङ कमिटी संयोजक रञ्जित आचार्यले मंगलबार नागरिकसँग भने, 'बिबिसीका टेलिभिजन, वेबसाइट र मोबाइलमा हाम्रा विज्ञापन हेर्न मिल्छ।'
उनका अनुसार बिबिसीले मंगलबारबाट युरोप, एसिया प्रशान्त र दक्षिण एसियाली देशहरूमा नेपाल पर्यटन वर्षका विज्ञापन प्रसारण सुरु गरेको छ। 'द जोय अफ एड्भेन्चर' र 'द जोय अफ लिभिङ हेरिटेज' नारामा नेपालका साहसिक पर्यटन, कला, संस्कृति, सम्पदाका बारेमा विविध गतिविधि समेटिएका विज्ञापन प्रसारण हुन थालेको हो।
'हामीले दिएका दृष्य सामग्रीबाट बिबिसीले विज्ञापन निर्माण गरेको हो। ३० सेकेन्ड अवधिका यस्ता विज्ञापन आगामी १६ सातासम्म प्रसारण हुन्छन्,' आचार्यले भने, 'यसका लागि हामीले बिबिसीलाई २ करोड ५४ लाख रुपैयाँ दिने सम्झौता गरेका छौं।'
आचार्यका अनुसार अमेरिकी अन्तर्राष्ट्रिय सञ्चारमाध्यम 'केबुल न्युज नेटवर्क' (सिएनएन) सँग पनि १ करोड ३६ लाख रुपैयाँमा विज्ञापन प्रसारण सम्झौता भएको छ। यही मंसिर तेस्रो साताबाट सिएनएनमा प्रसारण हुनेछ।
'उत्तर अमेरिकाका ४५ वटा अन्तर्राष्ट्रिय विमानस्थलका २ हजार ढोकामा राखिएका ४ हजार टेलिभिजन सेटमा पर्यटन वर्षका विज्ञापन देखाउने सम्झौता भएको छ,' उनले भने, 'तीस सेकेन्ड अवधिका यस्ता विज्ञापन ६ सय पटक देखाइनेछ।'
बिबिसीले ४ करोड ५० लाख र सिएनएनले ३ करोड ५० लाख रुपैयाँको विज्ञापन प्याकेजको प्रस्ताव पेस गरेका थिए। नेपालले यसैमा वार्ता गर्दै गएपछि अहिलेको खर्चमा विज्ञापन प्रसारण गर्न बिबिसी र सिएनएन सहमत भएका हुन्।
बिबिसीले नै तयार पारेको अवधारणाअनुसार सिएनएनले पनि विज्ञापन बनाइरहेको उनले बताए। यहाँबाट दिइएको दृष्य सामग्री लिएर बनाइएको विज्ञापन अहिले सिंगापुरमा सम्पादन भइरहेको छ। त्यसमा लाग्ने थप १० लाख रुपैयाँ खर्च सिएनएन आफैंले बेहोरेको उनले जानकारी दिए।
सिएनएनलाई टेलिभिजनमा पनि विज्ञापन प्रसारण गर्न आग्रह गरिएपछि उसले एसिया प्रशान्त र दक्षिण एसियामा ६५ लाख रुपैयाँबराबरको निःशुल्क प्रसारण गर्ने सहमति पनि गरेको आचार्यले जानकारी दिए। यी दुवै क्षेत्रमा ३० सेकेन्ड अवधिका विज्ञापन डेढ सय पटक प्रसारण हुने उनले बताए।
'प्रत्यक्ष वार्ता गरेकाले बिबिसी र सिएनएन दुवैको प्याकेजमा हामीले ५८ प्रतिशतसम्म छुट पाएका छौं। यी कम्पनीमा अरू देश वा एजेन्सीमार्फत् गएको भए झन्डै १० करोड रुपैयाँ खर्च लाग्थ्यो,' उनले भने, 'हामीले ४ करोडमै काम फत्ते गर्‍यौं।'
पर्यटन वर्षका लागि विज्ञापन प्रसारण ढिला भए पनि यसबाट समग्र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न महत्वपूर्ण सहयोग पुग्ने उनले बताए। यसको प्रभाव आगामी वर्ष देखिने उनको भनाइ छ।
त्यसै गरी भारत र चीनमा प्रचार गर्न दुई दिनभित्र सार्वजनिक प्रस्ताव आह्वान गर्ने तयारी भइरहेको आचार्यले जानकारी दिए। पर्यटन मौसमभन्दा पनि बेमौसममा भारत र चीनबाट पर्यटक तान्न प्रचार अभियान सुरु गर्न लागिएको उनले बताए।
'चीनमा आगामी जनवरी-फेब्रुअरी तथा भारतमा मार्च-अप्रिलमा प्रचार सुरु गर्छौं,' उनले भने, 'पर्यटकको बसाइ र खर्च दर बढाउने लक्ष्य लिएका छौं।'
पर्यटन वर्ष मूल समारोह समितिले गत कात्तिक २८ मा सिएनएन र बिबिसी तथा भारत र चीनमा अन्तर्राष्ट्रिय प्रचार-प्रसार अगाडि बढाउने निर्णय गरेको थियो।
सरकारले पर्यटन वर्षको अन्तर्राष्ट्रिय प्रचारका लागि १३ करोड रुपैयाँ विनियोजन गरेको छ। यसमध्ये भारतका लागि ६ करोड, चीन ३ करोड र बाँकी ४ करोड युरोप, अमेरिकालगायत देशमा प्रचार गर्न खर्च गर्ने योजना छ।
गत आर्थिक वर्ष २०६७/०६८ मा पर्यटन वर्षको अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि सरकारले विनियोजन गरेको १३ करोड रुपैयाँ खर्च नभए पनि उक्त रकमलाई पुनः चालू आर्थिक वर्ष २०६८/०६९ मा रकमान्तर गरिएको थियो। यसपालि थप १२ करोड पनि विनियोजन गरिएको छ।
पर्यटन वर्षमा हवाई मार्ग हुँदै भारतबाट २ लाख ६५ हजार र चीनबाट १ लाख पर्यटक ल्याउने लक्ष्य छ। हालसम्मको तथ्यांकअनुसार हवाई र स्थल मार्गसमेत गरी करिब ८ लाख पर्यटक नेपाल आइसकेका छन्।
Tags: , , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page